मेरो स्मृतिपटलमा डा. पन्त
कविकेशरी बस्नेत
पूर्वमहानिर्देशक
डा. यादवप्रसाद पन्त स्मृति प्रतिष्ठानले उहाँको पुण्यस्मृतिमा एउटा स्मृतिग्रन्थ तयार गर्दैछ त्यसका लागि एउटा लेख चाहियो भनेर अनुरोध पत्र पठाएको केही महिना बितिसकेको छ । पत्र प्राप्त हुँदा चांडै नै सम्झनास्वरूपको एउटा लेख जरुर पठाउँछु भन्ने लागे पनि आफ्नै किसिमका व्यस्तताहरूको कारण आजभन्दा भोलिभन्दा पत्रप्राप्त भएको पाँच-छ महिना बितेको पत्तै भएनछ । केही दिन अगाडि स्मृतिग्रन्थ अब चाँडै नै प्रेसमा जाँदैछ दुई-चार दिनभित्रैमा लेख चाहियो भनेर प्रतिष्ठानले टेलिफोनबाट सम्झाएपछि अब त भएन भनेर यो सानो सम्झौटोस्वरूपको लेख तयार पार्ने जमर्को गरेको छु । बहुआयामिक प्रतिभाका धनी डा. यादवप्रसाद पन्तको कुन पक्षलाई समेटेर लेखुँ भन्ने द्विविधा हुँदा-हुँदै मनमा सहसा आयो कि उहाँसँग बढी सामीप्यताका केही विषयहरूलाई छोएर लेखेँ त्यही नै उपयुक्त होला भनेर सम्झें ।
मलाई लाग्छ मेरी पुस्ताका मानिसहरू अधिकांशका लागि डा. यादवप्रसाद पन्त नौलो नाम हुनसक्दैन । त्रि-चन्द्र कलेजबाट प्राध्यापन पेशाबाट प्रारम्भ भएको उहाँको जागिरे जीवनयात्राको क्रमदेखि देशको विविध विकास योजनाहरूमा प्रत्यक्ष-अप्रत्यक्ष रूपमा संलग्नता, राष्ट्रको ढुकुटीस्वरूपको नेपाल राष्ट्र बैंकको गभर्नर, अर्थसचिव, सांसद, अर्थ, वाणिज्य, आपूर्तिमन्त्री, राजदूतजस्ता उच्च ओहदामा बसेर उहाँले नेपाल राष्ट्रको लामो कालसम्म सेवा पुऱ्याउनुभयो । त्यसैगरी संयुक्त राष्ट्रसंघ अन्तर्गत एसियन विकास संस्था ( बैंकक) मा भिजिटिङ्ग प्रोफेसर, इसक्याफ (ECAFE) को आर्थिक सल्लाहकार बनी अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा रहेको संलग्नताले पनि नेपालको परिचयलाई विश्वसामु उजागर गर्न धेरै योगदान पुग्न गएको स्मरणीय छ ।
उमेरको हिसाबले मभन्दा उहाँ चार वर्ष जतिले जेठो हुनुहुन्थ्यो । मेरो उहाँसँग पहिलो पटक कहिले भेट भयो र चिनापर्ची भयो भनेर सम्झिंदा त्यो उहाँको विवाहपश्चात् नै भएको ठान्छु । त्यसको पनि एउटा ऐतिहासिक प्रसङ्ग छ । मेरा दाजु स्व. रामकेशरी बस्ने त केटाकेटीदेखि नै व्युत्पन्न र प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो । नेपालका प्रसिद्ध नाटककार एवं साहित्यकार बालकृष्ण समको मुकुन्द इन्दिराको राङ्गमञ्चीय प्रदर्शन गरिंदा मेरो दाजुले इन्दिराको जुन किसिमले भूमिका निभाउनुभयो त्यसको तात्कालिक सहरिया समाजमा जताततै नाम चल्न थाल्यो । उहाँले एक किसिमले वाहवाही नै पाउनुभयो । त्यतिखेरको समाजमा नारी भूमिकामा स्वास्नीमानिसको भूमिका निर्वाह गर्ने मानिस नपाइने । भनौं भने त्यसको प्रचलन नै थिएन पनि । भर्खर चौध पन्ध्र वर्षको कलिलो ठिटोले नारी भूमिकामा रहेर नाटकले मागेबमोजिमको सम्पूर्ण कार्य सहजतापूर्वक सम्पन्न गरेर अझ त्यसमा आवश्यक पर्दा आफ्नै स्वरमा हृदयस्पर्शी गायनको प्रस्तुतिसमेत हुँदा त के चाहियो ? त्यसबेला उहाँको ख्याति रातारात बढ्न पुग्यो । अझ त्यो जमानामा कलकत्ता पुगेर हिज मास्टर्स भ्वाइसमा रेकर्ड समेत भएकोले त मुकुन्द इन्दिरा नाटक तात्कालिक समाजको घर-घरको चर्चाको विषय बन्न पुग्यो । यो घटना वि.सं. १९९५ तिरको हो । डा. यादवप्रसाद पन्तको आदरणीय ससुरा तात्कालीन नेपालका अर्का बुद्धिजीवी, इतिहासकार, नाटककार, शिक्षाविद्, प्रशासक के भनौं सरदार रुद्रराज पाण्डेको मनमा पनि उहाँको प्रसिद्ध नाटक रूपमतीलाई मुकुन्द- इन्दिराकै स्तरमा प्रसिद्धि गराउने इच्छा जाग्यो र त्यही क्रममा आवश्यक कलाकारहरू उहाँकै घरमा बसेर अभ्यास गर्ने, रिहर्सल गर्ने, डायलगहरू तयार गर्ने लगायतका कामहरू हुन्थे । त्यसबेला म पनि दाजुको पछि लागेर बेला बेलामा सरदारबाजेको घरमा पुग्थें । जाँदा-जाँदै सरदारबाजेको परिवारसँग हामीहरूको एक किसिमले पारिवारिक सम्बन्धजस्तै जोडिन पुग्यो, जुन अहिलेसम्म पनि यथावत् कायम छ । सरदारबाजेको जेठी छोरी रमादिज्यूको विवाह डा. यादवप्रसादसँग भएपछि नै उहाँसँग हिमचिम बढेको, बराबर भेटघाट हुन थालेको सम्झन्छु। पछि त यो क्रम कहिले उहाँ अन्तर्गतको मन्त्रालय, विभागको कर्मचारीको नाताले, कहिले सँग-सँगै टेवलटेनिस, विलियर्ड खेल्ने सङ्घाती पनि बन्यौं । पुराना यस्ता कुराहरू अहिले सम्झँदा एकादेशको कथाजस्तो लाग्छ ।
काठमाडौंमा त्यसबेला अहिलेको जस्तो घनावस्ती थिएन । डिल्लीबजार, कालिकास्थान, बत्तीसपुतली, बानेश्वरमा औंलामा गन्न सकिने घरहरू थिए । त्यस्तै अवस्था काठमाडौं खाल्डोको थियो । मनोरञ्जनको साधन एक किसिमले केही थिएन भने हुन्छ । कहिले काहीँ हुने फुटबल, टेबुलटेनिस, व्याडमिन्टनको खेल बाहेक अरु हेर्ने, खेल्ने साधनहरू थिएनन् । यसले गर्दा ठाउँ ठाउँमा स्थानीय बुद्धिजीवी, भलाद्मीहरू भेटघाट हुने, जम्मा हुने ठाउँ भनौं कि अखडा पायक पर्ने चिया पसलहरू हुन्थे । डिल्लीबजार, कालिकास्थानका त्यस्ता बुद्धिजीवीहरूका लागि लप्टनको पसलले ख्याति पाएको थियो । यस्ता जमघटले पसललाई हुने फाइदा भनेको त्यस्ता व्यक्तिहरू जम्मा भइदिए भने त्यही नाताले अरु ग्राहकहरू आइदेलान् भन्ने हो । त्यसमा पनि लप्टन नामले परिचित व्यक्ति सोझा, भलादमी भएको कारण तथा त्यस्ता बौद्धिक वार्तालापका रसिक भएकाले पनि बेलुकाको कार्यालय छुटेपछिको समय अर्थात् करिब साढे पाँच बजेदेखिको उनको पसल एक किसिमले बुद्धिजीवी भेटघाटकै लागि थियो भनिदिए हुन्छ । चियापसले लप्टनसाहेव पनि रमाइलो मानेर गफ सुनेर बस्थे । बेला-बेलामा कोही चिया फर्माउँथे, कोही च्यूरा-तरकारी, मांसाहारी चाहीँ त्यही किसिमले त्यहाँ बनेका परिकारहरू अर्डर गर्थे । जस-जसले जे-जे खाएको हो त्यहाँ राखिएको एउटा कापीमा लेखेर राखिन्थ्यो । महिना महिनामा तलब बुझेको दिन लप्टनसाहेवले बाँकी-बक्यौता पाउने आशा राख्थे । कसैले महिना महिनामा तिरिदिन्थे, कतिले बाँकी बक्यौता तिर्न वर्षौं लगाउँथे भनेको पनि सुनिन्थ्यो त्यतिखेर । कसै-कसैले जागिरको प्रमोशनको खुसीयाली, विवाह, जन्मदिन, घरमा सन्तानको अभिवृद्धिमा खुवाउँथे पनि । लप्टन साहेवको चियापसलमा जम्मा हुनेमा डा. साहेव पनि पर्नुहुन्थ्यो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, डा. त्रैलोक्यनाथ उप्रेती, डा. पुष्करनाथ पन्त, वासुदेवनाथ रिमाल, प्रा. नरेन्द्रबहादुर बस्नेत, प्रा. सुरेन्द्रबहादुर सिंह, प्रकाशबहादुर के.सी तथा बेलाबेलामा वडागुरुज्यू, पुरोहित खलकका कुनै न कुनै सदस्यहरू पनि जम्मा हुन्थे र राजनीतिदेखि अर्थनीति, समाज व्यवस्था, रसरङ्गका कुराहरू समय र मौसम अनुसार त्यहाँ हुन्थे। सरकारी तहमा भविष्यमा के-कस्ता पाइला चाल्नु उपयुक्त हुन्छ भन्नेजस्तो सुझाव र सल्लाह निःशुल्क सरकारी नीति निर्माण तहमा बसेकाहरूले चाहेमा त्यहाँ पाउन सक्थे । लप्टनको चियापसलको बुद्धिजीवी वार्तालापको नियमित सहभागी बनेर लप्टनसाहेवले त्यो चियापसल नहटाउञ्जेलसम्म मैले पनि संलग्न हुने अवसर पाएको छ । डिल्लीबजारबाट धेरैजसो रातको नौ-दस बजे म बत्तीसपुतलीको आफ्नो घरमा पुग्थें । त्यसबेला डिल्लीबजारदेखि त्यस्तो रातको समयमा घर जानु भनेको खतरा र डरलाग्दो थियो एक किसिमले भनौ भने डिल्लीबजारदेखि बत्तीसपुतलीको बाटो अनकण्टार थियो भने हुन्छ। आजजस्तो सडकका दुवै तिर घरहरू थिएनन्, मैतिदेवी, घट्टेकुलोमा वस्ती थिएनन् । सवारीका साधनको नाउँमा कसैसँग साइकल भए पनि त्यसको लागि पनि उपयुक्त बाटो घाटो थिएन । धो बीखोलाको बाटोहुँदै घर जाँदा छोटो पर्थ्यो तर दुवैतिर घना काँडाघारी भएको साँघुरो गोरेटो बाटो हुँदै घर जानु भनेको डरमर्दो हुन्थ्यो। भूत, प्रेतको डरले समाज थर्कमान भएको त्यस जमानामा घरमा नपुगुञ्जेल आफूलाई पनि डर अझ घरमा आमा-बाबु, परिवार का अन्य सदस्यहरू कहिले आइपुग्ने हो भनेर बाटो हेरिरहेका हुन्थे । तर लप्टनसाहेवको चियापसलको गफको एक किसिमले चस्का र लतै बसेकोले लरतरो किसिमले छोड्न सक्ने अवस्था थिएन । त्यसमा पनि महाकविज्यूको डा. यादवप्रसाद पन्तज्यूको तर्कसम्मत, घतलाग्दा, उपयोगी विचार र विज्ञताको आजसम्म पनि झझल्को आउँछ । अरुहरू पनि तत्कालीन समाजका आ-आफ्नो क्षेत्रका मानिएका व्यक्तित्वहरू भएकोले उहाँहरूको गफ, वार्ता कम रमाइलो हुन्नथ्यो ।
डा. साहेबलाई पछि व्याडमिन्टन खेल्ने रहर लागेछ । म त्यतिबेलाको टेवलटेनिसतर्फ राष्ट्रिय खेलाडी राष्ट्रिय खेलाडी भइटोपलेको तथा पटक-पटक टेबल टेनिसमा पहिलो, दोस्रो भएको तथा व्याडमिन्टन, विलियर्डको पनि राम्रै खेलाडी भएकोले उहाँले व्याडमिन्टन सँगै खेल्न मलाई घरमा डाक्नु भएकाले बराबर जान थालें । त्यसले गर्दा हाम्रो घनिष्टता अझै प्रगाढ हुनथाल्यो । पछि अर्थमन्त्रालयअन्तर्गत म भन्सार विभागमा का.मु. महानिर्देशक हुँदा उहाँ अर्थमन्त्री हुनुहुन्थ्यो । पहिलेदेखिको परिचयको कारण भन्सार कार्यालयहरूमा जायज सुधारप्रक्रियाका कामहरू गर्न उहाँबाट सधैं सहयोग पाएँ । त्यतिखेर भन्सारमा काम गर्नु भनेको जोखिमको काम मानिन्थ्यो । कोही पनि एउटा कार्यालयमा बढीमा एकाध वर्षभन्दा वढी टिक्नै नसक्ने अवस्था थियो र त्यो एक किसिमले त्यस्तै खतरनाक स्थल सम्झिन्थ्यो पनि । पुरानो परिचय र सम्बन्ध भए पनि उहाँ आफ्नो सरोकार वाला मन्त्रालयको प्रमुख व्यक्ति हुँदा कहिल्यै पनि त्यसबाट नाजायज फाइदा उठाउनेमा दुबैतर्फबाट सोचिएन र त्यस्तो चाहना कहिल्यै रहेन पनि । सायद यही कारणले होला हामी आफ्नो जागिरे जीवनबाट सेवानिवृत्त भएपछि पनि पहिलेको सुमधुर सम्बन्ध यथावत् रह्यो । उहाँ मेरो लागि सधैं आदरणीय र आत्मीय व्यक्तित्वको रूपमा रहनुभयो । एकपटक राष्ट्र बैंकले विलियर्ड प्रतियोगिता आयोजना गरेको थियो । त्यसमा गिरिधारीलाल मानन्धर र मबीच फाइनल प्रतिस्पर्धा भएको थियो । पहिलो पुरस्कार मैले र दोस्रो गिरिधारीलाल मानन्धरले पाउनुभएको थियो । पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि भएर डा. साहेव पाल्नु हुँदा उहाँको हातवाट मैले पुरस्कार पाएको थिएँ । डा. साहेवबाट मैले धेरै कुराहरू सिक्ने, जान्ने अवसरहरू पाएं। एक किसिमले मेरो लागि उहाँ आदर्श पात्र हुनुहुन्थ्यो । अरुको एकपक्षीय कुरा सुनेर कारवाही गरी हाल्ने उहाँको एउटा बानीको चाहीं त्यतिखेर नकारात्मक रूपले साथीभाइमाझ चर्चा हुन्थ्यो । त्यसवारेमा आफूले जानेको, थाहा पाएको घटनाहरूबारे भेटघाट हुँदा बताइदिन्थे । एकपटक म आफै पनि त्यसको झण्डै- झण्डै शिकार भएको थिए । त्यसले गर्दा अरुले उहाँको यसै नकारात्मक चर्चा गरेका होइन रहेछन् भन्ने मलाई लाग्न गयो । त्यसलाई मैले कहिल्यै पनि उहाँको दोषको रूपमा नलिई स्वभावको रूपमा लिएकोले हामीबीचको सम्बन्धमा कहिल्यै पनि कटुता आउन पाएन, चीसोपनले मौका पाएन ।
डा. साहेबको विविध क्षेत्रको विज्ञताको कारण नेपालले भर्खर भर्खर विकास योजनाहरूको रूपरेखा कोर्न लागे को बखत कृषि, अर्थ, आपूर्ति, वाणिज्य, विकास निर्माण, मौद्रिक व्यवस्थाको क्षेत्रमा धेरै महत्वपूर्ण योगदान र विज्ञता पाएको थियो । नेपालको विविध क्षेत्रको ज्ञानका विज्ञको रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित डा. साहेवको असामयिक निधन नेपाल र नेपालीकै लागि ठूलो क्षति हो। उहाँका असल विचार र योजनाहरूलाई कार्यरूपमा परिणत गर्ने काममा डा. यादवप्रसाद पन्त स्मृति प्रतिष्ठान सफल होस् भन्ने कामना गर्दछु । उहाँको साथीभाइ, कर्मचारीहरूको तहमा नम्र स्वभाव, भद्र मिजास र शालीनता लोभलाग्दो थियो। कहा र कठोर हुनुपर्ने ठाउँमा वज्रजस्तै कडा बन्नसक्नु उहाँको विशेषता थियो । डा. साहेबसंगको सङ्गतले मैले पनि आफूले धेरै कुराहरू सिक्ने, जान्ने अवसर पाएको छ उहाँपति म सदैव श्रद्धानत छु ।
सम्पन्न परिवार : सज्जन बुद्धिजीवी
कुबेर शर्मा
राजनीतिज्ञ तथा पूर्वमन्त्री
म भूगोलपार्कमा बसिरहेको थिएँ । मेरो छेउमा बसेको साथीले मेरो ध्यान आकर्षित गर्दै औंल्याए, मयलपोस सुरुवाल लगाएको एक व्यक्ति नेपाल बैंक केन्द्रीय कार्यालयतर्फ हिंडेर जाँदै थिए । उनी यादवप्रसाद पन्त हुन् भनी साथीले देखाए । उनी नेपाल सरकारको आर्थिक सल्लाहकार हुन् भने । म २०१३ सालमा बी. कम पढ्न सप्तरी जिल्लाको एउटा गाउँबाट काठमाडौं आएको थिएँ । त्यसबेला काठमाडौंका घरानियाँहरुको बारेमा मलाई धेरै जानकारी थिएन । त्यस घटनाको आठ बर्षपछि सरकारको छात्रवृति पाएर बम्बईबाट सी. ए. गरी फर्के । नेपाल बैंकमा जागिर खान पुगेँ । त्यस बखत जल्दाबल्दा प्रभावशाली सरकारी उच्च अधिकारीहरुबारे बैंकका कर्मचारीहरुबीच टिकाटिप्पणी गर्थ्यो । म मधेशको भएकाले त्यहाँ कर्मचारीहरु मलाई नेपाल नचिनेको भनेर काठमाडौंको ठूला, घरानियाँ र उच्च ओहदाका परिवारहरुको पृष्ठभूमि र रोचक घटनाहरु चाख लिएर सुनाउँथे । एक दिन एकजना वरिष्ठ अफिसरले भने म भैरहवा गएको थिएँ । त्यहाँबाट मलाई तौलिहवा जानु पयो । बाटो हिँड्दै जाँदा राती बास बसेको ठाउँ त यादवप्रसादको मौजा रहेछ भनेर थाहा पाएँ । त्यहाँ कामदारसँग सोढा उनले भने तपाई दिनभरी हिँडेको बाटोको जग्गा सबै यादवजीको हो । त्यति ठूलो जमिन्दारी रहेछ यादवजीको परिवारको । ”
यादवजी अर्थसचिव हुनुहुन्थ्यो । सरकारले नेपाल बैंकको प्रतिस्पर्धामा अर्को वाणिज्य बैंक स्थापना गर्ने निर्णय गयो । नेपाल बैंकको तत्कालीन व्यवस्थापनलाई सौता हालेको मन परेको थिएन । एक दिन एउटा कार्यक्रममा यादवजीसँग मेरो भेट भयो । उहाँले मलाई सोध्नुभयो, “कुबेरजी, नेपाल बैंकको चेक भुक्तानी लिन एकघण्टा भन्दा बढी लाग्दथ्यो । अहिले तपाईले दस मिनटमा चेकको भुक्तानी नभए “ एजेन्ट” समक्ष उजुरी गर्नु भनेर सूचनापाटी राख्नुभाछ त्यो कसरी गर्नुभयो त्यसबखत एउटा बैंकिङ्ग कारोबार गर्ने शाखा केन्द्रमा थियो र त्यसको मैनेजरलाई “एजेन्ट भन्थे” । मैले उत्तर दिएँ – ” सजिलै छ नि । ग्राहकको खाता र दस्तखत नमूनाको दराज सँगसँगै राख्न लगाएँ । म त अझ खजान्ची पनि सँगै राख्न चाहन्थें, तर प्रमुख खजान्चीले मानेनन् ।” पुरानो विचारका हाकिमहरु मेरो सुधारवादी काममा अप्रत्यक्ष रुपले असहयोग गर्न चाहन्थे । आजको सन्दर्भमा कुरा गर्दा थुप्रै बैंकहरु खुलेका छन् । कम्प्युटरले काम छिटो तामेल गर्न सहयोग गर्छ । तर चेक भजाउन वा पैसा जम्मा गर्न कुनै बैंकमा जानोस् २५ / ३० जनाको लाममा उभिएर भुक्तानी अथवा पैसा लिनु दिनु पर्दा पैंतालीस मिनेटभन्दा बढी समय खर्चे पछि काम हुन्छ ।
यादवजीको कार्यशैली र विचारबारे भन्नु पर्दा मलाई मेरा एक मित्रले सुनाएको एउटा घटना उल्लेख गर्नु रुचिकर हुनेछ यादवजी एउटा सभ्य, सज्जन र मृदुभाषी निजामती कर्मचारी हुनुहुन्थ्यो । उहाँले डाकेको बैठकमा कुनै कर्मचारी ढिला आएमा यादवजी उसको मुखमा हेर्नुहुन्थ्यो र उससे देखने गरी आफ्नो नारी घडी हेर्नुहुन्थ्यो। नबोलिकनै आफ्नो रुष्टता प्रकट गर्नुहुन्थ्यो । अर्थसचिवको हैसियतले उहाँले ठे लीका ठेली कागज भएका लामा लामा टिप्पणी अध्ययन गर्नुपर्थ्यो । तर उहाँले राणा प्रधानमन्त्रीको जाहेरी तरि का अपनाउनुभयो । उहाँकहाँ आएका फाइलहरु उहाँका एक सुब्बाले पढेर सुनाउने गर्थे। त्यस बखत पी. ए. को चलन थिएन ।
एकपटक नेपाल बोटलर्स नेपाल प्रा. लि कोकाकोला उत्पादकको अन्तःशुल्क छूट दिने सम्बन्धी फाइल खडा भयो । तत्कालीन अन्तः शुल्कमा महानिर्देशकले छूट दिन नमिल्ने भनेर ऐन देखाए । ५० प्रतिशत नेपाली कच्चापदार्थ प्रयोग गर्नेले मात्र छूट पाउने रहेछ । कम्पनीमा पूर्वअधिराजकुमारी हेलेन शाहको पनि लगानी रहेकाले उहाँका कर्ताधर्ता सहदेव शमशेर कम्पनीको पक्षमा निर्णय गराउन प्रयासरत थिए । प्रस्तुत लागत विवरणमा कोकाकोलाको खाली बोतलको दाम पनि जोडिएको रहेछ । बोतल भार तबाट पैठारी भएर आउने भएकाले त्यसलाई नेपाली बस्तु भन्न मिल्दैन भनी महानिर्देशकले भने । त्यस बखतका अर्थमन्त्री यादवजीले महानिर्देशकको रायलाई सदर गर्नुभयो ।
उद्योगका हिस्सेदारले अर्थमन्त्रालयको निर्णय गलत छ भन्दै अदालतमा उजुरी गरे । अदालतले फैसला गन्यो – “उद्योग सम्बन्धी विषयमा उद्योग विभागले दिएको व्याख्या मान्नुपर्छ भन्दै भारतबाट आयात गरिएको बोतल नेपाली बस्तुसरह मान्यता दिनू ।” उद्योगीको जिकिर थियो, भारतीय रुपैयाँ र नेपाली रुपैयाँ निर्वाधरुपमा सटहीगर्न पाउने भएकाले भारतीय रुपैया तिरी आयात गरिएका बोतललाई नेपाली वस्तुसरह मान्यता दिनुपर्छ । प्रशासनिक तहबाट आफ्नो मतलब पूरा नभएपछि न्यायिक प्रक्रियाबाट उद्योगीहरुले आफ्नो कुरा फत्ते गरे । अदालतको निर्णयपछि अर्थमन्त्री यादवजीले महानिर्देशकलाई रमाइलो पारामा व्यंग गर्दै भने -“देख्नुभयो अदालतले गरेको ऐनको व्याख्या ?” (महानिर्देशक लेखकको निकटतम मित्र भएकाले उनले पञ्चायतकालमा कामगर्दा कस्ता अप्ठ्याराहरु झेल्नु पर्थ्यो भनी सुनाएको आधारमा यो कुरा यहाँ उद्धृत गरेको हुँ।)
एक संस्मरण
कुमारमणि आ.दीक्षित
पूर्वप्रशासक
स्व. डा. यादवप्रसाद पन्तसँगको मेरो परिचय • हामी दुबै जना सरकारी सेवामा पसेपछि मात्र भएको हो । डा. पन्त अर्थमन्त्रालय र म उद्योग वाणिज्य मन्त्रालयमा भएपछि हाम्रो सम्बन्ध बढ्दै गयो । यादवजीलाई मैले इमान्दार, सोझो र सरल प्रकृतिको पाएँ । हाम्रो सम्बन्ध खासगरी एसियाली विकास बैंकको स्थापनाका समयमा निकै नजिक हुँदै गयो । पछि राष्ट्र बैंकमा उहाँ गभर्नर छँदाको समयमा उद्योग वाणिज्य मन्त्रालय र राष्ट्र बैंकबीचको सम्बन्धमा धेरै नजिकपन देखियो । यही बखत विश्वबैंकको १९६८ को बासिङ्गटनमा भएको बैठकमा भाग लिन जाँदा हाम्रा श्रीमतीहरु पनि सँगै हुँदा निजी सम्बन्ध पनि बढेर गएको थियो । पछि म सरकारी सेवा छाडी यु.एन. को बैंकक अफिसमा काम गर्दा यादवजी टोकियोमा राजदूत भएको बखत पनि हाम्रो सम्पर्क रहिरह्यो । म १४ वर्ष बैंकक बसें । त्यसबीचको सम्बन्ध दशैंमा कार्ड पठाउने, नयाँवर्षमा टेलिफोनद्वारा शुभकामना आदान प्रदान गर्ने कुरामा सीमित हुन पुग्यो । सन् २००१ मा म निकै बिरामी भएँ । पछि त डा. साहेबसँग मेरो सम्बन्ध त्यसै हराएर गएजस्तो भयो । आफू बिरामी भई बिछ्यौनामा परेका बखत बैंककमा उहाँको स्वर्गबास भएको खबरले आफूलाई साह्रै दुःखी बनायो । उहाँकी श्रीमती रमादेवी र छोरी मीरालाई धेरै संझिरहे तर गर्न केही सकिनँ । डा. यादवप्रसाद पन्तको देहावसानले नेपालको एकजना बौद्धिक र योग्य पुरुष गुमायो भन्ने मलाई लाग्छ ।
संस्मरण र श्रद्धाञ्जली
स्व. कुलशेखर शर्मा
पूर्वगभर्नर तथा पूर्वमुख्य सचिव
डा. यादवप्रसाद पन्तसँग मेरो परिचय लगभग ५० वर्षभन्दा बढी समयदेखि थियो । त्यस समय हामी दुबै सरकारी सेवामा संलग्न थियौं । उहाँ अर्थमन्त्रालयको सचिव हुनुहुन्थ्यो, म शिक्षा तथा पञ्चायत मन्त्रालयको । उहाँ एक परम स्नेही मित्र र निकट सहयोगी हुनुका साथै नेपालको ख्यातिप्राप्त अर्थविद् पनि हुनुहुन्थ्यो । विद्यावारिधिको पदवी हासिल गर्ने उहाँ पहिलो नेपाली हुनुहुन्थ्यो । उहाँ एक सरल, उदार र सुसंस्कृत व्यक्ति हुनुहुन्थ्यो ।
सरकारी सेवामा रहँदा उहाँले आफ्नो कार्यक्षेत्र अर्थव्यवस्था र आर्थिक योजना मन्त्रालयमा नयाँ धारणाहरुको प्रवेश गराउनुभयो । जसले गर्दा आर्थिक विकासको गति तीव्र
गर्नमा त्यस समय ठूलो सहायता पुगे को थियो ।
डा. पन्त एक कुशल प्रशासक पनि हुनुहुन्थ्यो । कुनै कुरा ऑटे पछि त्यसलाई पूरा गरी छाड्ने उहाँको खुबी र क्षमता थियो । उहाँ अर्थमन्त्रालयमा छँदा देशको दक्षिणी भागको निकै ठूलो क्षेत्रमा भारतीय मुद्राको चलनचल्ती हुने गरेको थियो । यसले गर्दा देशमा आफ्नो आवश्यकताअनुरुपको स्वतन्त्र मौद्रिक नीतिको निर्माण र अनुस्मरण गर्नमा अप्ठ्यारो परिरहेको थियो । यस समस्याको समाधान गर्न उहाँले देशको सम्पूर्ण भूभागमा नेपाली मुद्रा मात्र चलनचल्तीमा ल्याउने कार्यमा ठूलो योगदान गर्नुभयो । यस कार्यलाई सम्पन्न गर्नमा उहाँले देखाउनुभएको लगन र दृढता प्रशंसनीय थियो ।
सरकारी सेवाबाट अवकाश ग्रहण गरेपछि पनि उहाँले आर्थिक विकासको क्षेत्रमा आफ्नो संलग्नता र सक्रियता कायम राखिरहनु भयो । तत्पश्चात् उहाँ अर्थमन्त्री पनि हुनुभयो । उहाँ विभिन्न सेवामूलक संस्थाहरुमा पनि संलग्न हुनुहुन्थ्यो ।
समग्ररुपमा, उहाँ एक विशिष्ट र कुशल प्रशासक मात्र होइन एक असल व्यक्ति पनि हुनुहुन्थ्यो, जसको आवश्यकता आज देशमा टड्कारोरुपमा देखापरेको छ । ‘उहाँको निधनबाट मित्रहरुलाई ठूलो दुखः र देशलाई अपूरणीय क्षति पुगेको छ । हार्दिक श्रद्धाञ्जली ।
(प्रस्तुत लेख उहाँको निधन अगाडि प्राप्त भएको हो ।)
धेरै पाठ सिक्न सकिने व्यक्तित्व
कृष्णप्रसाद भण्डारी
वरिष्ठ अधिवक्ता
राष्ट्र निर्माणमा श्रमिकको ठूलो भूमिका हुन्छ भने सो भूमिकाको गोरेटो देशभक्त र विद्वानहरुले कोरेको हुन्छ। तर दुर्भाग्य हाम्रो राष्ट्रमा देशभक्तहरु र विद्वानहरुलाई ओझेल पारियो । आज राष्ट्र अधोगतितिर पुगिरहेको छ । राष्ट्रमा श्रमिक र विद्वानहरुले काम पाएका छैनन् र लाखौंको संख्यामा विदेशमा गई अन्य राष्ट्रलाई विकास गतिमा योगदान गरेको छ । जे होस्, सानो स्तरमै भएपनि प्राप्त रेमिटेन्सले राष्ट्रलाई आर्थिक गिरावटबाट बचाइरहेको छ ।
आज देखापरेको विद्वानहरुको पलायनका सन्दर्भमा पुराना कुरातर्फ लागौं । यादवप्रसाद पन्त आफ्नो युगको डाक्टरको पदबाट विभूषित व्यक्तिले विदेशमा काम नपाउने कुरा नै थिएन । समयसापेक्ष डाक्टर हुनु ठूलो मानिन्थ्यो । आज राष्ट्रमा हरेकजसो विद्वान पाएसम्म विदेशमा जाने प्रयासमा रहन्छन् र जान पाए आफूलाई गौरवान्वित भएको महसुस गर्दछन् तर पन्तजीले त्यस्तो अवसरको प्रयोग आफ्नो राष्ट्रमा गर्नुभयो । आफूसँग भएको विद्वता राष्ट्र निम्ति अर्पित गर्नुभयो । अर्थशास्त्रको विद्वान राष्ट्रमा नयाँरुपबाट आर्थिक गोरेटो कोरी इतिहासका पानामा महत्वपूर्ण स्थान प्राप्त गर्नुहुने उहाँ श्रद्धाको पात्र हुनुहुन्छ । सरकारी जागिरेदेखि अर्थमन्त्रीसम्मको कार्यविवरण हेर्दा राष्ट्रले एउटा सपूत पाएको थियो भन्नुमा अत्युक्ति नहोला ।
आजका आर्थिक निकायहरु भ्रष्टाचारमा चुर्लुम्म डुवेको भान भइरहेको छ । अर्थमन्त्रालय पाउन आजका नेताहरु अति लालायित हुन्छन् तर यादवजीको कार्यकाललाई हेर्दा धनलोलुपता तथा भ्रष्टाचारको गन्धसम्म पनि पाउन मुश्किल थियो ।
पन्त परिवार स्वयंमा धनाढ्य उसमा पनि यादवप्रसाद पन्त अति धनाढ्य परिवारमा जन्मेको कारण समेतले होला अनुचित धन लाभभन्दा प्रतिष्ठा प्राप्त गर्नमा नै बढी रुचि उत्पन्न भएको होला । आज कैयौं धनाढ्य व्यक्ति अति लोभी, माफिया र तस्कर आदिका सँगतमा छन् तर यादवजीका पालामा यस्ता अपराधी तत्वले कहिले पनि प्रश्रय पाएनन् । उच्च तहका व्यक्ति राष्ट्र र जनताप्रति वफादार भई कार्य गरेमा यस्ता अपराधिक तत्वको प्रवेश निषेध हुन्छ भन्ने कुरा यादवजीको कार्यकाललाई नियालेर हेरेमा हामी शिक्षा लिन सक्नेछौं । यस शिक्षाले राष्ट्र निर्माणमा सघाउ पुऱ्याउन सक्ने थियो ।
यादवजीले प्राप्त तथा हासिल गरेको विद्वत्तालाई कर्तव्यपालनको सिलसिलामा पूरा प्रयोग गरी राष्ट्रहितका लागि गर्नुभएकोले त्यस्ता व्यक्तिको उच्च मूल्यांकन गर्नुपर्ने हुन्छ । आज नेपालमा सरकारी पदीय दायित्व बोकेका धेरै विद्वानहरु छन् । सरकारी नाम र काम पाएसम्म काम गर्ने र कार्यबाट निवृत्त भएमा
तास र नशामा चुर्लुम्म डुब्ने खालका छन् । राजश्व खाऊ त्यसमा पनि नपुग भएमा अनेकौं अवैध कार्य गरी धनाढ्य वा सरकारी सिन्दुर पाएका धेरै छन् तर डा. यादवप्रसाद पन्तमा भ्रष्टाचार वा अन्य अवैध कार्य गरी धनोपार्जन गर्ने भावना कहिले पनि रहेन । धन र पदका लोभी कहिल्यै देखिएनन् । कैयौं उच्चपद स्वतः प्राप्त व्यक्तित्व अर्थमन्त्रीसम्म हुनुभयो । सो जवाफदेहीबाट फुर्सद पाएपछि राजनीतिमा प्रवेश गरी राष्ट्रहित र समाजसेवामा सक्रिय हुनभयो । कालिकास्थान (डिल्लीबजार स्थित सांस्कृतिकसंघको स्थापना र यसको विकासमा सहभागी हुनभयो ।
यादवप्रसादको आदर्श जीवन, स्वच्छ, इमान्दार छवि, समाजसेवी, राजनीतिज्ञ र कर्तव्यप्रति उत्तरदायित्वपूर्ण पाठबाट केही सिकौं । आखिर नेपाल हाम्रो र हाम्रो सन्तानको हो ।
असल अभिभावक
कृष्णराज पाण्डे
अध्यक्ष, रुद्रराज साहित्य सेवा समिति
राष्ट्रिय दायित्वनिर्वाहमा डा. यादवप्रसाद पन्तको ठूलो योगदान छ । मेरो यो कुरासँग सहमत नहुने सायदै हुन सक्छन् । नातामा उहाँ मेरो भिनाजु हुनुहुन्थ्यो ।
सीमित विधामा मात्र खुम्चिएर बस्नु भएन उहाँ । उहाँ अत्यन्त लगनशील हुनुहुन्थ्यो । समस्याको गहिरिएर अध्ययन गर्नुहुन्थ्यो । ठोस राय दिनुहुन्थ्यो । ठोस निर्णय गर्नुहुन्थ्यो । समयको पावन्दीको कठोरतापूर्वक पालना गर्नुहुन्थ्यो ।
२०१८ सालमा नेपालमा पहिलो पटक इकाफे अन्तर्गत सडकसम्बन्धी मिटिङ्ग उहाँकै संयोजकत्वमा भएको थियो । उहाँ अर्थसचिव हुनुहुन्थ्यो । यो पहिलो अन्तर्राष्ट्रिय बैठक थियो । नेपाली डेलिगेसनमा सडक विभागका सबैजसो इन्जिनियरहरुको सहभागिता थियो । उहाँले सबै व्यवस्था मिलाउनुभएको थियो । पूर्ण सफलताका साथ त्यो बैठक सम्पन्नभएको थियो ।
इजरायलको सोलेलवोन्हे र नेपाल सरकारको संयुक्त लगानीमा नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल खडा भएको थियो । नेपालको तर्फबाट अर्थ, कृषि र निर्माण यातायातका सचिवहरु बोर्ड अफ डाइरेक्टरमा नियुक्त भए। बोर्डको अध्यक्षमा अर्थसचिव हुनुहुन्थ्यो । सचिवहरुले बोर्डमा प्रतिनिधित्व गर्न नसक्ने अवस्थामा बैठकमा भाग लिन वैकल्पिक डाइरेक्टर तोकिएका थिए । म, कृषिसचिवको वैकल्पिकमा थिएँ । कृषिसचिवको अनुपस्थितिमा मैले बोर्डमा भाग लिएको थिएँ । इजरायलीहरुजस्ता ठेकेदारीमा खप्पिससँग हामी काँचा तथा अल्प अनुभव भएकाहरुले मिलेर काम गर्नु त्यति सजिलो थिएन । बोर्डको बैठकमा आउँदा उहाँ पूरा अध्ययन गरेर आउनुहुन्थ्यो । त्यसबेला उहाँको कार्यदक्षताको राम्रो अध्ययन गर्ने मैले मौका पाएको थिएँ ।
सबै विधामा उहाँको संलग्नता थियो । साँस्कृतिक, आर्थिक, सामाजिक, विदेश मामिला जस्ता संस्थाहरुलाई उहाँले नेतृत्व दिनुभयो । लेखकहरुको जनसाहित्यिक संघ खडा गरेर त्यसको अध्यक्ष हुनुभयो । जनविकास मासिक पत्र पनि निकाल्नुभएको थियो उहाँले । साहित्यिक मासिक पत्रिका निकाल्न समेत उहाँले भ्याउनुभयो ।
आर्को उहाँको गुण थियो – कसैलाई नचिढाउने । उहाँ दयावान् हुनुहुन्थ्यो । सबैलाई मद्दत गर्नुहुन्थ्यो ।
रुद्रराज साहित्य सेवासमितिको सुरुदेखिनै उहाँ अध्यक्ष हुनुहुन्थ्यो । आफ्नो जीवनकालको अन्त्यजस्तैसम्म उहाँले यो संस्थाका लागि गर्नुभएको योगदान विर्सिनसक्नु छ। पूर्ण व्यक्तित्वको हुनुहुन्थ्यो उहाँ।
घरायसी हिसाबले उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो । बेलाबेलामा हामीलाई सल्लाह दिनुहुन्थ्यो । उहाँको निधनबाट राष्ट्रले एक सपुत गुमाएको छ भने हामी असल अभिभावकबाट बञ्चित भएका छौं । हार्दिक श्रद्धाञ्जली ।
सादा जीवन उच्च विचार
स्व. के.बी. शाही
पूर्वमन्त्री
डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपाल वैचारिक तथा उन्नयनकारी संस्थाको रुपमा उभिएको देख्दा डा. पन्तको कृतित्वले शाश्वतताका साथै चेतनशील समाजको पनि मार्ग प्रशस्त गर्नेछ भन्ने विश्वास लिएको छु ।
दिवंगत पन्तजीको जीवन ” सादा जीवन उच्च विचार” को द्योतक नै थियो । शैक्षिक र आर्थिक क्षेत्रमा चर्चित स्व. पन्तको जीवन अन्ततः राजनीतिक अभ्यासमा टुङ्गिन पुग्यो । क्षणिक चासो र सूचक एउटाको मूर्ति भत्काउने अर्काको जोड़ने जस्ता आधुनिक नेपालका नरवर संस्कार परे उक्त प्रतिष्ठानले सफल जीवनको सन्देश दिनेछ । प्राय: पाँच दशकका छिमेकी र सहयात्री डा पन्त अजातशत्रु हुँदा हुँदै पनि डा. वाजे भन्ने सम्बोधनप्रति वितृष्णा राख्नुहुन्थ्यो । अन्यथा म पुनर्जन्ममा विश्वास गर्दिन तथापि यदि छ भने उहाँ त्यहीं सन्त समाजमा हुनुपर्ने हो । समता र श्रद्धाका साथ ।
(प्रस्तुत लेख उहाँको निधन अगाडि प्राप्त भएको हो ।
डा. पन्तका बारेमा
केदारनाथ उपाध्याय
अध्यक्ष, राष्ट्रिय मानव अधिकार आयोग ।
डा. यादवप्रसाद पन्त नेपालका अग्रणी अर्थशास्त्री हुनुहुन्थ्यो । वनारस हिन्दु विश्वविद्यालयका विद्यार्थीहरुको एउटा पुरानो फोटोमा डा. पन्तको युवावस्थाको कमलो अनुहार मेरो स्मृति पटलमा ताजै रहिरहेको छ । उहाँको अनुहारसँग धेरै अघि नै परिचित भए पनि उहाँको एउटा कृति मैले शाखा अधिकृत छँदा पढ्ने मौका पाएको थिएँ । अंग्रेजी भाषामा लेखिएको उक्त पातलो कितावबाट म अति प्रभावित भएको थिएँ ।
आकृतिवाट डा. पन्त जति सरल देखिनुहुन्थ्यो, व्यवहारमा त्यतिकै सज्जन र वोलिवचनमा मृदुभाषी । प्रशन्नचित्त भएका डा. पन्त ।
नेपालको अर्थतन्त्रमा डा. पन्तको निश्चय पनि ठूलो योगदान रहेको छ । नेपालको योजना र वजेट ब्यवस्थाको उषाकालदेखि नै विशिष्ट योगदान पुऱ्याउनुहुने डा. पन्त नेपाली बीचमात्र होइन भारत र अन्य मुलुकमा समेत विद्वान अर्थशास्त्रीको रुपमा ख्यातिप्राप्त व्यक्ति हुनुहुन्थ्यो । एउटा कर्तव्यनिष्ठ राष्ट्रसेवक देखि अर्थसचिव, अर्थमन्त्री, राजदूतलगायत विभिन्न हैसियतमा यस मुलुकले उहाँको लामो अवधिसम्म सेवा प्राप्त गरेको थियो, जो कहिल्यै विर्सने कुरा होइन ।
डा. पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानद्वारा उहाँ जस्तो चिरस्मरणीय आत्माको संस्मरणलाई संकलन गर्ने प्रयास गरेको छ । यस प्रयासवाट डा. पन्त जस्ता विशिष्ट आत्मालाई अमरत्व प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । अन्त्यमा, मलाई पनि संस्मरणको लागि स्थान दिएकोमा डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । साथै, यस प्रकाशनको उद्देश्य प्रतिष्ठानले सहजताका साथ प्राप्त गर्न सफल होओस् भन्ने मेरो शुभकामना
छ ।
