समाजसेवी राष्ट्रभक्त
आचार्य नारायणप्रसाद तिम्सिना ‘मधुप’
अध्यक्ष, देवघाट आध्यात्मिक, वैदिक सेवा परिषद्
“उपकारी गुणी व्यक्ति निहुरिन्छ निरन्तर, फले को वृक्षको हाँगो नझुकेको कहाँ छ र” भन्ने सद्युक्ति डाक्टर यादवप्रसाद पन्तमा हुबहु लागु हुन्छ । उहाँले आफ्नो ओजस्वी प्रतिभाबाट समाज एवं राष्ट्रलाई उच्च जीवन्तता प्रदान गर्नुभयो ।
उच्च शैक्षिक योग्यता, अध्यापन अनुभव, उच्च प्रशासकीय तथा कूटनीतिक क्षमता जस्ता कुराहरुले डा. पन्तलाई एक अविस्मरणीय व्यक्तित्वको रुपमा नेपाल राष्ट्रले चिन्यो । जीवनको उत्तरार्धमा एक कुशल राजनीतिज्ञको पहिचान पनि उहाँले मुलुकलाई दिनुभयो । निजी व्यवसाय तथा बैकिङ्ग क्षेत्रको विकासमा पनि उहाँको देन महत्वपूर्ण रह्यो ।
समाजसेवा डा. पन्तको जीवनको अर्को उल्लेखनीय पाटो थियो । जीवनको अन्तिम घडीसम्म पनि उहाँ आफ्नो यो आदर्शबाट विचलित हुनुभएन । राष्ट्रको कलासँस्कृतिको विकास र सम्बर्द्धनमा पनि उहाँको प्रत्यक्ष अप्रत्यक्ष योगदान रह्यो । निष्कर्षमा डा. पन्तको व्यक्तित्व बहुआयामिक थियो । उहाँ लेखक र साहित्यप्रेमी पनि हुनुहुन्थ्यो । नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा २०२९ सालमा बैंकबाट मासिक रुपमा प्रकाशित हुने “मिर्मिरे” पत्रिकाको जग बसालिदिने काम उहाँले गर्नु भएको हो ।
धार्मिक सामाजिक क्षेत्रमा खप्तडबाबा, ब्रह्मनिष्ठ तपोमूर्ति गलेश्वरबाबा, कृपालु महाराज (जगद्गुरु) आदि विशिष्ट सन्तहरुलाई भेट्नु र उनीहरुबाट ज्ञान लिनु उहाँको उत्तरार्द्ध घडीको अभीष्ट बनेको थियो । सरदार रुद्रराज पाण्डेसँगको सामीप्यता र पारिवारिक निकटताले उहाँमा साधुसन्तप्रति अगाध श्रद्धाभाव थियो । जम्मा जम्मीमा उहाँ राष्ट्रको विभूति हुनुहुन्थ्यो ।
श्रद्धावन्त व्यक्तित्व
आनन्ददेव भट्ट
प्राध्यापक/ वरिष्ठ लेखक
संवत् १९८२ मा काठमाडौं कालिकास्थानमा जन्मनुभएका डा. यादवप्रसाद पन्त एक बहुआयामिक व्यक्तित्वका रुपमा विकसित हुनुभयो । उहाँको अध्ययन भारतको बनारसमा भयो । उहाँले बनारसको हिन्दू विश्वविद्यालयबाट सन् १९५२ मा अर्थशास्त्रमा नेपालको पहिलो विद्यावारिधि पदवी हासिल गर्नुभयो । सन् १९७६ मा त्यही विश्वविद्यालयबाट डि.लिट् उपाधि पनि प्राप्त गर्नुभयो । उहाँले अंग्रेजी र नेपाली भाषामा गरी बीसभन्दा बढी पुस्तक लेख्नुभएको छ र अनेक जर्नलहरुमा ३०० भन्दा बढी लेखहरु छपाउनुभएको छ । यसरी उहाँले अर्थशास्त्रको क्षेत्रमा एक विशिष्ट योगदान पुयाउनु भएको छ ।
सन् १९५३ / संवत् २०१० सालदेखि उहाँले कलेजमा अर्थशास्त्रको प्राध्यापन गर्नुभयो । सँगसँगै उहाँले नेपालको आर्थिक क्षेत्रमा विशेष जिम्मेवारी लिई सेवा प्रदान गर्दै जानुभयो । जस्तै, सन् १९५४ (संवत् (२०११) सालमा उहाँ नेपालको योजना आयोगको सदस्य बन्नुभयो । अनि सन् १९५९-६० मा ( संवत् २०१६/१७) सालमा उहाँ नेपाल सरकारको आर्थिक सल्लाहकार पनि हुनुभयो । अनि सन् १९६८ ( संवत् २०२५) सालमा उहाँ राष्ट्रिय योजना आयोगको वरिष्ठ सदस्य समेत बन्नुभयो ।
अनि सन् १९६६ (संवत् २०२३) मा नेपाल सरकारको अर्थ तथा आर्थिक योजना मन्त्रालयको सचिव नियुक्त हुनुभयो । त्यसपछि सन् १९६८-१९७३ सम्म (२०२५ – २०३०) उहाँ नेपाल राष्ट्र बैंकको गभर्नर हुनुभयो ।
त्यसपछि उहाँ १९७४ – १९७९ सम्म (सं. २०३१ २०३६) कूटनीतिक सेवामा जापानको निम्ति आवासीय र फिलिपिन्स, दक्षिण कोरिया, अस्ट्रेलिया, न्यूजिल्यान्डका निम्ति नेपाली राजदूत नियुक्त हुनुभयो ।
त्यसपछि उहाँको राजनीतिक जीवन सुरु हुन्छ । सर्वप्रथम उहाँ सन् १९८० (संवत् २०३७) मा तत्कालीन राष्ट्रिय पञ्चायतमा सदस्य मनोनित हुनुभयो । अनि सुरुमा उहाँ अर्थ एवं सामान्य प्रशासन राज्यमन्त्री बनाइनुभयो । अनि अर्थ, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त हुनुभयो । त्यसपछि उहाँ सन् १९८६ ( संवत् २०४३) मा नेपालको नवलपरासी जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्य निर्वाचित हुनुभयो । उहाँ सन् १९८६-८८ (संवत् २०४३ २०४५) सम्म जलस्रोतमन्त्री पनि बन्नुभयो । अनि नेपालमा २०४६ सालमा तत्कालीन पञ्चायत व्यवस्थाको राजनीतिविरुद्ध बहुदलीय आन्दोलन भई संसदीय व्यवस्थाको पुनर्वहाली भएकोले पञ्चायती राजनीति समाप्त भयो । यसरी उहाँले दस वर्ष सम्म पञ्चायती राजनीतिमा अग्रसरता लिनुभयो ।
त्यसपछि २०४७ साल (सन् १९९०) मा उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापक सदस्य हुनुभयो । पछि उहाँ त्यस पार्टीको उपाध्यक्ष र कोषाध्यक्ष समेत हुनुभयो । तर २०५७ (सन् २०००) उप्रान्त उहाँको स्वास्थ्य अनि दुर्बल हुँदै गएको अनुभव भई उहाँले राजनीतिबाट विश्राम लिनुभयो । २०६४ कार्तिक २८ (सन् २००७ नोभेम्बर १४) गते उहाँको निधन भयो ।
यसरी उहाँको सम्पूर्ण जीवनयात्रालाई सरसरी हेर्दा उहाँ मूलतः एउटा प्राज्ञिक, बौद्धिक, शैक्षिक व्यक्तित्व देखिनुहुन्छ । उहाँ नेपालको एउटा सम्पन्न उच्च मध्यमवर्गीय परिवारबाट आउनुभएकाले उहाँलाई उच्चशिक्षा प्राप्त गर्न कुनै कठिनाइ भएन । उहाँ मेधावी, लगनशील, अध्ययनशील र कर्तव्यपरायण स्वभावले गर्दा आफ्नो रुचिको विषय अर्थशास्त्रको क्षेत्रमा उहाँले विशिष्टता हासिल गर्नुभयो । अनि जीवनभर बौद्धिक एवं व्यावहारिकरुपले पनि अर्थशास्त्रकै क्षेत्रमा अधिकतम योगदान गर्नुभयो । १०४ वर्षसम्म निरंकुश राणाशासनबाट भर्खर बाहिर आएको नेपालमा उहाँले पूर्ण उत्साह र मनोयोगले प्राध्यापन गर्ने देशको आर्थिक जगतमा व्यावहारिकरुपले अनेक ठूला जिम्मेवारी प्राप्त गर्ने र क्रमशः स्वयं देशको तत्कालीन राजनीति र प्रशासनमा प्रवेश गरी महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने सुअवसर समेत प्राप्त गर्नुभएकाले उहाँलाई आफ्नो बौद्धिक, प्राज्ञिक, प्रशासनिक र राजकीय क्षेत्रबाट आफ्नो ज्ञान र प्रतिभाको अत्यधिक प्रयोग गर्ने अवसर मिल्यो । यस अर्थमा यो उहाँको ठूलो सौभाग्य पनि हो ।
यसरी उहाँको जीवनमा संवत् २०१० साल (सन् १९५०) को दशकदेखि २०६० को दशक अगिसम्मको ५ दशकको जीवन अत्यन्त उर्वर, सक्रिय र उत्पादनशील रहेको देखिन्छ । त्यसमा पनि कैयन् प्रतिभाशाली, सक्षम र समर्थ व्यक्तिहरु राजनीति र प्रशासनमा संलग्न भएपछि धेरै किसिमले बदनाम भएका र अनेक निम्नस्तरीय, लाजै र घिनै मान्नुपर्ने काम कुरामा जानी जानी हात हाली समाज र राष्ट्रलाई ठूलो नोक्सान गरेका कतिपय उदाहरणहरु पनि पाइन्छन् । तर डा. यादवप्रसाद पन्तको जीवनमा त्यसको कुनै बाक्लो त छोडौं हलुका भन्दा हलुका छाया समेत परेको कुनै कुरा सुन्न जान्न पाइएको छैन । यो उहाँको कन्चनताको सरल प्रमाण हो ।
हो, उहाँले सन् १९८० (संवत् २०३७) को दशकदेखि नेपालको निर्दलीय पञ्चायती व्यवस्थाको राजनीति/प्रशासनमा सहभागिता देखाएको पाइन्छ । त्यसैले उहाँको उपलब्धि पनि त्यही व्यवस्थाअनुरुप र्ने निक्कै सीमित भएको पनि स्वतः स्पष्ट हुन्छ । अझ यसो भन्नु बढी उपयुक्त हुन्छ होला उहाँसित आर्थिकक्षेत्रको जुन ज्ञान, गरिमा र विशिष्टता थियो त्यसलाई दुहुनका निम्ति निर्दलीय पञ्चायती व्यवस्थाले उहाँलाई राष्ट्रिय पञ्चायतमा नियुक्ति गरी मन्त्री बनायो । यसले गर्दा उहाँलाई पनि राष्ट्रिय पञ्चायतमा निर्वाचित भएर आउने रहर पनि भयो होला । अनि उहाँ पनि पञ्चायती व्यवस्थाको आशीर्वादले सहजै निर्वाचन जितेर आउनुभयो होला आफ्नै जमिन्दारी भएको नवलपरासी जिल्लाबाट त्यस काममा पनि उहाँलाई खास कष्ट भएन होला । तर उक्त व्यवस्थाको अति सीमित र संकुचित घेराभित्र बसेर पनि उहाँले कुनै दुर्नाम नकमाउनु भएकाले उहाँले एक देशभक्त, उदार विचारका, इमान्दार बुद्धिजीवी विशेषताको भूमिका राम्रैसँग पूरा गरेको हुनुपर्छ भनी सहजै अनुमान गर्न सकिन्छ ।
अनि २०४६ सालमा पञ्चायती व्यवस्थाको विदाइ भनी बहुदलीय संसदीय व्यवस्थाको पुर्नस्थापना भएपछि २०४७ सालदेखि २०५७/५८ सालसम्म उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीको संस्थापक सदस्यको हैसियतले देशको राजनीतिमा सक्रिय सहभागिता देखाउनुभयो । त्यसलाई पनि हामीले एउटा सुन्दर उदाहरण मान्नुपा भन्ने मेरो ठहर छ किनभने उहाँ जुन आर्थिक, सामाजिक, वैचारिक, पारिवारिक, धार्मिक पृष्ठभूमिको व्यक्तित्वमा त्यसबेलासम्म ढालिइसक्नु भएको थियो त्यसअनुसार उहाँले आफूलाई कत्तिपनि नलुकाइ, नढाँटी, हिम्मतका साथ आफ्नो आस्था र विश्वासको इमान्दार राजनीतिक स्वरुप ग्रहण गर्नु भयो । त्यसैले उहाँका कैयन् विचार, धारणा, दृष्टिकोण र संलग्नतासित जतिसुकै मतमतान्तर राखे पनि व्यक्तिगत आचरण, शिलस्वभाव, बानीबेहोरा, सामाजिक, मानवीय सम्बन्ध र अन्य विशेष गरी उहाँको सरलता, सहजता, विनम्रता, मधुरवाणि र व्याबहारिक अत्यन्त सहानुभूतिशील र सहयोगी सम्बन्ध आदिलाई हेर्दा उहाँ हाम्रो नेपाली समाजको एक आदरणीय देशभक्त, उदार प्रजातान्त्रिक, कुनै पनि किसिम स्तरको अन्याय, अत्याचार, होची, अर्घेलीविरोधी भावनाको एक श्रद्धावन्त व्यक्तित्व हुनुहुन्थ्यो भन्न सकिन्छ ।
अझ व्यक्तिगतरुपमा भन्दा त मैले काठमाडौको डिल्लीबजार, कालिकास्थान टोलमा विगत ६ दशकदेखि बस्ने सौभाग्य पाएकोले र त्यसमा थप २०१० सालमा त्रिचन्द्र कलेजमा पढ्दा उहाँसित अर्थशास्त्र पढ्न पाएकले झन् पछि २०१२/०१३ सालदेखि त १ दशकभन्दा बढी समयसम्म उहाँकै सबभन्दा पुरानो घरमा डेरा समेत गरी बस्न पाएकाले, म, मेरा भाइहरु, काका, काकीहरु, बहिनीहरु हामी सबैले उहाँको परिवारसित धेरै नजिकबाट घनिष्टता प्राप्त गर्ने सौभाग्य पायौँ । त्यसबेलादेखि मैले डा. पन्तबाट बेलाबेलामा अति न्यानो माया र सौहार्द्रता प्रात गर्ने मौका पाएको छु । त्यसका निम्ति म उहाँप्रति अझ बढी नतमस्तक छु उहाँले म र मेरा परिवारको जीवनमा लगाउनुभएको गुण म कहिल्यै पनि बिर्सन सक्दिनँ । त्यसमा थप उहाँकै घरको दक्षिण सिमानाको छिमेकी भई विगत ३. ५ दशकदेखि बस्दै आउनपाएकोमा पनि हामी अझ बढी आल्हादित छौं । यसरी उहाँको निधन हाम्रो परिवारको निम्ति पनि धेरै नै समवेदना दिने खालको भएको छ । उहाँप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली ।
राजनीतिभन्दा बढी पारिवारिक कुरा गथ्यौँ
ओमकारप्रसाद गौचन
समाजसेवी / वरिष्ठ राजनीतिज्ञ
पन्त र गौचन परिवारबीचको सम्बन्ध डा. यादवप्रसाद पन्त र मेरो पुस्तामा आएर भएको हो इन पुस्तौं पुस्तादेखि विकसित हुँदै आएको हो । पहिले बाग्लुङ् पनि पर्वत जिल्ला अन्तर्गत नै थियो अर्थात् त्यतिखेर पर्वत जिल्लाको परिधि निकै फराकिलो थियो । हाल बाग्लुङ, म्याग्दी, मुस्ताङ र डोल्पाको केही भाग पर्वत जिल्लामा थिए । पर्वतका राजाहरुका गुरुघराना पन्तहरु थिए । त्यसैले पन्त परिवार त्यतिवेलैदेखि खान्दानी परिवार मानिन्थ्यो र विद्वत्तामा पनि नाम चलेको थियो । प्रेमनिधि पन्त र कवि वीरशाली पन्तका पुस्ताका रुपमा ताराप्रसाद पन्त थिए । तारा प्रसादको किशोर अवस्थासम्म पन्त परिवार वाग्लुड्मै बस्दथे भने बुबा बाजे पनि समाजसेवी, शिक्षासेवी सचेत भएकोले दुइ परिवारबीचको सम्बन्ध उदाहरणीय थियो । तारा प्रसादको विहे पाल्पामा भएपछि उहाँको बसाई पाल्पामा सन्यो भने तराईमा जग्गा किनेर जाडोमा तराईमा र गर्मीमा पाल्पामा बस्न थाल्नुभयो । यसरी पन्त परिवारको ताराप्रसादको हाँगो बाग्लुङ्बाट बाहिर भयो ।
तर पनि हाम्रो परिवारबीचको सम्बन्ध भने निरन्तर कायम रह्यो र डा. यादवप्रसाद पन्तसँग मेरो सम्बन्ध प्रगाढरुपमा नै रह्यो । राजनीतिक क्षेत्रमा उहाँसँग कतिपय निकायमा बसेर एकसाथ काम गरियो । कामको दौरानमा उहाँ कुनै विषयमा मिटिङ्मा भाग लिनु पर्दा विस्तृत रुपमा अध्ययन गरेर आउनुहुन्थ्यो र आफ्ना तर्कहरु नरम तरिकाले दिनुहुन्थ्यो । आफ्ना तर्कले अरुलाई चित्त बुझाएर तदनुरुप निर्णयमा पुग्नुहुन्थ्यो । तर बैठकमा आफ्नो भनाइ विपरितको निर्णय बहुमतबाट पारित भएमा त्यसलाई सहज स्वीकार गर्ने प्रजातान्त्रिक संस्कार उहाँमा थियो ।
पारिवारिक कुरा गर्ने हो भने हाम्रो भेटघाट निरन्तर भइरहन्थ्यो I त्यस्तो भेटघाटमा राजनीतिक चर्चा कम र अन्य सामाजिक र पारिवारिक कुराकानी धेरै हुन्थ्यो । आफ्नो परिवार भित्रको कुरा सबैसँग खुलेर गर्न मिल्दैन र गर्नु पनि हुँदैन । तर डा. पन्तको पारिवारिक कुरा गर्नेमध्ये म पनि पर्दथें । परस्परमा हामीलाई के कुराको विश्वास थियो भने मैले गरेका कुरा डा. पन्त र डा. पन्तले गरेका कुरा ओमकार गौचनबाट बाहिर जाँदैन । उहाँले परिवारका तत्कालीन घटनादेखि भविष्यका व्यवस्थासम्म मसँग गर्नुभएको थियो । यो आत्मीयताको दरिलो उदाहरण थियो ।
मेरा करुणानिधि ” बाजे”
ओमप्रकाश भी. के. गहतराज्
अध्यक्ष, दलित तथा ग्रामीण विकास केन्द्र
डा. यादवप्रसाद पन्त एक विशाल आदर्श र करुणाका धनी हुनुहुन्थ्यो । उहाँको नाम मात्रैले पनि प्रेम र दयाको अनुभूति हुन्छ । १४ वर्षको उमेरमा म मेरा पिताज्यू र दाइसँग काठमाडौं आउँदा पहिलोपटक २०२० सालमा उहाँसँग भेट भएको थियो । उहाँका नातेदार पाल्पा, चिदिपानी, खल्डुक्दीका आदरणीय पं. कमलदेव जोशीको पत्र लिएर हामी काठमाडौं आएका थियौं । पत्रहरु कालिकास्थानमा वडाबाजे तथा बाजेलाई मेरा पिताज्यूले दिनुभएको थियो । पहिलो भेट र परिचय मै उहाँहरुले हामीहरुप्रति अपनत्वको व्यवहार गर्नुभयो। पाल्पाका हाम्रा स्थानीय संरक्षक पं. कमलदेव जोशीले काठमाडौँ भुरुङ्गखेलका आफ्ना मित्रलाई पनि हाम्रा सम्बन्धमा पत्र लेख्नुभएको थियो। पत्रको कारण त्यसबखत हाम्रो काठमाडौं बसाइको डेढ महिना भुरुङ्गखेलमा बितेको थियो । खाने बस्ने भुरुङ्गखेलमा गथ्यौँ भने बाजेलाई भेट्न कालिकास्थान, डिल्लिबजारमा आउथ्यौं । डा. यादवप्रसाद पन्तलाई हामी बाजे भन्थ्यौँ भने उहाँका पूज्य बुबा पं. विष्णुप्रसाद पन्तलाई वडाबाजे । २०२० सालमा म भर्खर पाँच पास गरेको अल्लारे केटो थिएँ । काठमाडौंलाई गाउँघरमा नेपाल भन्थे । मेरा पिताज्यूले मलाई पनि नेपाल लग्ने भन्ने कुराले म दङ्ग थिएँ । पाल्पाबाट पैदल बुटवल भयौं र भैरहवा, सुनौली हुँदै बसबाट गोरखपुर आयौँ। मेरो पिताज्यूले सुरक्षाका लागि कटिबाँसको लामो लट्टी लिनुभएको थियो । गोरखपुरमा ट्रेन कुर्ने धुनमा बसेको ठाउँबाट हाम्रो यात्राको महत्वपूर्ण सुरक्षाकवचको रुपमा रहेको सो लट्ठी कसैले लगेछ, भेटिएन । तत्पश्चात् अन्य झोलाहरु पनि हराउला भनेर यात्रा अवधिभर हामी सर्तक भयौं । यात्राको क्रममा मुजफ्फपुर, सुगौली हुँदै रक्सौल आयौं । तत्पश्तात् नेपाल पसेर अमलेखगंजसम्म बसमा आई त्यहाँबाट पैदल यात्रा गरी भीमफेदी, कुलेखानी, थानकोट हुँदै काठमाडौं आइपुग्यौं । श्रद्धेय डा. पंत त्यसबखत अर्थसचिव हुनुहुथ्यो । उहाँहरुबाट हामीलाई आफ्ना नातेदारले पठाएका सुनारहरु भनेर अत्यन्त राम्रो व्यवहार भयो । काठमाडौं बसाइभर दिनहुँजसो कालिकास्थान जाने गर्थ्यो । कालिकास्थानमा उहाँहरुको पुरानो घर थियो । घरको अगाडि पूर्वतर्फ ठूलो आँगन (चउर) र त्यसको देब्रे छेउमा स्यानो रुखको बुटामुनि इनार थियो । बाजेहरु बाहिर गएकाबखत त्यही चउरमा घाम तापेर उहाँहरुको प्रतीक्षा गर्थ्याै । त्याहाँ काम गर्ने मानिसहरुले पनि बाजेहरुका मानिस भनेर हामीहरुलाई राम्रो व्यवहार गर्थे र बाजेहरु भित्र भए खबर पुऱ्याउने र बाहिर भए कतिबेला फर्कने भन्ने कुराको सूचना हामीलाई दिन्थे । त्यहाँको वातावरणको कारण कालिकास्थान जान हामीलाई कुनै दिन पर्खिनु परेन । खुला दिलले त्यहाँ आवत जावत गथ्यौं । करिब डेढ महिना काठमाडौंको बसाइपछि नेपालकै बाटो पैदल पाल्पा फर्कने निधो गर्यौ । नुवाकोट, पाँचमाने, चारमाने, लम्जुङ्ग, कुन्छा, गोर्खा, तनहुँ, पोखरा, स्याङ्जा हुदै नौ दिनका दिन पाल्पा पुग्यौं ।
हामीले पढ्नुपर्छ र पढ्न सक्यौं भने कालिकास्थान बाजेले हाम्रो लागि केही गर्नुहुन्छ भन्ने हामीलाई पूर्ण विश्वास थियो । त्यही विश्वासले मैले पाल्पामा फेरि पढाइ चालू गरेँ । पाल्पा चिदिपानी, खल्डुवदीबाट मैले २०२४ सालमा एस. एल. सी. उत्तीर्ण गरेँ । त्यसपछि २०२५ सालमा मेरा दाइ डिकबहादुर विश्वकर्माले पढाउन भनी मलाई काठमाडौं लिएर आउनुभयो । त्यसबेला पनि हामीले पाल्पाका हाम्रा संरक्षक पं. कमलदेव जोशीबाट पत्र लिएर आएका थियौँ । आदरणीय बाजे डा. यादवप्रसाद पन्तलाई पत्र दियौं । काठमाडौंमा उहाँहरुबाहेक हाम्रा अरु परिचित थिएनन् । बाजेलाई यसको जानकारी थियो । उहाँहरुको पुरानो घरको भुइँतल्लाको एउटा कोठाको छेउमा केही दिनका लागि हामी दुई भाइलाई बस्न दिने व्यवस्था भयो कोठा ठूलो थियो। कोठाको एक छेउमा हामी बस्थ्यौं । अरु भागमा त्यहाँ काम गर्ने केटाहरुको विस्तरा थियो । हामी त्यहाँ बस्ने तर खाना भने बाहिर खाने गथ्यौ । दाइले हामी काठमाडौ आउनाको उद्देश्य बाजेलाई बताउनुभयो । त्यसबखत बाजे राष्ट्र बैकको गभर्नर हुनुहुन्थ्यो । डेढ महिनाजति पछि बाजेले दाइलाई राष्ट्र बैंकमा अस्थायी सहायकमा नोकरी दिलाइदिनुभयो । त्यसपछि काठमाडौंमा बस्ने र पढ्ने सुविधा मिल्यो । म पाटन कलेजमा आइ.एस्सी. मा भर्ना भएँ । पढाइ पाटनमा भएकोले पाटनको नटोलमा १४ रुपियाँ बहाल तिरी तीनवटा कोठा लियौं । यसरी बाजेलाई सोधेर हामी कालिकास्थानबाट पाटनको डेरामा सर्यौ ।
वि.स. २०२६ सालमा मैले आई.एस्सी. पूरा गरें । पिताज्यूको वृद्धावस्थाको कारणले पाल्पाको घरको आर्थिक अवस्था खस्किन थाल्यो । घरमा पनि पैसा पठाउनुपर्ने भयो । दुवै भाइले जागिर गर्नु जरुरी भयो । बाजेलाई निवेदन गर्यो । २०२७ साल मंसिर १५ गते बाजेले मलाई बालुवाटार राष्ट्र बैंकमावोलाउनुभयो । कार्यालयमा गई बाजे लाई भेटें । आदेश भैसकेको रहेछ । प्रशासनमा सम्पर्क राख्न भन्नुभयो । तुरुन्तै सम्र्पक राखें । त्यही दिनदेखि राष्ट्र बैंकको अस्थायी सहायकमा नियुक्ति पाएँ । जागिर पाउँदा मेरो हर्षको सीमा रहेन । बेलुका बाजेलाई कालिकास्थान गएर भेटें । नियुक्ति पायौ ? भनी सोध्नुभयो । मैले पाएँ भन्नासाथ “ल राम्रोसँग काम गर्नू र विहान बेलुकाको समय मिलाएर पढाइ पनि अगाडि बढाउनु” भन्नुभयो । अहिले पनि म सम्झन्छु बाबुले गर्ने कर्तव्य हाम्रा लागि डा. यादवप्रसाद पन्तले गर्नुभयो । उहाँलाई भेट्न हामीलाई कहिल्यै गाह्रो भएन । उहाँको मायाँ र आशीर्वाद पाएर हामी पाल्पाको एउटा गाउँको सुनारका छोराहरु आज यहाँसम्म आइपुग्यौं । मेरै विषयमा भन्नुपर्दा राष्ट्र बैंकमा प्रवेश गरेर स्थायी सहायक, प्रधान सहायक, सहायक अनुसन्धान अधिकृत र नायब व्यवस्थापकसम्म हुन पुगें । शिक्षातर्फ भनौं भने तीनवटा डिग्री हासिल गरेँ । यो सबै देन बाजेकै हो। कामका दौरान आफ्ना प्रत्येक प्रगति सुनाउन म कालिकास्थान जान्थेँ । मेरो कुरा सुनेर बाजे अत्यन्त खुसी हुनुहुन्थ्यो । मेरो नोकरी लागेको केही समयपछि मेरा दाइ डिकबहादुर विश्वकर्मा भैरहवा सरुवा हुनुभयो । त्यसपछि मेरो भाइ र भानिज काठमाडौंमा मसँगै बसेर पढे । भानिज द्रोणप्रकाश रसाइलीले २०२८ सालको एस. एल. सी. मा पद्मोदय हाइस्कुलबाट बोर्ड फष्ट ल्याए। तुरुन्तै मैले भानिजलाई लिएर कालिकास्थान बाजेलाई भेट्न गएँ र भने हजुरले मलाई जागिर दिनुभएकोले भानिजलाई काठमाडौमा राख्न सकें र आज बोर्ड फष्ट भए” । बाजेले भन्नुभयो “तिमीहरु मिहिनेती छौ, जहाँ पनि सफल हुन्छौ बधाई छ, मैले त अलिकति हात दिने हो” । बाजेले भानिजलाई बधाई दिनुभयो । आज ती भानिज डा. द्रोणप्रकाश रसाइली क्यानाडा सरकारको स्वास्थ्य मन्त्रालयको एउटा डिभिजनल प्रमुख छन् । बाजेको स्वर्गारो हणको खबर सुनेर उनले मलाई फोनबाट दुःख व्यक्त गरे । हामीमा बाजेको गहन छाप छ । उहाँको र उहाँका परिवारको हामीलाई आशीर्वाद र माया नभएको भए आज हामी र हाम्रो वृत्त जे छौं, त्यो हुन सक्दैनथ्यौँ । त्यसैले हाम्रो वृत्तका प्रत्येक व्यक्तिमा श्रद्धेय डा. पन्त र उहाँको परिवारप्रति अत्यन्त श्रद्धा छ। मेरो छोरा अमेरिका पढ्न जानु अघि उसलाई कालिकास्थान लगेर बाजेसँग भेटाएँ । बाजे अत्यन्त खुसी हुनुभयो । राष्ट्र बैंकबाट निवृत्त भएपछि मैले सरकारी तथा निजीक्षेत्रका विभिन्न उच्चस्तरीय समितिमा बसेर काम गरेँ । हरेकपटक बाजेले मेरो प्रशंसा गर्नुभयो । उहाँको प्रशंसा मलाई प्रोत्साहन गर्नुथियो । मैले बुझेको थिएँ । ६० को सुरुवातसँगै देशमा आन्दोलनको लहर आयो । देश पूरै समावेसी अवधारणामा जान लागेको अवस्था थियो । त्यही सन्दर्भमा ६० को सुरुवातमा तत्कालीन अर्थमन्त्रीको अध्यक्षतामा एक उच्चस्तरीय आरक्षण व्यवस्था सुझाब समिति गठन भएको थियो। त्यसमा मेरो नाम पनि रहेछ । उच्चस्तरीय समितिको सदस्यको चिट्टी पाए पछि फेरि बाजेलाई सुनाउन गएँ । बाजे खुसी भएर बधाई छ भन्दै मतिर हात बढाउनुभयो । मैले हात मिलाउन सकिन । उहाँसँग सधैं अनुशासित रहने र डराउने मैले मेरो कर्म दिने बाबुसरहको त्यत्रो व्यक्तित्वसँग कसरी हात मिलाउन सक्थें । क्षमा मागें । ४४ वर्षको उहाँसंगको लामो संगतमा हामीप्रति बाजेको मायाका यस्तै यस्तै थुप्रै उदाहरणहरु छन् । बाजेले अनेकन गुन लगाएर छोड्नु भएको छ। कुमै बाहुनको एउटा सम्पन्न परिवारमा जन्मेका हाम्रा बाजे आदरणीय डा. यादवप्रसाद पन्तले गाउँबाट आएको म एउटा सुनारको छोरालाई जुन किसिमको मायाँ र वात्सल्य दिनुभयो त्यसबाट म लगायत हाम्रा परिवार अत्यन्त प्रभावित छौं । यति लामो सँगतभरी उहाँले हामीलाई सधैँ आफ्नो परिवारको सदस्यलाई जस्तै माया दिनुभयो । मलाई जहाँसम्म जानकारी छ उहाँको सम्पर्कमा आएका कोही पनि व्यक्ति रित्तो हात फर्किन पर्दैनथ्यो । बाजे यति ठूलो दिलदार व्यक्ति हुनुहुन्थ्यो । चाहे चिनेको होस् वा नचिनेको उहाँलाई आएर भेटे पछि उहाँबाट केही न केही सहयोग हुन्थ्यो ।
मेरो आत्मामा के रेकर्ड छ भने बाजे हामीसँग कहिल्यै बेखुस हुनु भएन । उहाँ गमिलो हुनुहुन्थ्यो तथापि हामीसंग संगै बसेर खानुभयो, गफ गर्नुभयो, हाँस्नुभयो र हँसाउनुभयो । बाजेले सधैं हामीलाई प्रेरणा दिनुभयो । मलाई यकिन छ, त्यस्तो व्यक्ति जो कोही हुन सक्तैनन्, पाउन गाहो छ आज हाम्राबीच उहाँ हुनुहुन्न । तर उहाँको आदर्श छबि हाम्रा मनमस्तिष्कमा आज पनि ताजै छ । बाजेप्रति श्रद्धाञ्जली अर्पण गर्दछु ।
एक व्यक्ति अनेक व्यक्तित्व
प्रा. डा. अम्बरप्रसाद पन्त
डीन, कानुन संकाय, त्रि. वि.
डा. यादवप्रसाद पन्त र म नामबाट एकाघरको लाग्ने जस्तो भए पनि हामीबीच दोहोरो चिनजान र उठबस २०४० असार २८ अघिसम्म खासै थिएन भन्दा हुन्छ । उहाँको विद्वता र सहयोगीपन २०२४-०२५ देखि नै सुनेको थिएँ । २०३५ तिर उहाँको घरमा आउने जाने एक परराष्ट्रसेवाको सहसचिवमार्फत् उहाँलाई प्रत्यक्ष देख्ने मौका पाएको थिएँ । पछि दिल्ली विश्वविद्यालय, कानुन संकायमा एम. सी. एल. गर्दा डा. पन्तका माइला छोरा भुवनेशसँग भेट हुँदा उहाँबारे केही थप जानकारी पाएको थिएँ । त्यसपछि २०४० असार २८ गते मेरो विवाह डा. पन्तकी श्रीमती आदरणीय रमादिदीकी भदैसँग भयो । त्यसपछि डा. पन्तसँग मेरो निरन्तर सम्पर्क हुनगयो ।
आजसम्म मैले उहाँसँग समीपमा रहेर बुझे को आधारमा भन्नुपर्दा उहाँ एक सुसंस्कृत, सभ्य, अध्ययनशील र निकै मिहेनती उच्च विचारको विद्वान हुनुहुन्थ्यो । उहाँलाई जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि नहडबडाउने, कर्म र भक्ति दुवैलाई साथसाथै लैजाने र साथै आध्यात्मिक र भौतिकवादको संयोजनमा विश्वास गर्ने शालीन व्यक्तित्वका धनी भन्दा फरक नपर्ला । मेरो विवाहको दिन उहाँ अर्थमन्त्री रहनुभएको मन्त्रिमण्डल विघटन भयो । विवाहकै दिन भएको त्यो घटनाले मलाई दुःखी तुल्यायो । उहाँले भने पदमा रहनु र हट्नु सामान्य क्रम हो भनेर सहजरुपमा त्यसलाई लिनुभयो । मूख्य कुरा नीति र मूल्य मान्यताको हो । त्यसमा उहाँ दृढ हुनुहुन्थ्यो । आफू पदमा रहँदा ठीक र नरहँदा बेठीक भन्नेहरुको सोच र व्यवहार भन्दा उहाँ अलग हुनुहुन्थ्यो । उहाँमा प्रशस्त धैर्य र संयमता थियो ।
अर्थमन्त्रीबाट फुर्सद पाएको एक हप्तापछि गुरुपूर्णिमा पर्दथ्यो त्यतिखेर । उहाँ र रमादिदीले जवलपुर को नर्वदा समीप भेडाघाटमा रामस्नेही वावाको आश्रममा जाने र बाटोमा पर्ने वनारस पनि जाने इच्छा गर्नुभएछ । हामी नवदम्पतिलाई पनि ईश्वर को कृपा भयो । उहाँहरुलाई सुनौलीमा भेटी त्यहाँदेखि मोटरमा गयौं । दुई दिनको बाटो कटेको पत्तै भएन ।
उहाँको लगनशीलताबारे सुनेको थिएँ । २०४३ मा नवलपरासीमा चुनाउमा भाग लिंदा प्रत्यक्ष अनुभव गर्न पाएँ । उहाँ सबैसँग प्रत्यक्ष सम्पर्कमा रहने जनप्रिय उम्मेदवारको रुपमा स्थापित भएको मैले पाएँ । म र श्रीमती चुनाउ प्रचारमा नवलपरासी पुग्यौं । उहाँले जित्नुभयो । सबैले खुसी मनाए । जितको लहर चारैतिर फैलियो ।
मैले ‘रुद्रराज साहित्य सेवा समिति’ मा रहेर उहाँको निर्देशनमा काम गर्न पाएँ । विधान मस्यौदा तयार गरी उहाँ र अरुसँग छलफल गरें । उहाँले दिएको निर्देशन सर्वसम्मत हुन्थ्यो । उहाँले सो समितिमा लामो समय अध्यक्षको हैसियतमा र पछि मानार्थ अध्यक्ष भई समितिलाई सवल बनाउँदै लैजानुभयो । उहाँ व्यक्ति एक भए पनि व्यक्तित्व अनेक भएको, शिर्षस्थ सिद्धहस्त पुरुष हुनुहुन्थ्यो । उहाँको व्यक्तित्व अनुकरणीय र अविस्मरणीय थियो ।
आफ्नो गृहजिल्ला नवलपरासीमा शिक्षा, स्वास्थ्य, सिंचाई, बाटोघाटो, मठमन्दिर तथा तनहुँमा गाउँ सेवा कोषको छात्रवृत्ति कार्यक्रममा गर्नुभएको निजी लगानीले उहाँको सामाजिक पहिचान र व्यक्तित्व चुलिएको छ ।
डा. यादवप्रसाद पन्त राष्ट्रभक्ति र देशप्रेमका लागि मृत्युवरणसम्म समर्पित रहनुभयो । कूटनीतिक मर्यादा नाघियो भनी भारत विरोधी प्रदर्शन हुँदा त्रिचन्द्र कलेजमा पढाउँदा विभिन्न विद्यार्थी संगठनहरुको संयुक्त संघर्ष समितिको अध्यक्षता गरेर बुद्धिजीवीको तर्फबाट नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीसँग एकवद्धता जनाएका डा. पन्तलाई तत्कालीन सरकारले समाले वारेन्ट जारी गरेको र केही समय भूमिगत रहनुभएको थियो । उहाँले चाहेको भए आफूलाई व्यक्तिगत फाइदा हुने धेरै काम गर्न सक्नुहुन्थ्यो तर त्यस्तो काम त परै जाओस् सोचसम्म बनाउनुभएन । त्यस्ता मन, बचन र कर्म शुद्ध भएका व्यक्तित्व हुनुहुन्थ्यो डा. यादवप्रसाद पन्त ।
डा. पन्त र म
इन्द्रनाथ अर्ज्याल
प्राध्यापक
यो लेख कसरी सुरु गरुँ जस्तो भइरहेको थियो । यत्तिकैमा बुहारी मीरा अगाडि परिन् । उनलाई सोधें, तिम्रो बुबाको विवाह कहिले भएको हो ? उनले दुई हजार साल भनिन् ।
सं. २००० सालले मलाई आठ बर्ष बितिसकेको सन् २००० (Y2K) सम्झायो जुन बेला कम्प्युटरले काम गर्न छोड्छ भन्ने आशंका गरिएको थियो । एउटा शून्य मिसिएको १९९० सालको ठूलो भूकम्पको मार खाएका नेपालीलाई तीन तीन शून्य मिसिएको २००० साल त अगुल्टोले पोलेको कुकुर विजुलीदेखि तर्सन्छ भनेझैँ भएको थियो । तर आशंका जति शब्दैमा सीमित रह्यो किनभने ती सबै अन्धविश्वासमा आधारित थिए ।
नेपालको शिक्षाक्षेत्रमा महत्वपूर्ण योगदान गर्ने गुरु रुद्रराज पाण्डे (१९९७ – २०४३) ले त्यही साल फागुन महिनामा आफ्नो छोरी रमादेवीलाई म्याना (सानो काठो जस्तो बीचमा दुबैतर्फ ढोका खुला) मा दुलाहाको सम्मुख हुने गरी राखी मंगलपूर्वक अन्माइदिएको बिहेघरको अगाडिको डबलीमा बसी हेरेको थिएँ । दायाँबाँया दुईदुई जनाले बोकिने, त्यो म्याना, बाजा, कलश अगाडि जन्ती पछाडि लगाइ प्यूखाको मोड भएर नयाँ सडकतिर लागेको थियो । त्यहाँ पुगेपछि बीचै बीच सडक हुँदै पूर्वतिरलाग्यो । बाजाको आवाज केहीबेर आइरह्यो । डबलीमा पछि सुनियो, दुलाहा चाहिँ डिल्लीबजार कालिकास्थानको केटो भनेर ।
त्यही केटोलाई २००१ सालमा त्रिचन्द्र कलेजको भयङ उक्लेपछिको कोठा बी.ए फस्टयरमा अर्को एक जनासँग ढोकाको सामुन्ने बसिरहेको देखें । म त्यही बेन्चमा बस्न पुगें । परस्पर चिनाजानी भयो । भित्तामा त्रैलोक्यनाथ उप्रेती, त्यसपछि यादवप्रसाद पन्त अनि म । अहिले भएको भए म एक्लै बसिरहेको हुन्थेँ । हामी क्रमैसँग बसेको रहेछौँ त्यसबेला । यत्तिकैमा प्रा. रत्नबहादुर विष्ट (जो पछि प्रधानन्यायधीश हुनुभयो ) कक्षा कोठामा पस्नुभयो । हामी छुट्टिनु परेन किनकि हामी तीनै जनाको छनौटको साझा विषय अर्थशास्त्र थियो । पढाउने क्रममा उहाँको थेगो बुझ्यौ (Understand me) हुँ (Yes) कक्षामा गुञ्जिरहन्थ्यो । पन्तजीले मुख्य मुख्य कुराहरु हरियो मसीले कोर्ने गरेको सम्झना छ । हुने विरुवाको चिल्लो पात भने जस्तै ।
हामी तीनैजना एकजुट हुने अरु कक्षाहरु अंग्रेजी र नेपाली भाषाका थिए । अग्रेजीमा क्षितिजचन्द्र चक्रवर्ती, रामप्रसाद मानन्धर र कहिले काहिँ ऋषिकेश शाहको क्लास हुने गरेको सम्झना छ । प्रा. चक्रवर्ती रोमान्टिक कविहरुका कविता पढाउँदा कहिलेकाहि भागवद्गीताको प्रसङ्ग अगाडि ल्याउनुहुन्थ्यो । त्यस्तै प्रा. रामप्रसाद मानन्धरले पढाएको रोवर्ट लिन्डक को निबन्ध On the pleasure of no longer being young को आनन्द अहिले म मात्र लिइरहेछु । नेपाली भाषामा बालकृष्ण सम त्यस बखत शम्शेर) को कक्षा चाखलाग्दो हुन्थ्यो । पुष्कर शम्शेरले पढाउने विषय व्याकरण थियो। दैनिक रुटिन त्यस्तै थियो । एकजुट हुने अनि छुट्टिने दिनभर जसो भइरहन्थ्यो । विद्यालयमा भएको भए बीचबीचमा गफ गर्न पाइन्थ्यो । पछिल्लो पिरियड पछि हामी भोलिसम्मको लागि छुट्टिन्थ्यौ । पन्तजी र उप्रेतीजी डिल्लीबजारतिर र म प्यखातिर लाग्धे बी.ए दोस्रो वर्षसंगैको अर्को कोठाको ढोका अगाडि प्रसादलाई बीचमा पारी नाथहरु दायांबायां भएर बस्थ्यौं तर त्यो स्थिति धेरै रहेन । म विरामी भएँ । कलेज छुट्यो भेटघाटको कम पनि छुट्यो । दुई वर्षपछि २००४ सालमा पन्तजीलाई बनारस विश्वविद्यालयमा भेटेको थियौं । कमलमणि बी.ए र म एम. ए. पढ्न गएका थियौं। बनारस पुगेको भोलिपल्टै विरामी भएँ र घर फर्के ।
२००७ सालको क्रान्तिपछि पनि नेपालमा विश्वविद्यालय स्थापना भएको थिएन । यसको अभाव शिक्षितवर्ग खास गरेर एम. ए. पढ्न चाहने विद्यार्थीहरुलाई खट्केको थियो । प्राध्यापकवर्गमा त पन्तजीहरुलाई चिनेको रहेछ भन्न सकिन्छ । प्राध्यापक रामराज पन्तले मजलिस घर (दरवार हाइस्कुलसँग जोडिएको) मा ल कलेज स्थापना गर्नु, प्राध्यापक शंकरदेव पन्तले त्यही सिलसिलामा पाँच बजेपछि नेपाल नेसनल कलेजमा अर्थशास्त्र र अंग्रेजी भाषाको एम.ए. कक्षा संचालन गर्नु र डा. यादवप्रसाद पन्तले त्यहाँ अर्थशास्त्र अध्यापन गर्ने कार्यमा सहयोग पुयाउनु त्यसका ज्वलन्त उदाहरण हुन् । आफ्नो विषय गणितको त्यस्तो कक्षाको अभावमा म कहिले ल कक्षामा त कहिले अर्थशास्त्रको कक्षामा घडीको लहर हुन पुग्दा डा. पन्तको लेक्चर चारपाँच दिन लगातार सुन्न पुगेछु । अर्थशास्त्री किन्सलाई संसारले मान्दै आएको र त्यसैका जनरल क्लासिकल थ्योरी पढेर हुर्केको भए पनि त्यसमा आफ्नो फरक मत भएको कुरा कारणहरुसहित डा. पन्तले बताउनुभएको थियो । एउटा रेखागणितको मुहान खोजी गर्दा अर्को रेखागणितको उद्घाटन भएको कुरा बुझन सजिलो भयो पछि मलाई ।
२००९/१० सालतिर रानीपोखरीको उत्तरतर्फ सडक नजिकका प्राविधिक स्कुलको तल्लो खण्डमा मन्टेसरी ( स्वभाविक प्रवृत्तिलाई जोड दिएर बालवालिकालाई शिक्षा दिने पद्धति) स्कुल संचालन भएको थियो । सुरुमै बयान गरिएको डबलीको मोतीमैचा नामकी स्वास्नीमानिसले प्युखाटोलमा बस्ने सानो हेमन्त अर्ज्याल र मावलै प्युखामा बस्ने गरेकी सानी मीरा पन्त र अरु एकदुई जना केटीहरुलाई त्यही मन्टेसरी स्कुलमा पुयाउने र फर्काउने गरेको सम्झना छ ।
२०११ सालमा हामी प्युखाबाट ललितपुर झम्सिखेलमा सरेपछि हेमन्तको त्यो स्कुल छुट्यो । २०२९ सालमा हेमन्त र मीराबीच विवाह सम्पन्न भयो । अहिले डा. एरिना अर्ज्याल र इन्जिनियर अनुप अर्ज्याल यी दुईको बाजे म फेरि एक्लो हुनु पुगेको छु।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको २०४२ र २०४३ सालको जन्मजयन्तीको अवसरमा पारेर नेपाल सांस्कृतिकसंघ डिल्लीबजारमा उहाँका केही कृतिहरुका गणितीय आधारमा तयार गरिएको चित्रहरुको प्रदर्शनका साथै व्याख्या गर्दा डा. पन्तको लिखित धारणा यस्तो थियो महाकवि देवकोटाका रचनाहरुको प्रस्तुतीकरण गणितीय आधारमा यसरी गरिनुमा इन्द्रनाथ अर्ज्यालको विशेषता र अनुभूति स्पष्ट हुन्छ । वास्तवमा यसरी सर्वसाधारणले समेत बुझ्ने गरी प्रस्तुत गर्नु अत्यन्त गाह्रो कुरा हो । प्रा. अर्ज्यालले प्रस्तुत गर्नुभएको गणितको आधारमा कविता अत्यन्तै प्रशंसनीय छ । उहाँको अथक परिश्रम र साहित्यप्रतिको योगदान सम्झना नगरिरहन सकिन्न (२०४३) ” ।
यसरी डा. पन्त र म २००० सालदेखि २०६४ सालसम्म पहिलोपटक साथीसाथीको रुपमा दोस्रो पल्ट प्राध्यापक र विद्यार्थीको रुपमा, तेस्रोपटक सम्धीसम्धीको रुपमा, चौथोपटक दर्शक प्रदर्शकको रुपमा अनि पछि बारम्बार परस्पर प्रत्यक्ष भएका थियौं । यी सब व्यक्तिगत कुरा हुन् ।
अन्त्यमा, निर्जीव भौतिक शरीरलाई चितामा फूलै फूलले सिंगारिए जस्तै सजीव बौद्धिक डा. यादवप्रसाद पन्तको यो स्मारिका विद्वानहरूको विचाररुपी फूलैफूलका पत्रले त्यसरी नै सिंगारियोस् ।
मेरो स्मृतिपटका डा. यादवप्रसाद पन्त
पं. इन्द्रप्रसाद भट्टराई
‘केन्द्रीय अध्यक्ष, वैदिक धर्मपरिषद् नेपाल
यत्र पशुपतिः साक्षात् पशुनां पाशमोचकः ।
मुक्तिनाथश्च भगवान् मुक्तिदो गरिगौवर ॥
जहाँ “भायारुपी पासादेखि मुक्तिदिने पशुपति र प्रत्येक जीवलाई मुक्तिदिने मुक्तिनाथ जस्ता दिव्यस्थल, कोशी, कर्णाली जस्ता दिव्यनदी, माछापुच्छ्रे, सगरमाथा, गौरीशंकर जस्ता दिव्यहिमाल रहेको छ त्यो देवदेश नेपाल हो । यस भूमिमा जन्मने व्यक्तिहरु देवतुल्य देखिन्छन् । यही हिमालको काखमा स्व. ताराप्रसाद पन्तका सुपुत्र विष्णुप्रसाद पन्तकी धर्मपत्नी भीष्मकुमारीका पुत्ररत्नका रुपमा वि.सं. १९८२ सालको मंसिर महिनामा यादवप्रसद पन्तको जन्म भएको थियो । मेधावी व्यक्तित्व यादवप्रसाद पन्त २६ बर्षको उमेरमा नेपालको प्रथम अर्थशास्त्रीका रुपमा डा. यादवप्रसाद पन्तका नामले परिचित हुनुभयो।
कार्य अनुभवः वि.सं. २००८ सालदेखि २०१३ सालसम्म त्रि-चन्द्र कलेजमा प्राध्यापन, २०१३ देखि २०१७ सम्म नेपाल सरकारको आर्थिक सल्लाहकार, २०१७ देखि २०२५ सम्म अर्थ तथा आर्थिक कार्य विषय मन्त्रालयको सचिव, यसै बीच आर्थिक योजना मन्त्रालयको सचिव हुनुहुन्थ्यो । पे कमिशन, तत्कालीन शाही नेपाल वायु सेवा निगम, राष्ट्रिय वाणिज्य बैंक, रघुपति जुट मिल्स, नेपाल औद्योगिक विकास कर्पोरेशनको अध्यक्ष तथा सञ्चालक, त्रि.वि.को सिनेट सदस्य समेत भई राष्ट्रको नाममा, राष्ट्रोत्थानको अभियानमा अहोरात्र खट्नुभएको थियो । २०२५ सालदेखि २०३० सालसम्म नेपाल राष्ट्र बैंकको गभर्नर र राष्ट्रिय योजना आयोगको पूर्णकालीन सदस्य, नेशनल ट्रेडिङ लिमिटेड, नेपाल आयल निगम, नेपाल औद्योगिक विकास कर्पोरेसनको अध्यक्ष एवं त्रि. वि. सिनेटको कोषाध्यक्ष जस्ता पदीय जिम्मेवारी पनि पूरा गर्नुभएको पाइन्छ ।
कूटनीतिक जीवनः
तत्कालीन नेपाल सरकारबाट जापान, दक्षिण कोरिया, फिलिपिन्स, न्यूजिल्यान्ड र अस्ट्रेलिया जस्ता मुलुकहरुमा वि.सं. २०३१ देखि २०३६ सालसम्म राजदूत भई कूटनीतिक क्षेत्रमा काम गर्ने डा. पन्तले नेपाल-जापान आदि मुलुकहरुको आर्थिक सम्बन्ध मजबुत गराउन प्रयास गर्नु भएको थियो ।
अन्तर्राष्ट्रिय सभा सम्मेलनमा डा. पन्तः राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका प्राज्ञिक स्तरीय, मन्त्रीस्तरीय सभा सम्मेलन एवं बैंकहरुमा डा. यादवप्रसाद पन्तको नेतृत्वले महत्वपूर्ण उपलब्धि हासिल गरेको थियो । कोलम्बो प्लान, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैंक, एसियाली विकास बैंकको वार्षिक बैठकहरु, संयुक्त राष्ट्रसंघका आर्थिक गतिविधिका सम्मेलन, नेपाल सहायता समूह, नेपाल बंगलादेश, नेपाल – पाकिस्तान, नेपाल-चीन आदि मुलुकहरुबीच भएको आर्थिक योजनाहरु सबै डा. पन्तकै योगदान मान्न सकिन्छ ।
राजनीतिमा डा. पन्तः
राजाले २०३७ सालमा राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत गरी राज्यमन्त्री र पछि अर्थ, वाणिज्य र आपूर्तिमन्त्रीको पदभार सुम्पिएपछि नवलपरासीमा प्रत्यक्ष राजनीतिमा संलग्न हुनुभयो । त्यतिबेला तत्कालीन प्रधानमन्त्रीले अन्यत्र लैजान खोजेको नवलपरासीको गैंडाकोटमा रहेको भृकुटी कागज कारखाना र सुनवलमा रहेको लुम्बिनी चिनी मिल नवलपरासीमा सञ्चालन गर्न डा. पन्तले महत्वपूर्ण योगदान गर्नुभएको थियो । यसबाट नवलपरासी जिल्लावासीहरुलाई स्वरोजगार प्राप्त गरी प्रत्यक्ष परोक्ष रुपमा आर्थिक उन्नति गर्न टेवा पुगेको छ ।
परासी- महेशपुर, बर्दघाट – प्रतापपुर सडक, माकर विद्युत शव-स्टेशन, कावासोती, देउराली, मुकुन्दपुर, भैसाखोरी आदि खानेपानी आयोजना, नवलपुर विद्युतीकरण योजना, शिव उच्च माध्यमिक विद्यालय, कुमारवर्ती बहुमुखी क्याम्पस, पाल्ही बहुमुखी क्याम्पस, दिव्यज्योति बहुमुखी क्याम्पस आदिको स्थापना तथा भौतिक निर्माणका लागि आर्थिक योगदान समेत गर्नुहुने डा. यादवप्रसाद पन्त राजनीतिक व्यक्तित्वभन्दा बढी सामाजिक विकास प्रेमी, अध्यात्मवादी चिन्तक हुनुहुन्थ्यो । वि.सं. २०४३ सालमा निर्वाचित माननीय हुँदा नवलपरासीका प्रत्येक गाउँ गाउँ पुग्नुभएका डा. पन्त जनप्रिय व्यक्तित्व हुनुहुन्थ्यो । गाउँको समस्या पहिचान गरी गाउँ गाउँको विकासमा सहयोग गर्नुभएको थियो । बुलिङटार सिंचाइ योजना, तुरिया खोला बाँध प्रगतिनगर, परासी, देउराली, रकुवा, गैंडाकोट, चोरमारा, रजहर आदि ठाउँमा खानेपानी योजना, परासी- भैरहवा हुलाकी सडक, कावासोती – धीवादी सडक, मुकुन्दे खोला, भरही खोला, बौलाहा खोला, आदि थुप्रै कार्यहरु डा. पन्तका सहयोगी हातहरुले उब्जाएका उपजहरु हुन् ।
प्राज्ञ डा. पन्तः
“स्वदेशे पूज्यते राजा विद्वान् सर्वत्र पूज्यते” भने झैं डा. यादवप्रसाद पन्त विश्वका विभिन्न मुलुकमा सम्मानित विश्वप्रसिद्ध लेखक, चिन्तक, विचारक र विश्लेषक हुनुहुन्थ्यो । नेपालीहरुको आर्थिक आयस्तर अभिवृद्धि गर्न डा. पन्तले प्रस्तुत गरेका कार्यपत्र योजना अनुकूल काम गरेको भए नेपालीहरु जापानी जस्तै सम्मृद्धशाली उहिल्यै हुने थिए । तत्कालीन राजनीतिक परिवेशमा डा. पन्तलाई राजनीतिमा सक्रिय गराउन खोज्नु पनि यही प्राज्ञिक अर्थशास्त्री व्यक्तित्व प्रमुख कारक हो । सबै प्रकार का राजनीति, समाजशास्त्र, अर्थशास्त्रका विश्लेषक डा. पन्त सबै धर्म, सम्प्रदाय र संस्कृतिप्रति श्रद्धा गर्ने वैदिक सनातनधर्मका कट्टर उपासक हुनुहुन्थ्यो । बुद्धको अहिंसावादी, गान्धीको सहनशील स्वभाव र राजर्षि जनकको जस्तो धर्मपरायणता भएका डा. पन्त अजातशत्रु हुनुहुन्थ्यो । मानवमात्रको मानवीय स्वभावले समानस्तरमा रहन पाउनुपर्छ भन्ने मानवतावादी दृष्टिकोण उहाँको थियो । मेरा अभिन्न सहयोगी मित्र डा. पन्तसँगको मेरो मित्रतालाई कतिपयले “कृष्ण-सुदामा” को सम्बन्ध भन्ने संज्ञा दिन्थे । डा. पन्तको स्पर्शले नवलपरासीका हजारौं गरीब विद्यार्थीहरु जो काठमाडौंमा बसी पढ्दथे तिनले उहाँकै सहयोगमा रोजगारीको अवसर पाएर आफ्नो जीवनस्तरमा नै कायापलट गरिसकेका छन् ।
स्वार्थी प्रेम स्वार्थ सिद्ध भएपछि हट्न सक्छ । निःस्वार्थ सेवा र परोपकारका लागि समर्पित हामीहरु नवलपरासी बासीहरुको उन्नति भए हाम्रो घर, परिवार हुँदै समग्र राष्ट्रकै उन्नति हुने धार्मिक दृष्टिकोणले सेवा यात्रा गरेका थियौं । यो मीठो अतीतका क्षण म कसरी भुल्न सक्दछु । त्यो यात्रा, यी हामीहरु, यहाँका गाउँले दाजुभाइ, दिदीबहिनीहरु, डा. पन्तका सहयोगी हातहरु, सुखःदुखका क्षणहरु, धर्म, अर्थ, काम, मोक्षका प्रसँगहरु, “तमसोमा ज्योतिर्गमय” तिर हामीलाई डोर्याएका क्षणहरु हाम्रो स्मृतिपटमा अझै ज्यूँका त्यूँ रहेका छन् ।
विकास प्रेमी प्रबुद्ध प्राज्ञिक व्यक्तित्व डा. पन्तलाई हामी निस्वार्थी सहयोगीहरुले यत्किञ्चित बिर्सिएका छैनौं । “ज्ञानि नष्तु स्वयं मुक्ताः, साधकाः शुभलोकगा” भने झैँ उहाँ ज्ञानी हुनुहुन्थ्यो । उहाँ यतिबेला ज्ञानी र साधक भएको हुनाले मुक्त भई दिव्य लोकको अधिकारी बनिसक्नुभएको छ । आज डा. पन्त हाम्रो सामु नभए पनि उहाँका कीर्तिले हामीलाई उहाँको सानिध्यता दिइरहेको छ । डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले हामीलाई सम्झेर डा. पन्तसँग सहकार्य गर्दाका स्मरणहरु कोर्ने अवसर दिएकोमा प्रतिष्ठान परिवारप्रति हार्दिक आभार प्रकट गर्दछु । साथै डा. पन्तका परिवारजनप्रति हार्दिकता कायम राख्दै समवेदना प्रकट गर्दछु । अस्तुः ।
उत्कृष्ट समाजसेवी
उदयकान्त झा
समाजसेवी
डा. यादवप्रसाद पन्त प्रसिद्ध अर्थशास्त्री, अर्थविद्, कुशल प्रशासक, कूटनीतिज्ञ, राजनीतिज्ञ मात्र नभै एउटा उदार प्रवृत्तिका समाजसेवी तथा सरल र धार्मिक व्यक्तित्व हुनुहुन्थ्यो ।
लायन्स क्लब एउटा विशुद्ध मानवीय सेवा गर्ने संस्थाको रुपमा विश्वका २०३ देशहरुमा रहेको अन्तर्राष्ट्रिय संस्था हो, जसलाई Financial Times of London ले सन् २००७ को जुलाईमा विश्वको सर्वोकृष्ट मानवीय सेवा गर्ने अन्तर्राष्ट्रिय संस्थाको रुपमा सर्वेक्षणद्वारा प्रमाणित गरेको छ । त्यस्तो संस्थामा डा. साहेब जस्तो व्यक्तित्वको आगमन हुँदा हामी लायन्सहरु धेरै उत्साहित भएका थियौँ र उहाँसँग मेरो चिनजान पनि लायन्स क्लवमार्फत् नै भएको थियो । उहाँ १९९४ मा लायन्स क्लब अफ नवलपरासीको संस्थापक अध्यक्ष भएर लायनवादमा प्रवेश गर्नुभएको थियो । त्यसबेला मेरो खासै सम्पर्क भएन, तर १९९८ मा हामीसँगै जोन चेयरपर्सनमा मनोनित भयौं र पोखराको लुम्लेमा तीनदिन प्रशिक्षणमा सँगै बस्ने मौका पाएपछि मेरो सम्पर्क बढ्यो । त्यसपछि २००० मा उहाँ लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी को गभर्नरमा सर्वसम्मतिबाट निर्वाचित भएपछि उहाँले मलाई पनि आफ्नो क्याबिनेटमा एउटा जिम्मेवार सदस्यको रुपमा मनोनीत गर्नुभएको थियो र त्यो कार्य अर्थसँग सम्बन्धित भएकोले मैले सतर्कतापूर्वक आफ्नो जिम्मेवारी वहन गरें । त्यसपछि हाम्रो सामीप्य बढ्दै गयो ।
केही समयपछि २०५८ सालमा हामीले जनकपुर मा एउटा विकास बैंक खोल्ने कि भन्ने सल्लाह गयौं र त्यसबारे डा. साहेबसँग कुरा गर्ने कि भन्ने सल्लाह पनि भयो । हामी २, ३ जना साथी डा. साहेबसँग कुरा गर्न गयौं र मैले डा. साहेब हामी एउटा विकास बैंक खोल्न चाहन्छौं यसमा हजुरको सहयोगको अपेक्षा गरेको छौँ भन्दा उहाँले कहाँ, कसरी र को को छन् भन्ने सबै कुरा गरिसकेपछि, “हेर्नुस् मेरो उमेर धेरै भैसक्यो अब म के काम गर्न सक्छु र ?” भन्नुभयो । मैले “हजुरको उपस्थिति र नामले नै धेरै काम हामी गर्न सक्छौं” भन्दा उहाँले “के गर्नुपयो?” भनी सोध्नुभयो र हामीले सबै जनाले हजुर संस्थापक अध्यक्ष भएर हामीलाई निर्देशन दिए पुग्छ भन्दा उहाँले हुन्छ भन्नुभयो र हामीले सहयोगी विकास बैंक लि. नामको एउटा विकास बैंक जनकपुरमा स्थापना गर्नतिर लाग्यौं । २०६० वैशाखमा दर्ता गरी २०६० कात्तिकदेखि कारोवार सुरु गयौं जसको समुदघाटन पनि हामीले उहाँकै हातबाट गराउने सौभाग्य पायौं । हाल हामीले यस बैंकबाट “डा. यादवप्रसाद पन्त प्रतिभा पुरस्कार” स्थापना गरी रु. १०,००१ ।- र प्रमाणपत्र कार्यालयमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रत्येक वर्ष प्रदान गर्ने भएका छौं । उहाँको निर्देशन र पथप्रदर्शन अनुसार नै बैंकले काम गर्ने संकल्प गरेको छ ।
एकपटक हामी भारतको अहमदावादमा लायन्सको एरिया फोरममा भाग लिन जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थियौ मैले दुईकप चिया ल्याएँ र चिया खाइसकेपछि मैले गिलास उठाउंदा उहाँले उठाउन दिनुभएन । मेरो बुबा तुल्य मान्छे हजूरको सेवा गर्नु त मेरो सौभाग्य हो भन्दा पनि उहाँले मान्नुभएन र आफै त्यो जूठो चियाको गिलास डस्टबिनमा फाल्नुभयो । म आश्चर्यचकित मात्र भइनँ, एउटा पाठ पनि सिकेँ, मानिस धन र विद्याले मात्र नभै सरल स्वभावले पनि ख्याति पाउँछ र सबैको मन जित्न सक्छ भन्ने । त्यो यात्राबाट हाम्रो सामीप्य धेरै बढ्यो । औपचारिक कार्यक्रमपश्चात् पनि हाम्रो भेटघाट कुराकानी भैरहन्थ्यो ।
२००७ को मार्च अप्रिलमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बीको भाइस डिष्ट्रिक्ट गभर्नरको पदको प्रत्याशी थिए उहांको आशीर्वाद लिन कालिकास्थान निवासमा जांदा मलाई सोध्नुभयो, ‘मैले के सहयोग गर्नुपन्यो भन्नुस्” भन्दा मैले हजुरको आशीर्वाद नै पर्याप्त छ भने । त्यसपछि एक दिन मलाई फोनमा तपाईसंग कुरा गर्न मन लाग्यो पाटनतिर आज आउनु छ, तपाईंको के कार्यक्रम छ भनी सोध्नुभयो र मैले हजुर जुन बेला आएपनि म उपस्थित रहनेछु भनें । त्यसपछि उहाँ मकहाँ आउनुभयो र केही बेरको कुराकानी र चियापछि जाने बेलामा आफ्नो खल्तीबाट एउटा खाम दिँदै भन्नुभयो, “तपाईको चुनाउमा धेरै खर्च हुन्छ र अलिकती मेरो पनि सहयोग हुन्छ कि ? “। खाम खोलेर हेर्दा मेरो खुसीको सीमा रहेन र मैले त्यो चेक र खाम हाम्रा सम्पूर्ण लायन मित्रहरुलाई देखाएँ । सबै हर्षित मात्र भएनन् एउटै स्वरले उहाँको प्रशंसा गरे । उहाँबाट प्राप्त रकमबाट सम्मेलनमा सहभागी करिब १५०० जनालाई विहानको खाजा उहाँको सौजन्यबाट भनेर सबैलाई खवाएँ ।
उहाँको गुण र संगतबाट प्राप्त उपलब्धिको जति व्याख्या गरेपनि पुग्दैन । आज पनि नेपालका लायन्सहरुले उहाँलाई धेरै सम्मान गर्छन्। उहाँले विभिन्न ठाउँमा लायन्स क्लबको भवन तथा सामाजिक कार्यमा दिनुभएको योगदानको चर्चा गरिरहन्छन् । हाम्रो डिष्ट्रिक्ट नारायणगढका लायन्स साथीहरुले डिष्ट्रिक्टको आर्थिक सहयोगमा गत वर्षदेखि ‘डा. यादवप्रसाद पन्त स्मृति फुटबल प्रतियोगिता” गर्ने गरेकाछन् । उहाँलाई हामीले मात्र होइन भविष्यका सन्ततिले पनि सम्मानका साथ सम्झने छन् । जबसम्म सहयोगी विकास बैंक रहने छ तबसम्म संस्थापक अध्यक्ष तथा संरक्षकको रुपमा सबैले उहाँको उच्च सम्मान गर्नेछन् । नेपालमा जबसम्म लायनवाद रहनेछ तबसम्म उहाँलाई उत्कृष्ट र उदार प्रवृत्तिका लायनको रुपमा उदाहरणस्वरुप सबैले सम्झनेछन् ।
