डा. यादवप्रसाद पन्तसागको अन्तिम क्षण

उत्तमप्रसाद जोशी
पूर्वउपसचिव

नेपाली अर्थतन्त्रको इतिहासमा डा. यादवप्रसाद पन्त अत्यन्त सम्मानित एवम् विशिष्ट अर्थशास्त्रीको रुपमा स्थापित हुनुहुन्थ्यो । उहाँ आर्थिक चिन्तक एवम् आर्थिक विश्लेषकको रुपमा परिचित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनकालमा विभिन्न नेतृत्वदायी भूमिका र अगुवाइमा देशको समग्र आर्थिकक्षेत्रको विकासका निमित्त अर्थव्यवस्थामा महत्वपूर्ण सुधार ल्याउन बहुमूल्य एवम् अतुलनीय योगदान दिनुभयो । नेपाली अर्थतन्त्रलाई आधुनिकतातर्फ डोऱ्याउने उहाँ महत्वपूर्ण व्यक्तित्व हुनुहुन्थ्यो । समग्रमा नेपालमा दिगो आर्थिक विकासका लागि उहाँले पुऱ्याउनुभएको योगदान प्रेरणादायी एवम् अविस्मरणीय छ । डा. यादवप्रसाद पन्त ठूला अर्थशास्त्री, कुशल प्रशासक, वरिष्ठ राजनीतिज्ञ, विशिष्ट कूटनीतिज्ञ र सामाजिक एवम् आध्यात्मिक चिन्तकको रुपमा बहुआयामिक प्रतिभाका धनी हुनुहुन्थ्यो । उहाँले आफ्नो सम्पूर्ण जीवन राष्ट्रसेवामा समर्पित गर्नुभयो । उहाँको जीवनशैली सरल र शान्त स्वभावको थियो । सबैसँग घुलमिल र सरलरुपमा प्रस्तुत हुने यादवबाबुको कहिले काहीँ ठट्ठा गर्ने बानी सबैको लागि प्रिय थियो ।

यादवबाबुको आध्यात्मिक क्षेत्रतर्फ पनि विशेष अभिरुचि थियो । उहाँ सामाजिक एवम् धार्मिक कार्यक्रमहरुमा अभिरुचिका साथ बराबर भाग लिने गर्नुहुन्थ्यो । यसै सेरोफेरोमा उहाँसँग मेरो अन्तिम पटकको भेट २०६४ साल श्रावण ४ गते रामकुटी प्युखामा भएको थियो । उक्त दिन त्यहाँ भजन कीर्तनको कार्यक्रम थियो । कार्यक्रममा भाग लिन मेरो परिवारका सदस्यहरु अलि अगाडि नै प्रस्थान गरिसकेको हुँदा म अलि ढिलो पुगे। म पुग्दा कीर्तन ‘सुरु हुन लागिसकेको थियो । उहाँले मलाई आफू छेवैको खाली ठाउँमा बस्न संकेत गर्नुभयो । भजन कीर्तन सुरु भयो । कीर्तन मिठास र सुरिलो एवम् मनमोहक रुपमा प्रस्तुत भयो । कीर्तन करिब डेढ घण्टा चल्यो । कीर्तन अवधिभर यादववावुले ध्यान मग्न भएर अभिरुचिका साथ रोमाञ्चित एवम् भावुक मुद्रामा कीर्तन श्रवण गर्नुभयो । कीर्तनपश्चात् हामीले सँगै प्रसाद ग्रहण गयौं । बसेको ठाउँबाट उठ्न खोज्दा उहाँलाई घुँडाको समस्याको कारणले केही असुविधा भएकोले मैले सहारा दिन खोजें । नजिकैको कुर्सीको सहाराले उहाँ उठ्नुभयो । हामीसँगै भजन कोठाबाट बाहिर आयौं र सँगै सोफामा बस्यौं । केहीवेर उहाँले मेरो पारिवारिक विषयमा कुरा गर्नुभयो । त्यसपछि उहाँले मलाई कीर्तनमा नआएको कति भयो ? भनी सोध्नुभयो । मैले ७, ८ महिना जति भयो होला भने । केहीबेर चुप रहनु भएपछि उहाँले मलाई रोजै आउन पाए हुन्थ्यो जस्तो लाग्छ तर रोजै कार्यक्रम हुँदैन भनी हाँस्नुभयो । कीर्तन श्रवणले मलाई एकाग्र राख्नमा मद्दत मिल्छ भनी भन्नुभयो । उहाँले आध्यात्मिक चिन्तनका बारेमा केही भन्न खोज्नुभएको थियो तर संयोगवश प्रसंग बदलियो ।

किर्तनपश्चात् यादवबाबु सबैसँग बिदा भई तल ओर्लनुभयो । मपनि उहाँसँगै निस्कें । सिमसिम पानी पर्न लागेको थियो । उहाँको गाडी ढोकामा थियो । उहाँ गाडी चढ्न अगाडि बढ्दै जाउँ है भन्नुभयो । मैले नमस्कार गरे । उहाँले हात हल्लाउदै अगाडि बढ्नुभयो । मेरो यादवबाबुसँगको अन्तिम सम्वाद र अन्तिम क्षण नै यही थियो । उहाँसँगको त्यो क्षण जीवनभर अविस्मरणीय रहनेछ ।

डा. यादवप्रसाद पन्त आज हामीबीच हुनुहुन्न तर उहाँको आदर्श र प्रेरणा अविस्मरणीय रहनेछ । हार्दिक श्रद्धाञ्जली ।

श्रद्धासुमन

डा. उत्तराकुमारी पाण्डे
प्राध्यापक

हाम्रा ठूलाबाबु विष्णुप्रसाद पन्तको एकमात्र सन्तान हुनुहुन्थ्यो यादवदाजु । केटाकेटीमा पहिले उहाँलाई बनारसमा देखेको थिएँ । त्यसबेला कुन कारणले हो अहिले पनि म भन्न सक्दिनँ यादवदाजुको अगिल्तिर जान मलाई ज्यादै लाज लाग्दथ्यो । हामी उहाँलाई बनारस गएको समयमा मात्र देख्दथ्यौं । बालककालदेखि नै दाजुको शिक्षा बनारसमा भएकाले उहाँसँग विशेष भेट हुँदैनथ्यो । पछि ठूलाबुबा काठमाडौंमा बस्नु भएपछि विशेष अवसरमा हामी छोरीहरुलाई बोलाउनुहुन्थ्यो । त्यस समयमा हामीहरु ठूलाबुबाको घर जान्थ्यौं । तर पछि सानै उमेरमा मेरो विवाह भएको र हामीलाई घरबाट धेरै माइत जान नदिने भएकाले यादवदाजुसँग भेटघाट कम हुन्थ्यो । पछि ठूलो भएपछि काठमाडौंमा बी. ए. सम्म पढी बनारस हिन्दु विश्वविद्यालयमा एम. ए. पढ्न गएँ । त्यस समयमा म ठूलाबुबा कहाँ जाँदा यादवदाजुसँग भेट भयो । उहाँले मलाई पढाई कस्तो छ? भनेर सोध्नु भयो र बनारस आएको समयमा भेट्न आउन भन्नुभयो । दाजुले त्यसो भन्दा मलाई ज्यादै खुसी लाग्यो ।

यादवदाजुकी छोरी मीरा सेन्टमेरिज स्कुल जावलाखेलमा पढ्दा समयमा मेरी छोरी मीना पनि सोही स्कुलमा पथिन् । केटाकेटीहरु छुट्टी भएको समयमा घर आउन पाउँदथे । कहिलेकाहीँ हाम्रो घरको मोटर नमिलेको बेलामा दाजु भाउजुले नै मीनालाई पनि स्कुलबाट ल्याइदिनुहुन्थ्यो ।

मेरा छोरा बुहारी अमेरिकामा बसेका समयमा पनि दाजुबाट मैले साह्रै मद्दत पाएकी थिएँ । विभिन्न व्यक्तिले विभिन्न कुरा गरेर मलाई ज्यादै दुःख दिएका थिए, तर दाजुको सहयोगले मेरो सबै समस्या हल भयो । त्यो म कहिले पनि बिर्सन सक्दिन । मलाई मात्र होइन अरुले पनि उहासँग अनुरोध गर्न आएमा हुने कुरामा उहाँ मद्दत गर्नुहुन्थ्यो ।

यादवदाजुका धेरै विशेषताहरु थिए । उहाँ नेपालको पहिलो विद्यावारिधि डिग्री हासिल गर्ने व्यक्ति हुनुहुन्थ्यो । उहाँले सो डिग्री अर्थशास्त्रमा प्राप्त गर्नुभएको हो । उहाँको कीर्ति अविस्मरणीय छ । उहाँ राष्ट्रको विभूति हुनुहुन्थ्यो । उहाँको अन्तर्राष्ट्रिय जगतमा पनि राम्रो ख्याति थियो ।

मृदुभाषी दाजु एक सफल कूटनीतिज्ञ मानिनुहुन्थ्यो । मर्यादाका धनी दाजु नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यलगायत नेपालका विभिन्न सरकारी कार्यालयहरुको प्रमुख हुनुका साथै राष्ट्रिय पञ्चायत सदस्य हुनुभइ विभिन्न मन्त्रालयको मन्त्रीसम्म हुनुभयो । विशिष्ट योगदान पुऱ्याएवापत उहाँ महेन्द्र विद्याभूषण, गोरखा दक्षिणबाहु आदि जस्ता उच्चस्तरका विभूषणबाट विभूषित हुनुहुन्थ्यो । सदाचारका धनी दाजु महारानी एलिजावेथ द्वितीयबाट सि. भि. ओ पदकबाट विभूषित हुने पहिलो नेपाली हुनुहुन्थ्यो । परोपकारी यादवदाजुकाबारे जति लेखे पनि कमै हुन्छ । श्रद्धाञ्जली ।

सानो संस्मरण

प्रा. ऐश्वर्यलाल प्रधानाङ्ग
अर्थशास्त्री तथा पूर्वमन्त्री

डा. यादवप्रसाद पन्तलाई टाढावाट र नजिकैबाट मैले चिन्ने मौका पाएको थिएँ । टाढाबाट यो मानेमा कि उहाँ नेपालको आर्थिक विषयका प्रस्तोता हुनुहुन्थ्यो यस प्रसंगमा उहाँले त्यो बेलाको नेपालको आर्थिक स्थितिमा पुस्तकको माध्यमबाट विहङ्गम दृष्टि लगाउनु भएको थियो । त्यस्तै नजिकबाट परिचित यस अर्थमा कि २०१६ सालको नेपाल सरकारको योजना बोर्डमा हामी एकैसाथ थियौं ।

योजना बोर्डमा रहँदा योजनाका अतिरिक्त नेपालको विविध आर्थिक पक्षमा तत्कालीन अर्थमन्त्री ज. सुवर्ण शम्शेरलाई सुझाउ- सल्लाह दिनुहुन्थ्यो । काम गर्दा उहाँ एक्लै प्रयास नगरी अरुको पनि उत्तिकै सहयोग लिनुहुन्थ्यो ।

उत्सुकता, स्फूर्ति, कार्यसंचालन, उहाँका वैशिष्ट्य भएको मैले बुझेको छ । यिनै कारणले गर्दा उहाँ अर्थमन्त्रीसम्म हुनुभयो । उहाँको मन्त्रित्वकालमा हाम्रा दैनिक जीवनमा ज्यादै आवश्यक वस्तु दाल, चामल, मट्टितेल जस्ता वस्तु सहुलियत दरमा विक्री- वितरण गर्न उपत्यकामा धेरै पिच्छे रामनकार्डको व्यवस्था भएको म सम्झन्छ ।

विद्वानजनको ज्वाईं मात्र नभई ज्वाईं आफै विद्वान् भएकोमा म डा. यादवप्रसाद पन्तको प्रेमसाथ, सहृदयपूर्वक स्मरण गर्दछ ।

एक सुखद संस्मरण

कर्णध्वज अधिकारी
पूर्वमुख्यसचिव, पूर्व राजदूत

आधा शताब्दी अधिको परिदृश्यमा डा. यादवप्रसाद पन्तको पहिचान एक प्रगाढ विद्वान्, प्राध्यापक, आर्थिक-सामाजिक योजनाविद् को रुपमा थियो । त्यस बखतका प्रशिक्षित हामी युवाहरु । उमेरको हिसाबले चाँडै नै पीएच. डी. गरेको, त्यसमा पनि पीएच. डी. गर्ने पहिलो नेपाली भनी चर्चा पाएको, त्यसबेलाको नेपालको शैक्षिक क्षेत्रको ‘आइकन’ त्रि-चन्द्र कलेजमा प्राध्यापन गरेको, संयुक्त राष्ट्रसंघको इकोनोमिक कमिसन फर एसिया एन्ड फार इस्ट (वर्तमान इस्कापको पूर्वरुप ) मा प्रोफेसनल पदमा काम गरेको, जस्ता पन्तजीका कार्यकीर्तिहरु आकर्षणयुक्त हुनु स्वाभाविक थियो । त्यसबेलाका यी उत्साह उमङ्गपूर्ण भावनाहरु वर्तमानसम्म आइपुग्दा समयको लामो फेरोसँगै टाढिदै गए पनि सम्झनाको मिठास भने साँचिएकै छ ।

डा. यादवप्रसाद पन्तसँगको मेरो निकटता सरकारी वाका विभिन्न मोडहरु हुँदै बढ्दै गयो । २०३८ सालको मध्यतिर आइपुग्दा उहाँ मन्त्री र म सचिवको हैसियतमा एउटै मन्त्रालय ( अर्थमन्त्रालय) को कार्यभार संपादन गर्ने जिम्मेवारी बहन गर्न पुग्यौं । राज्यसंचालनका विभिन्न निकायहरुका लागि आवश्यक आर्थिक स्रोतहरु जुटाइदिनुका साथै मुलुकको वित्तीय एवं मौद्रिक स्थितिलाई सुदृढ गराउँदै राष्ट्रको सर्वाङ्गीण विकासका लक्ष्यहरु हासिल गर्ने योजना अनुकूल नीतिहरुको निर्माण एवं कार्यान्वयन गर्नुपर्ने महत्वपूर्ण गहन र कठिन प्रकृतिको कार्यभार भएकोले अर्थमन्त्रालयको संचालनमा सम्बन्धित सबै तत्वहरु – राजनीतिक नेतृत्वतहमा मन्त्री र कार्यकारी तहमा प्रशासकीय अधिकृत कर्मचारीहरुबीच आपसी विश्वास, मर्यादा एवं अनुशासनसहितको समझदारी तथा सहभागिता नितान्त आवश्यक पर्दथ्यो । यस सन्दर्भमा समग्रमा भन्नुपर्दा मन्त्री डा. पन्तसँग अर्थमन्त्रालयमा काम गर्दा सहज, मर्यादित, स्वस्थ्य सहभागिताको वातावरण रहेको अनुभूतिले उहाँप्रति मेरो आदर एवं आत्मीय सद्भावलाई बढाएको थियो ।

कालान्तरमा डा. पन्त दलीय प्रजातान्त्रिक राजनीतिमा संलग्न हुनुभयो । उहाँ पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको सदस्य रही पार्टीको कोषाध्यक्ष बन्नुभयो । संसद सदस्यका लागि भएको चुनाउमा पनि उम्मेदवारी दिएर प्रतिस्पर्धामा भाग लिनुभयो । यतिञ्जेल म पनि सरकारी सेवाबाट निवृत्त भैसकेको थिएँ । यस्तै फुर्सदको बेलामा उहाँसँग भलाकुसारी हुँदा “प्राज्ञिक क्षेत्रमा, कूटनीतिक क्षेत्रमा, राजनीतिक पदमा, स्वदेश, विदेशमा आफ्नो बिशिष्ट मान्यता स्थापित भइसकेको अवस्थामा पनि आफ्नो स्वभाव अनुकूल नभएको चलखेल गर्नुपर्ने दलीय राजनीतिमा किन त्यसरी लागि पर्नुभएको ?” भनी उहाँलाई सोध्थेँ । मेरो यस प्रश्नको सीधा उत्तर उहाँले कहिल्यै दिनुभएन । हुन त मेरो दलीय प्रतिस्पर्धात्मक, दलीय प्रजातान्त्रिक राजनीतिप्रति न कुनै दुराग्रह थियो न उहाँलाई राजनीतिबाट विमुख गराउने आसय नै थियो । सारमा उहाँको बहुआयामिक प्रतिभाको उत्कृष्टताको स्मरण एवं उहाँप्रतिको आदर र सदभावको मेरो अभिव्यक्ति मात्र थियो त्यो प्रश्न । डा. यादवप्रसाद पन्त अहिले हुनुहुन्न । तर उहाँको सम्झना सधैँ दिगो रहनेछ मभित्र ।
अस्तुः ।

श्रद्धाका दुई शब्द

श्रीमती कमल राणा
वरिष्ठ समाजसेवी एवं राजनीतिज्ञ

डा. यादवप्रसाद पन्तको निधनले नेपाली समाजमा बहुपक्षीय रिक्तता आएको मैले अनुभव गरेकी छु । उहाँ एक योग्य अर्थविज्ञ त हुनुहुन्थ्यो नै, अन्य क्षेत्रमा पनि उहाँको योगदान प्रशंसनीय रहेको कुरा नकार्न सकिन्न ।

स्वर्गीय यादवजीसँग मात्र होइन उहाँको परिवारसँगै मेरो धेरै लामो समयदेखि निकट र आत्मीय सम्बन्ध अनुभव गर्दै आएकी छु । उहाँको निधन हुँदा म आफै अस्पताल भर्ना भएको समय परेको थियो । घर फर्केर आएपछि संकलित पत्रपत्रिकाहरु पढ्दा यस दुखदः समाचारले मलाई ज्यादै दुखितः र सुस्त गरायो । भनिन्छ जीवन-मरण संसारको रीति नै हो । स्वर्गीय यादवजीले राष्ट्र, समाज र परिवारप्रति पुऱ्याउनु भएको महत्वपूर्ण योगदान नेपाली मात्रको सम्झनामा चिरकालसम्म रहिरहने कुरामा कसैको दुई मत होओइन ।

डा. यादवप्रसाद पन्तसँग मेरो बढी संगत सामाजिक क्षे त्रमा नै हो । हामीले नेपाल रेडक्रस सोसाइटीमा धेरै बर्ष साथै काम गयौं । देशका विभिन्न ठाउँमा गइरहने बाढी पहिरो, भूकम्पपीडितहरुको सेवामा जुट्यौँ । त्यस समय उहाँको लगनशील सेवा भावना र मिलनसारिता देख्दा रेडक्रस सोसाइटी परिवार नै उहाँप्रति प्रभावित भयो । रेडक्रस सोसाइटीमा एक अवधि उहाँ केन्द्रीय उपाध्यक्ष पनि हुनुभयो । त्यस समय उहाँले रेडक्रसको विभिन्न तहको योजनाहरु तर्जुमा गर्नमा ठूलो योगदान पुयाउनुभयो । उहाँले कोर्नुभएको खाकाले रेडक्रस सोसाइटीको गतिमा निकै नै बल पुन्यायो ।

यादवजीलाई मैले एक पटक कूटनीतिज्ञको रुपमा पनि भेट गर्ने मौका पाएको थिएँ । उहाँ जापानमा राजदूत हुनुहुन्थ्यो । म र मेरो साथी इनु अर्याल Mexico Conference बाट फर्केर जापान पुगेका थियौं । हामी दुई तीन दिन उहाँको परिवार साथै बस्यौ । उहाँको परिवार (छोराहरु) को चालचलन, व्यवहार रीतिरिवाज तथा राजदूतावासका आफू अन्तर्गतका सबै कर्मचारी र सहयोगीसँगको व्यवहार, बोलीचाली सबै देख्दा म ज्यादै प्रभावित भएँ । साथै त्यहाँ अरु जानपहिचान स्वदेशी विदेशी साथीभाइसँगको कुराकानीमा आफ्नो मुलुकको उँचाइ प्रदर्शनले मलाई झन प्रभावित गरायो । यस्ता गुणका खानी डा. यादवप्रसाद पन्तको निधनले उहाँको आफ्नो परिवारजन, हामीजस्ता हितैषी सहयोगीलाई मात्र होइन सम्पूर्ण नेपाली समाजमा रिक्तता छाएको मैले महसुस गरेकी छु । यस रिक्तताको पूर्ति गर्न आउँदो धेरै समय नेपाली समाजले कुर्नुपर्ने छ ।

अन्तमा उहाँकी धर्मपत्नी गुणकी खानी ” रमा पन्तजी ” जसको पारिवारिक योगदानले गर्दा त्यस परिवारलाई समाजमा एउटा शिक्षित, सुसंस्कृत र कुशल परिवारको रुपमा परिचित हुन सफल गरायो उहाँको भावी जीवन स्वस्थ्यमय र शान्तिमय होस् भन्ने हार्दिक कामना गर्दै स्वर्गीय डा. यादवप्रसाद पन्तको आत्मालाई परमधाम प्राप्त होस् भन्ने प्रार्थना गर्दछु ।

अर्थजादुगर भैसक्थे डा. पन्त

कमलराज रेग्मी
वरिष्ठ राजनीतिज्ञ

आफ्नो समयका, देश र परदेशमा अर्थशास्त्रका शिखरपुरुष अनेकौँ पद, उच्च प्रतिष्ठायुक्त दानी, राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत विख्यात, अति सम्पन्न भएर पनि अति सरल र सज्जन पुरुष आदि यी विशेषण हुन् स्वनामधन्य डा. यादवप्रसाद पन्तका । अर्थजगत्मा उहाँका यात्राका विशेषता विषयका वर्णन, व्याख्या अधिकारी विज्ञहरुले गर्ने नै छन् ।

डा. पन्तसँगको मेरो सम्झनाको पाटो भने सामान्य किसिमको छ । २००७ सालको क्रान्तिका समयमा आएर राणाविरोधी पहिलो जुलुसको नेतृत्व गरेर राजनीतिमा सक्रिय भएर गाँउ गाँउ घुम्न थालेपछि म तानसेनबाट आरु भंज्याङ् हुँदै पूर्वी पाल्पा आउने जाने क्रममा भंज्याङ्बाट अलिपर गएपछि दक्षिणपट्टि केही तल टिनको छानो भएको आकर्षक पक्की घर र सँगै गोदामघर साथै ठूला ठूला बारीका पाटाहरु देखिन्थ्यो । यस्तो किसिमको घर जग्गा गाँउघरतिर सामान्य मान्छेको त हुने कुरै भएन । गोदामघर भएको हुँदा माडीफाँटमा खेत पनि प्रशस्तै हुनसक्ने अनुमान गर्न सकिन्थ्यो । अनि मजस्तो राजनीतिक सँगठन गर्न हिंडेको मान्छेका निम्ति यो दृश्य जिज्ञासाको विषय हुनेनै भयो । बुझ्दै जाँदा त्यो ठाउँलाई बुडीकोट भन्दा रहेछन र त्यो घर पन्त, तर अहिले मालिकहरु यहाँ बस्दैनन् काठमाडौं तिर छन् रे, अनि जान्नेसुन्नेले नामचलेको पन्तमा सुब्बा ताराप्रसादको नाम लिन्थे । यो बुडीकोट देखिने बाटो म लगातार दस वर्षसम्म आउने जाने गरिरहें । तल माथि यता उता जताबाट पनि देखिने यो बुडीकोट मेरो मनमा पछि पाल्पा काठमाडौँमा बस्दै रहेका पाल्पालीहरुले ‘पाल्पाली संगम’ नामको संगठन बनाएर भेला गर्ने, बनभोज गर्ने, पाल्पा जिल्लाकै विकास नीति र आपसी हितको, दुःखसुखमा परस्पर सहयोगको कार्यक्रम गर्न थाल्यौँ । यसै क्रममा अझै पुराना तर पाल्पाबाट बसाइ सरेका व्यक्तिहरुको खोजी गर्दैजाँदा त्यो बेलासम्म प्रतिष्ठा आर्जन गरिसकेका डा. यादवप्रसाद पन्तलाई पाल्पाली संगममा सम्मिलित हुन आग्रह गरियो र उहाँले सहर्ष स्वीकार गर्नुभयो । त्यसपछि पन्तजीको र पाल्पाली समाजको बीचमा राम्रो हेलमेल बढ्यो । पाल्पाली संगमले आवश्यकता अनुसार समय समयमा र खासगरी वर्षको एकपटक उपत्यकामा निवासित र त्यसबेला अरु आगन्तुक सम्पूर्ण पाल्पाली भेला गरी उच्च व्यक्तित्व सम्मान साँस्कृतिक कार्यक्रम, सहभोज आदि गर्दथे, त्यस्ता अवसरमा डा. यादवप्रसाद पनि सम्मिलित भएको सम्झना छ । साथै पाल्पाली संगमको विशेष विकास र उन्नति विषयमा परामर्श र योगदान प्राप्त गर्ने उद्देश्यले संगमका पदाधिकारीहरु उहाँकहाँ जाने र बेलाबेला उहाँले पनि आमन्त्रण गर्नुहुन्थ्यो ।

डा. पन्तसँग मेरो नजिकको परिचय यसरी भैरहँदा मैले दसवर्ष पूर्वी पाल्पाको यात्रा गरिरहँदादेखि बुडीकोटसँग डा. यादवप्रसाद पन्तको पुरानो पुस्तैनी बसाइ रहेको थाहा पाएँ त्यो ममा विशेष सम्झनाको लहर उर्लेको थियो ।

हो त मैले सम्झे नि, म किशोर उमेरको हुँदा हुँगीका पन्तका पुर्खाहरुले गुठी राखेर खोलेको संस्कृत पाठशालमा पं. रुद्रनाथ गुरुसँग व्याकरण पढ्न गएको बेलाका धेरै पन्तहरुसँग मेरो आत्मीय परिचय अहिलेसम्म ताजा रहेकै छ ।

अहिले कतिपय पन्त पनि काठमाडौं ओर्लेका छन् । पाल्पामा पुस्तेनी साइनो भएका पन्त र पाण्डेहरु घरानिया हुन् । जनआन्दोलनमा नागरिक समाजका अगुवा रहेका देवेन्द्रराज पाण्डे पनि पाल्पाली पुस्ताका रहेछन्, एक समय गैरसरकारी संस्था को माध्यमबाट आर्थिक लगानी समेत गरेर पाल्पाका गाउँ ठाँउमा रचनात्मक कामहरु समेत गरेको देखिएको थियो । देवेन्द्रराज पाण्डेलाई पाल्पाबाट प्रतिनिधिसभाका निम्ति आमचुनाव लड्दा प्रचार गरिरहेको अवस्थामा पाल्पामा भेटेको सम्झन्छु । पछि जनआन्दोलनताका नागरिक समाजमा निकै पटक भेट र कुराकानी भएको पनि सम्झन्छु ।

यादवप्रसाद पन्तले भने पाल्पाबाट चुनाउ लड्नुभएन । उहाँले नवलपरासीबाट चुनाउ लडेको संझन्छु । मजैसँग जित्नु पनि भयो। यहाँनिर पनि मभित्र सम्झनाको एउटा सानो धर्को कोरिएको छ । कुन पुस्तादेखि आको हो पन्तजीको जग्गा र जमिनको हिसाव अन्दाज बाहिर को थियो रे । कोही कोहीले भनेको सुनेको हो दस हजार विद्या थियो रे । जे होस् यथार्थमा पन्त परिवार सम्पन्नशाली कुलीन थियो त्यस्ता भाग्यशाली वंशका यादवप्रसाद पन्तले २७ वर्षको युवावयको प्रथम प्रहरमै नेपालको पहिलो विद्यावारिधि गर्ने व्यक्तित्व बनेर सफलतम दीर्घ जीवनयात्रा सम्पन्न गर्नु विरलै व्यक्तित्वले प्राप्त गर्ने परिणति हो । यस्तो कीर्ति सन्तानहरु, मित्रहरु तथा समाजका लागि समेत उज्वल आभा बनेर रहिरहने छ ।

“डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपाल नामक संस्थाको स्थापना गरिएको रहेछ डा. पन्तले राष्ट्र र समाजलाई दिनुभएको योगदान लाई चिरस्थायी बनाउने र नेपालको आर्थिक विकासमा योगदान पुयाउन सकियोस् भन्ने पनि उद्देश्य राखिएको रहेछ । यो थाहा पाएपछि मेरा विचारमा लागेका केही कुरा भन्न मन लाग्यो । समयमा ज्यादै ठूलो परिवर्तन आएको छ । त्यो बेला अधिराज्य नेपालमा राजतन्त्रको प्रभाव व्याप्त थियो । अहिले संघीय गणतन्त्र स्थापनाको विचार प्रवाह र संक्रमणको अवस्थामा समाज गतिशील छ । राजनीती र सुव्यवस्था अनि संविधान निर्माण पहिलो आवश्यकता भएको छ भने यी सबैका सार मुटु कुरा द्रुततर आर्थिक विकास भएको छ। उत्तर र दक्षिणका छिमेकीको आर्थिक विकास, वैज्ञानिक चमत्कारको प्ररिप्रेक्षमा नेपालले पनि द्रुततर आर्थिक विकास गर्न सकेन भने यो देशको अस्तित्वमा शंका गर्नुपर्ने ठाउँ रहन्छ । त्यस कारण हाम्रो देशलाई कुराले होइन कामले जादू जस्तै गरी आर्थिक विकासको उचाईंमा पुऱ्याउने व्यक्ति जन्माउनुपर्ने भएको छ ।

एक्कैछिन कल्पना गरौं डा. यादवप्रसाद पन्त आजको युगमा जन्मदै गरेको अर्थशास्त्री भएको भए आज देशले मागेको आर्थिक विकासको पात्र हुन सक्थ्यो कि ? लामो र कल्पनाका कुरा नगरौं छोटकरीमा यदि साच्चै नै डा. यादवप्रसाद पन्त सम्झना र उहाँको योगदानलाई चिरस्थायी बनाउने हो भने यो प्रतिष्ठानलाई सम्मान र आजकै समयले मागेको डा. यादवप्रसाद पन्त जस्तो विद्वान् अर्थजादूगर जन्माउन आजका पुस्तालाई प्रोत्साहन र प्रशिक्षण दिने संस्थाको रुपमा विकसित गर्दै लैजान सकियोस् भन्ने चाहना देशमा द्रुततर आर्थिक विकास हुँदै गएको नयाँ नेपाल देख्न चाहने सबै नेपालीको हुनसक्छ ।

श्रद्धेय दाजुको सम्झना

कमलबल्लभ पन्त
कार्यकारी प्रमुख, पञ्चकुमारी सहकारी संस्था लि.

” फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ?” भन्ने पंक्ति मलाई यति खेर याद आउँछ । फलेको वृक्ष समान चम्किला तारा यादवप्रसाद पन्त मेरा दाजुहरुमध्ये अग्रज हुनुहुन्थ्यो । उहाँको विद्वतता, कोमल हृदय, सरल जीवन, सहयोगी भावना तथा कर्मले कसको हृदय नजितेको होला र ? उहाँ कसैलाई पनि मन, बचन र कर्मले अहित नचिताउने व्यक्ति हुनुहुन्थ्यो । मानव संवेदनामा बग्ने उहाँको स्वभाव थियो । चिन्दै नचिनेको मानिसहरुले उहाँलाई भेटेर आफ्ना दुःख सुनाएपछि तिनीहरुको पिरमर्का सुनेर द्रवित भै समस्या समाधान गर्ने कार्यमा सदा तत्पर हने दयालु प्रवृतिको महामानवसरह नै उहाँको व्यक्तित्व थियो ।

मेरो र उहाँको पारिवारिक सम्बन्धको सन्दर्भमा सम्झना गर्दा आमाको काखमा छँदादेखि नै उहाँको घरमा मेरो आवतजावत हुने गर्दथ्यो । यादवदाजुको हजुरमुमा र मेरी हजुरमुमा तत्कालीन गुरुज्यु अमरराज पाण्डेकी जेठी र कान्छी छोरी हुनुहुन्थ्यो । साथै किताबी सरदार दैवज्ञराज जोशीकी जेठी छोरी उहाँको आमा र कान्छी मेरी आमा हुनुहुन्थ्यो । यस अलावा उहाँकी श्रीमती मेरी बुढी फुपुको नातिनी भएको हुँदा उहाँलाई मैले भाउजु भन्नुपर्ने भएपनि घर तर्फको दिदी भएको हुँदा रमादिदीको नामबाट नै सम्बोधन गर्छ । यस कारण पनि यादवदाजु र मेरो परिवारिक सम्बन्ध ज्यादै निकट थियो ।

२०१६ सालमा तत्कालीन उप-प्रधान तथा अर्थमन्त्री सुवर्ण समशेर जवराको समयमा उहाँको विद्वतालाई कदर गरी तत्कालीन सरकारको आर्थिक सल्लाहकार मा कदरस्वरुप नियुक्तिपश्चात् देश र राष्ट्रको आर्थिक क्षेत्रमा उहाँले गर्नुभएको देनस्वरुप २०१७ सालमा उहाँलाई अर्थसचिव, तत्पश्चात् योजना मन्त्रालयको सचिव जस्तो महत्वपूर्ण पदको कार्यभार सुम्पिएको थियो । उहाँले नेपाल राष्ट्र बैंकको गभर्नर पदमा २०२५ साल वैशाखमा पदभार ग्रहण गर्नुभयो । नेपालको हालसम्मको इतिहासमा नेपालको आर्थिक क्षेत्र हेर्ने केन्द्रीय बैंकको गभर्नर र देशको योजना बनाउने राष्ट्रिय योजना आयोगको सदस्यको पद एकै समयमा ग्रहण गर्ने एक मात्र अर्थशास्त्री हुनुभएको थियो ।

उहाँ राष्ट्र बैंकको पाँचौ गभर्नर हुनु भएपछि (२४ अप्रिल १९६८ देखि २८ अप्रिल १९७३ सम्म ) केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकले गरेका काम मध्ये भा.रु र ने.रु को विनिमयदर र परिवर्त्य विदेशी मुद्रा सम्बन्धी निर्णय, बैंकर्स प्रवर्द्धन बोर्डको गठन, बैंकर्स प्रशिक्षण केन्द्रको स्थापना, नेपाल राष्ट्र बैकमा प्रथमपटक दुई जना डेपुटी गभर्नरको व्यवस्था आदि महत्वपूर्ण छन् । उहाँले निकै कुशलतापूर्वक योजनाहरु संचालन र कार्यान्वयन गर्नुभएको थियो । यसैक्रममा उहाँलाई बनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्रमा मानार्थ डाक्टर अफ लिट्रेचरको उपाधीले सम्मान गरिएको थियो । अर्थमन्त्री हुँदा मनिलास्थित एसियाली विकास बैंकको अध्यक्ष पदको समेत कार्यभार उहाँले सम्हाल्नुभएको थियो ।

२०२७ साल मंसिर ५ गते देखि मैले नेपाल राष्ट्र बैकमा सेवा गर्ने मौका पाएं। ३४ वर्ष ६ महिना १५ दिनको लामो सेवा अवधि पूरा गरी २०६२ साल असार १४ गते स्वेच्छिक अवकाश लिए नेपाल राष्ट्र बैकमा जागिरे छँदा मैले बैकिङ्ग, आर्थिक, मौद्रिक क्षेत्रमा जेजति अनुभव हासिल गरेँ त्यसको देन यादवदाजुलाई नै जान्छ । अर्को शब्दमा भन्ने हो भने मेरा आमाबुबा पछिको आदरणीय व्यक्ति भनेकै उहाँ नै हो । म आजको अवस्थामा जे जस्तो छु त्यो सबै यादवदाजुको कारणले हो ।

उमेरमा २८ / ३० वर्ष जति फरक भए पनि उहाँ मलाई सदा मित्रवत व्यवहार गर्नुहुन्थ्यो । उहाँले आफ्नो परिवारबाहेक कसैंसँग आफ्नो दुखः सुखको कुरा सुन्ने सुनाउने व्यक्ति, नातेदार तथा मित्रहरुमध्ये म पनि पर्दथें । देशको उद्योग, वाणिज्य, आपूर्ति, सामान्य प्रशासन मन्त्री छँदा वा अर्थमन्त्री हुँदा वा अन्य समयमा उहाँसँग मेरो एक दुई दिन बिराएर भेटघाट हुन्थ्यो । कहिलेकाहिँ कामको व्यस्तताले गर्दा उहाँलाई भेट्न पाउँदिनथें । केही दिन मलाई नदेख्दा “कमल कता बेपत्ता भएछ त्यसलाई बोला ” भन्नुहुन्थ्यो । उहाँको मप्रति कस्तो भावना थियो भन्ने यसबाट प्रमाणित हुन्छ ।

२०४६ साल पछि सार्वजनिक पदको सेवाबाट टाढा भए पनि राजनीतिक, आर्थिक र मौद्रिकक्षेत्रमा रहेको ज्ञान, अनुभव र लगावले गर्दा सक्रिय जीवनको अन्तिम समयसम्म पनि त्यही क्षेत्रमा सक्रिय रुपवाट लाग्नुभयो । जसको फलस्वरुप २०५२ सालमा थाइल्यान्डको श्याम कमर्सियल बैंकसँगको ज्वाइन्ट भेन्चर मा आफू अध्यक्ष भै बैंक अफ काठमाण्डू नामले बाणिज्य बैंकको स्थापना समेत गर्नुभयो। आफू जापानको राजदूत पनि भएको कारणले बैंक अफ जापानसँग मिलेर सो बैंकसँग सम्बन्ध राखी बाणिज्य बैंक स्थापना गर्ने उहाँको अभिलाषा थियो तर प्रक्रिया ढिलो हुन गएको कारणले उहाँको सो अभिलाषा पुरा हुन सकेन ।

सामाजिकसेवाको कार्यमा समेत उहाँको ज्यादै लगाव भएको कारणले आफ्नो बुबा विष्णुप्रसाद र आमा भीष्मकुमारी पन्तको नाममा विभिन्न स्थानमा स्कूल, कलेज, धर्मशाला बनाउने कार्यमा पनि निःस्वार्थ भावनाले आफ्नो तर्फबाट महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । सादा जीवन उच्च विचारका धनी यादवदाजुको जीवन साँच्चीकै सादा थियो । उहाँ यतिसम्म सोझो कि जसले जे भने पनि पत्याउने र पछि सो कारणले कसैलाई मर्का परेको रहेछ भने मकां पर्नेसँग दुखेसो पोख्ने खालको ज्यादै कोमल हृदयको हुनुहुन्थ्यो ।

उहाँ नर्भिक अस्पतालमा भर्ना हुनुभएपछि म लगभग प्रत्येक दिन विहान ७ ८ बजे तिर बैंकक उपचार गर्न नजाँदासम्म पुग्ने गर्दथें । त्यतिबेला यादवदाजु हजुरलाई कस्तो छ हेर्दा त फाइदा हुँदै गए जस्तो छ भन्दा ‘बुझिस् कमल सबैले फाइदा छ भन्छन् तर मैले हरेस खाइसकें, हिड्न नसक्ने, बोल्न नसक्ने कसरी ठिक होला ?’ भन्नुहुन्थ्यो । विगतमा मसँग भएका विभिन्न कुरालाई ठट्यौली पारामा अभिव्यक्त समेत गर्नु हुन्थ्यो ।

२०६४ कार्तिकमा बैंककमा उहाँ स्वर्गे भएको कुरा थाहा पाएपछि म उहाँको कालिकास्थान निवासमा गएँ र कान्छा छोरा राधुसंग भेट भयो । सोध्दा कमलदाइ म छउन्जेल त ठिकै थियो पछि प्रेसर लो भएर स्वर्गे हुनुभयो भन्ने जानकारी पाएँ । भोलिपल्ट मेरा दाजु शम्भुवल्लभ पन्त पूर्वअर्थसचिव भानुप्रसाद आचार्य र म दाजुको मोटरमा एयरपोर्ट पुग्यौ र उहाँको पार्थिव शरीरसंगै पशुपति आर्यघाट गयौं । श्रद्धाञ्जली कार्य सकिएपछि उहाँका तीन छोरा (गिरीश, भुवनेश र राधेश) र म समेत भै भष्मेश्वरमा बोकी यादवदाजुलाई भोलिदेखि देख्न पाइने छैन भन्ने कुराले ल्याएपछि दाहसंस्कार सम्पन्न गयौँ ।

दागबत्ती दिएर दाहसंस्कारको कार्य चलिरहेको समयमा मेरो मनमा अनेक तरङ्गहरु बहन थाले । देशको आर्थिक, बैंकिङ्ग, राजनीतिक क्षेत्रमा योगदान पुयाउने बहुआयामिक सरल हृदयका धनी व्यक्तित्वलाई गुमाउनु पर्दा देशलाई ठूलै क्षति भएको अनुभूति मेरो मनमा हुन पुग्यो। फेरि सोच्न थालें उहाँको निधनले देशलाई पुऱ्याएको क्षति परिपूर्ति हुन अवश्य पनि निक्कै समय लाग्नेछ। फेरि मन मानवीय स्वभावतर्फ तरंगीत हुन पुग्यो र पारिवारिक सम्बन्धतर्फ घुम्न थाल्यो । प्यारो यादवदाजुलाई भोलिदेखि देख्न पाइने छैन भन्ने कुराले ज्यादै शून्यता महसुस भयो र भगवान पशुपतिनाथसँग उहाँको आत्माको चिरशान्तिको प्रार्थना गर्दै लुरुलुरु पैदलै घरतर्फ लागें ।

उहाँ मेरो दाजु मात्र नभै मलाई कर्म दिने बुबा समानको दाजु पनि हुनुहुन्थ्यो । उहाँको जीवित शरीर हाम्रो सामु छैन। उहाँसँग कुराकानी र सरसल्लाह लिन पाँइदैन तर पनि उहाँले समय समयमा दिनुभएको सल्लाह, सुझाउले मेरो बाँकी जीवनलाई मार्गदर्शन गरिनै रहने छ ।

सदा आभारी छु

कल्याण रिमाल
वरिष्ठ गायक तथा संगीतकार

इतिहास बन्यौ किताबका पानाहरुमा ।
पठाएँ एक धुङ्गा साहित्यिक फूल यादवदाइको नाममा ॥

म दाइ भनेर सम्बोधन गर्दथें उहाँलाई । शान्त स्वभावका मृदुभाषी, हामी उहाँको बोलिचालीबाटै लठ्ठिन्थ्यौ, प्रभावित हुन्थ्यौं ।

धैर्यवान र सहनशीलताका धनी अर्थविद यादवदाइका सँगतबाट मैले धेरै जान्ने मौका पाएको थिएँ । उहाँको विषयमा केही लेख्नु अघि म स्वर्गीय दाइमा चिर शान्तिको कामना गर्दै समवेदना अर्पण गर्दछु ।

एक दिनको कुरो हो, उहाँको निवास अगाडि ठूलो चउर र त्यसको छेउमा एउटा कालो मयलको रुखमा लटरम्म फलहरु फलेका थिए । झरेको एउटा कालो मयलमा झुसिलकीरा बसेको थियो । झुसिलकिरा फालेर त्यो मयल खान खोज्दा माथि झ्यालबाट “ए त्यो नखाऊ, पर्ख म मान्छे पठाइदिन्छु, उसले झारी दिन्छ, अनि खानू” यो बोली दाइको थियो । कति मायालू, कति दयालु । अरुले भए गाली गर्थे होलान् दाइले मलाइ सहयोग गर्नुभयो ।

उहाँसँगै पिङ्गपङ्ग, व्याडमिन्टन र थ्याङ्कयु सरी जस्ता खेलहरु सिक्ने मौका पाएको थिएँ । भन्नुहुन्थ्यो “पछि यो एउटा राम्रो खेलाडी बन्छ” । एउटा गहिरो छाप छोड्नुभयो म माथि । हुनत म आयोजना गरिने हरेक बैठकमा गायक पनि बन्थें । साँच्चै पछि पनि नेपाल राष्ट्र बैंक बैंकर्स क्लबले आयोजना गरेको अन्तरसंस्थान खेल प्रतियोगितामा विलियर्ड खेलमा पहिलो र व्याडमिन्टनमा दोस्रो स्थान प्राप्त गर्ने म पनि त्यस संस्थाको सदस्य थिएँ भने यादवदाइ गभर्नर हुनुहुन्थ्यो । उहाँले वितरण गर्नुभएको तक्मा र इनामबाट विभूषित हुने मौका पाएँ साथै बधाई पनि । त्यस समय उहाँबाट सर्वस्व पाएझैँ भयो मलाई । सदा आभारी छु दाइ तिमीप्रति ।

Share This Story, Choose Your Platform!

Leave A Comment

Related Posts