आदरणीय यादव दाजु
अंगुरबाबा जोशी
वरिष्ठ समाजसेवी
मलाई याद भएसम्म म करिब ५ / ६ बर्षकी थिएँ हुँला जव मैले यादवदाजुको पहिलो दर्शन पाएकी थिएँ । मेरो प्रातःस्मरणीय एवम् मलाई वाल्यावस्थादेखि नै मानवीय सुसंस्कारहरु भर्ने पूज्य मातापिता स्व. दीप कुमारी पन्त र स्व. पिताम्बरप्रसाद पन्त मैले थाहा पाएदेखि नै प्रत्येक बर्ष जस्तो जाडोमा आफ्नो गाउँ सिमरा रुपन्देहीबाट फर्कदा धर्म र ज्ञान नगरी काशी (हाल वाराणसी) जानु हुन्थ्यो । हामी पनि जान पाउँथ्यौं । बडो रमाइलो लाग्दथ्यो । त्यसताका हाम्रा आदरणीय बडाजिजुमुमा, ठूलोबुबा, ठूलीआमा अनि यादवदाजु पनि बनारसमा नै बस्नुभएको थियो । मलाई नै अलि अलि याद छु, यादवदाजु भरखरको केटा हुनुहुन्थ्यो, मभन्दा ५ वर्ष जेठो । उहाँ बनारसमै पढ्नुहुन्थ्यो ।
केही समयपछि बडाजिजुमुमाको स्वर्गवासपछि ठूलाबुबाहरु काठमाडौं कालिकास्थानमा आउनु भयो । हामी दशैंमा टीका लाएर आशीर्वाद लिन जान्थ्यौं ।
विक्रम सम्बत २००० सालमा मेरो एघार बर्षको उमेरमा वान्ह वर्ष पुग्नुभएका आदरणीय एवम् प्रेरणाका स्रोत स्व. प्रा. डा. बलराम जोशीसँग मेरो विवाह सम्पन्न भयो । मेरो विवाहको केही दिनपछि यादवदाजुको १८ वर्षको उमेरमा प्रसिद्ध शिक्षासेवी, साहित्यकार एवं आध्यात्मिक व्यक्तित्व स्व. रुद्रराज पाण्डेज्यूकी सुपुत्री रमा पाण्डेसँग शुभविवाह भयो । मलाई झल्झली याद छ, त्यति बेला यादवदाजुलाई जिस्क्याउँदा लजाउनु भएको । त्यति बेला वडो लाज मान्ने चलन थियो ।
पछि २००३ (१९४८) मा हामी दम्पतीले एकै साथ म्याट्रिक (एस.एल.सी) पास गयौं । मलाई छोरी मान्छे भनेर एउटै मात्र त्रिचन्द्र कलेजले भर्ना नै लिएन । दुलाहासँगसँगै विज्ञान पढ्ने मेरो सपना चकनाचूर भयो । म “प्राइभेट” आई. ए. दिने भनेर घरमा नै पढ्न थालें । अरु गुरुहरु त घरैमा आउने गरी मिलाइएको थियो । तर समाजशास्त्रमा १०० नम्बरको अर्थशास्त्र र १०० नम्बरको राजनीतिशास्त्र क्रमशः नेपालका अर्थशास्त्रमा सर्वप्रथम एम.ए. गर्ने स्व. कुलनाथ लोहनी (मेरा आदरणीय सासूज्यूको माननीय दाजु) कहाँ हप्तामा दुई पटक पढ्न जाने गर्थे । यादवदाजुकहाँ गएको बेलामा म भाउजुलाई श्रृङ्गार गर्ने पनि गर्थे र यादवदाजुलाई जिस्क्याउँदै भाउजुलाई लिएर जान्थें । दुवै जना लजाएको मलाई प्रष्ट याद छ । यादवदाजु त्रिचन्द्र कलेजमा पढाउनु हुन्थ्यो । उहाँ सारै राम्रो पढाउने प्राध्यापकममा गनिनुभएको थियो । यसरी यादवदाजु मेरा दाजु मात्र होइन मेरा आदरणीय गुरु पनि हुनुहुन्थ्यो । उहाँको माया र मद्दतप्रति म सदा ऋणी छु ।
त्यसताका यादवदाजु मेरा बुबा कहाँ डिल्लीवजारमा पनि कहिलेकाहिँ आउनु हुन्थ्यो । मेरा बुबा सँगीतज्ञ हुनुहुन्थ्यो । सितार हार्विन दुवै बजाउनुहुन्थ्यो । म करिब बर्षको हुँदादेखिनै बुबाको काखमा बसेर हार्विन बजाउन सिकेको याद छ । साथै भजनहरु, संस्कृतका श्लोकहरु हार्बिन वजाएर गाउनुहुन्थ्यो । कहिलेकाहिँ त्यतिबेलाका लोकप्रिय फिल्मी गानाहरु पनि गाउनुहुन्थ्यो । यस्तै कार्यक्रममा बुबा हार्विन बजाउने, अनि यादवदाजु गाना गाउने पनि गर्नुहुन्थ्यो । मलाई याद छ यादवदाजुले मस्त भएर गाएको, “हमको है प्यारी हमारी गलीयाँ, हमारी गलीयाँ” भन्ने गीत ।
यादवदाजु सारै मेहनती, अध्ययनशील र दक्ष हुनुहुन्थ्यो । विस्तारै उहाँ नेपाली समाज र सरकारमा निकै प्रशंसित हुँदै विभिन्न खुडकिलाहरु उक्लदै नेपालको पहिलो विद्यावारिधि गर्ने व्यक्ति एवम् प्रशासनिक, कूटनीतिक एवम् समाजसेवामा समेत गरी बहुआयामिक व्यक्तित्वका धनी डा. यादवप्रसाद पन्त हुन पुग्नुभयो । विभिन्न उच्च ओहदामा रहेर आफ्नो क्षमता, कार्यकुशलता, निर्देशनक्षमता, विद्वत्ता एवम् उच्च व्यक्तित्वको परिचय दिनुभयो । नेपाल सरकारको प्रमुख आर्थिक सल्लाहकार, राष्ट्रिय योजना आयोगको सदस्य, आर्थिक आयोग, पे कमिशन एवम् इकोनोमिक कमिसनको अध्यक्ष हुनुका साथै नेपाल औद्योगिक विकास निगम, राष्ट्रिय वाणिज्य बैंक, नेपाल आयल निगम जस्ता महत्वपूर्ण संस्थाहरुको स्थापना एवम् संचालनमा प्रशंसनीय योगदान दिनुका साथै एसियाली विकास बैंक (ADB), अन्तर्राष्ट्रिय मुद्रा कोष (IM), संयुक्त राष्ट्र संघ (UNO) जस्ता विभिन्न उच्चस्तरीय अन्तर्राष्ट्रिय निकायहरुमा पनि उहाँको प्रशंसनीय सहभागिता रहयो । अर्थसचिव, अर्थमन्त्री नेपाल राष्ट्र बैंकको गभर्नर, जापानका लागि नेपाली राजदूत जस्ता अत्यन्त जिम्मेवारीपूर्ण पदहरुको कुशलतापूर्वक नेतृत्व गर्नुभयो । त्यती व्यस्त हुँदाहुँदै पनि २० भन्दा बढी पुस्तक एवम् सयौं लेखहरु प्रकाशित गर्नुभयो । यसरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक एवम् मौद्रिक क्षेत्रमा विशिष्ट योगदान पुयाउने सक्रिय सुप्रतिष्ठित नेपाली अर्थशास्त्रीको रुपमा यादवदाजुलाई पाउँदा हामी गौरवान्वित हुन्थ्यौं ।
आदरणीय यादवदाजु समाजसेवी पनि हुनुहुन्थ्यो । नेपाल रेडक्रस सोसाइटी, लायन्सक्लब इन्टरनेसनल, नेपाल जापान मैत्री एवं साँस्कृतिक संघ, संयुक्त राष्ट्रसंघ नेपाल एवं नेपाल सांस्कृतिक संघ जस्ता महत्वपूर्ण संस्थाहरुमा अध्यक्ष, सदस्य एवं सल्लाहकार रहेर धेरै वर्षसम्म ठूलो योगदान पुऱ्याउनुभएको थियो ।
समयका साथै यादवदाजुसँगको हाम्रो सान्निध्य क्रमशः बढ्दै गयो । पछि त प्रत्येक बडा दशैंको उपलक्ष्यमा हाम्रो सारा पन्तपरिवारको टिकालाउने र सामूहिक भोज खाने उहाँकै निवासस्थान कालिकास्थानमा हुने गर्थ्यो । सारै रमाइलो हुन्थ्यो । तिहारमा यादवदाजु अरु भाइहरु जस्तै हामी छोरीवेटीको घरमा आउनुहुन्थ्यो । अनि जनै पूर्णिमाको दिन सुभद्राले आफ्ना दाजुहरु कृष्ण र वलभद्रलाई राखी बाँधेर शुभकामना दिएको दिनको महत्व म वनारसमा पढ्दा बुझेकीले मैले सबभन्दा पहिले सुरु गरेँ र पछि बैनी लिच्चीले पनि गर्न थालीन । राखीको दिन हामी दिदी बहिनीहरु प्रत्येकवर्ष क्रमैसँग यादवदाजु, ठूलोभाई कुमुदप्रसाद पन्त र सानोभाइ स्व. कृष्णप्रसाद पन्त (वरिष्ठ अधिवक्ता) को घरमा जाने गथ्यौँ । सारै रमाइलो हुन्थ्यो । चारजना दाजुभाइमा अव दुईजनाको स्वर्गवास भएपछि हाम्रो तिहार र राखी दुवै बुच्चो हुन पुगेको छ। के गर्नु, यो संसारमा सबै सहनै पर्ने रहेछ। “जाहे विधि राखे राम, माहे विधि रहिये”, यही त यो संसारको नियम छ ।
ठूलाबुबाको एकमात्र सन्तान यादवदाजु पितृभक्त तथा अत्यन्त माया गर्ने पति हुनुहुन्थ्यो, दाजुभाउजुको गृहस्थ जीवन अत्यन्त सुखी, शान्ति एवं आनन्दमय थियो । उहाँ एक योग्य पिता हुनुहुन्थ्यो । उहाँकी छोरी मेरी सौभाग्यवती भदै मीरा, चिरंजीवी छोराहरु गिरिश, भुवनेश र राधेश सबकासब सुशिक्षित एवं सुप्रतिष्ठित छन् । भाउजूको कुशल मातृत्वका साथै यादवदाजुको सही मार्गदर्शन र सुविख्यात सुब्बा ताराप्रसाद पन्त जस्ता पिता पुर्खाका धर्मको प्रतिफल हो भन्नु अत्युक्ति हुने छैन । २०६४ साल वैशाख १ गते नयाँ वर्षको आशीर्वाद दिन भनेर हामी सबै भाइबहिनीहरुको घरमा यादवदाजु स्वयं एक एकवट्टा मिठाइ लिएर आउनुभएको थियो । हामी सबैका लागि यो स्नेह र आत्मीय क्षण सारै अविस्मरणीय हुन पुगेको छ । यस्ता अत्यन्त स्नेही र सुप्रतिष्ठित व्यक्तित्व यादवदाजुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आदरणीय भाउजूमा सादर प्रणाम र सबै भदै, भदाहरुमा शुभाशीर्वादसहित मेरो पुष्पाञ्जली ।
अन्त्यमा, “डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान, नेपाल” को पतिभक्ति एवं पितृभक्तिको सुन्दर नमूना हुन पुगेको छ । मलाई विश्वास छ, यो प्रतिष्ठानले आफ्नो उद्देश्य अनुरुप यादवदाजुको कीर्तिलाई फैलाउन र राष्ट्रको विकासगर्न धेरै योगदान पुऱ्याउने छ ।
डा. यादवप्रसाद पन्तसँग भेट्दा
अच्युतरमण अधिकारी
प्राध्यापक तथा साहित्यकार
समय निर्धारण समयले नै गर्छ । समय शाश्वत हो, जीवन माध्यम हो । कर्मरेखा जीवनको समयलाई प्रयोग गर्ने र देखाउने माध्यम हो । मान्छेको जीवन त आउँछ जान्छ त्यसमा आश्चर्य मान्ने कुरो पनि छैन । कसैले कर्म गयो, अस्तित्व निर्माण गयो भने पछिसम्मका सर्वसाधारणलाई परिचय दिन पाइन्छ । सुनियोजित, संरक्षित भई निश्चित अस्तित्व रेखामा आएर सही परिचय दिने विस्तृत भूमि राष्ट्र हो । राष्ट्ररेखा भित्रको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक र शिक्षालगायत विविध विषयमा आ-आफ्नै किसिमले भूमिका निर्धारण गरी त्यसैमा अस्तित्व निर्माण गरेका केही व्यक्ति हुन्छन् । तिनै र त्यस्तै अस्तित्व भएका व्यक्तिको निर्देशन, सहयोग र सल्लाहमा सम्बन्धित विषयको राष्ट्रिय नीति संचालित हुन्छ । अर्थविज्ञ या अर्थविद् डा. यादवप्रसाद पन्तको पनि यस विषयमा निकै महत्वपूर्ण भूमिका देखा परेको छ । आफू अर्थविद् तर साहित्यिक विषयमा समेत प्रशस्त चासो भएका डा. पन्तलाई मैले कस्तो रुपमा देखें त्यो यथार्थ यस्तो छ:-
मेरा परिचय साहित्यिक यात्राकै सन्दर्भमा भएको हो । हामी साहित्यिक पत्रकारसंघको कार्यमा अत्यन्त सक्रिय भई कार्य गर्दा धेरै जिम्मेवार मानिससँग परिचित भयौं । परिचयको त्यो समय आज धेरै महत्वपूर्ण लाग्न थाल्यो । हो, देश, काल, परिस्थिति सबै कुरालाई हेर्दा, विचार गर्दा त्यो परम्परागत कायर मनोविज्ञान र पुरानु दासतापूर्ण मनोवृत्तिमा त्यति फरक आएको जस्तो लागेन । तर जनचेतनामा फरक थियो, बौद्धिक जनशक्ति प्रशस्त बढेको थियो । अर्थविद्, अर्थविशेषज्ञ डा. यादवप्रसाद पन्तले दिएका योगदानको यथार्थ पनि राम्रैसँग थाहा भएको थियो । सभ्य सम्पन्नता पारिवारिक र परम्परागत संस्कारै भइसकेको थियो । अर्थबारेको प्रवीणता नै अर्थनीतिमा नवीनता दिने प्रमाण हो र त्यसैका आधारमा डा. पन्तले पनि नवीनतामा अवश्यै जोड दिए । तर जति नै जोड दिए पनि तत्कालको परिस्थितिलाई मिलाई, चलाई काम गर्नैपर्थ्यो । त्यसैले श्री ५ को सरकारका जुनसुकै पदमा जिम्मेवारी लिए पनि डा. पन्तले जानेको, सकेको काम गर्न र गराउन सके सकेनन् यसै भन्न सकिएन । तर तत्कालको अर्थनीतिमा निकै परिवर्तन भने आएको थियो ।
अर्थबारेका अर्थोक कुरा म जान्दिन, अर्थबारे अरु विशेष थाहा छैन । थाह छ केवल मानव स्वभाव । मानव प्रकृति मानवीय संस्कृतिको प्रबल पहिचान हो । प्रकृतिले नै संस्कृति प्रदर्शन गरिरहेको हुन्छ । कुनै जल्छ कुनै फुल्छ प्रसङ्ग उठाउनासाथ थाहा हुन्छ । तर पछिका मानिसलाई खोतलेर, कोट्याएर अघिको इतिहास जानिराख्नु पनि प्रसङ्ग परिचयको एक राम्रो र गहन प्रमाण हुन सक्तछ । जहाँ संस्कारको भन्सार छैन त्यहाँ कर्मको पुरस्कार पनि प्राप्त हुँदैन । कर्म र कर्तव्यको तल्लीनता सही उद्देश्यको संलग्नता रह्यो भने जीवनले केही गर्छ । जीवन – जीवनका प्रसङ्ग सही सामाजिक वा सार्वजनिक काम र कर्तव्यमा क्रियाशील भए राष्ट्रिय विकासको मार्ग नै विकास प्रकृतिको विनाश विकृतिको पुरस्कार हो आज उभिएर हिजोलाई हेर्नु इतिहास हेर्नु हो तर इतिहासभित्रका विकृतिलाई परिस्कृत गर्ने संस्कृति बनेन भने पछि पनि हस्स पर्छ ।
प्रसङ्ग डा. यादवप्रसाद पन्तकै हो मैले पढेको इतिहास र मैले जानेका इतिहासका कुरा सरदार रुद्रराज पाण्डेका वाक्शक्तिले दिएको शिक्षा हो प्रसन एकातिर कुरो अर्कोतिर नसम्झियोस, कुराको चुरो अर्कै छ । त्यस बेलाका प्रबल मन्त्री डा. यादवप्रसाद भनेका सरदार बाजे अथवा रुद्रराज पाण्डेका आफ्नै ज्वाई थिए । सरदार बाजेको तत्कालीन बसाइ पनि कालिकास्थान नेरै थियो । विहान बेलुकाको समय मिलाई पुराना अनुभवी मानिसलाई भेटी पुराना कुरा सुन्ने, इतिहास खोतल्ने चाहना मलाई खुबै थियो तर जीवन निर्वाहका लागि गर्नुपर्ने काम र कर्तव्य मिलाई समय निकाली बिहान बेलुका गएर भेटघाट गर्ने कुरा सुन्ने गर्दथें । साहित्य आफूले कलम चलाउने समेत विषय भयो, इतिहास सन्दर्भ भयो । कुन र कस्ता सन्दर्भमा कस्ता काम भए भनेर प्रश्न राखी मज्जाले सुन्दथें पनि । त्यसैबखत “शारदा” प्रकाशनको प्रसङ्गका कुरा पनि चले । शारदा प्रकाशन बारेका कुरा मैले राम्ररी सुनें र साहित्यिक सन्दर्भमा काम गर्ने प्रेरणा पनि राम्ररी नै प्राप्त गरें ।
यसै सन्दर्भमा सरदार भीमबहादुर पाँडे, केशरबहादुर के.सी., विनोदप्रसाद धितालहरु जस्ता ऐतिहासिक महत्व भएका प्रतिभाहरुसँग पनि परिचय हुँदै गयो । त्यसबेला रुद्रराज पाण्डेका बारेमा एउटा स्मृतिग्रन्थ निकाल्ने उत्सुकता बढेको थियो । पुराना अनुभवी मानिसबाट लेख्न लगाई संग्रह गरी प्रकाशनमा ल्याउँदा निकै महत्वपूर्ण राष्ट्रिय प्रतिभाहरुका विचार समेटिएको कृति नेपाली साहित्यमा आउने भो भन्ने आश पनि थियो । आर्थिक सन्दर्भमा जिम्मा लिन र सहयोग जुटाइदिन मैले डा. यादवप्रसाद पन्तसँग बारम्बार अनुरोध गरें तर खासै जवाफ पाइन । साहित्यसाधक रुद्रराज पाण्डेका बारेमा एउटा विशेष ग्रन्थ प्रकाशनमा ल्याउनका लागि पनि मैले अनुरोध गरेथें तर त्यसबेला यसतर्फ सोच्ने कुरा देखिएन। मेरो आशय अर्थपक्षको जिम्मेवारी लिइदिनका लागि थियो । सत्ताको सन्दर्भमा भएको उत्तरदायित्वले गर्दा त्यस बेला मेरो अनुरोधप्रति डा पन्तलाई त्यति वास्ता भएन क्यारे । पछि रुद्रराज सेवा समितिको अध्यक्ष भएपछि हामीले लेखकहरुसँग ल्याएका संस्मरणहरुको एक विशेषाङ्क “उन्नयन” बाट प्रकाशित गरौं भन्ने आशय प्रकट गरेको कुरा मलाई याद छ ।
सम्बन्धित विषयको उत्तरदायित्वले अरु विषयमा व्यवधान पनि खडा गर्न सक्तछ र आफैंमा आएको उत्तरदायित्वले त्यसै कुरालाई सम्झाउँदो पनि रहेछ । मैले डा. पन्तको त्यो भनाइलाई आज पनि ताजासँग संझिरहेको छु । त्यसै कुरालाई लिएर मैले शिव रेग्मीसँग सल्लाह गरें । रेग्मीजीको भनाइअनुसार अरु व्यक्तित्वका तुलनामा सरदार बाजेको बारेमा निस्केको विशेषाङ्क सानो हुनुले एक प्रकारको पक्षपात हुने देखिने भयो । तसर्थ यस विषयमा राम्ररी सोचेर काम गर्नु मात्र उपयुक्त हुन्छ । यसबारेमा मैले पनि सोचें हतारै गर्नु पनि ठीक होइन । त्यसपछि सो गति अघि बढ्न सकेन । आखिर यस बारेमा व्यवस्था मिलाउँदा मिलाउँदै डा. पन्तको पनि देहावसान नइगयो । आज हामी कार्यरत छौं, प्रयास गर्दैछौं त्यो स्मृतिग्रन्थ प्रकाशन गर्नका लागि । अब कहिलेसम्म पूरा हुने हो थाहा छैन । तर त्यो प्रयास जारी छ । वास्तवमा सम्बन्धित विषयका, त्यस सन्दर्भका व्यक्तिहरुले संसार छाडेर जानथाले पछि संस्मरण लेख्ने मानिसको पनि निकै अभाव हुँदो रहेछ । सबैभन्दा सजिलो लेखकसँग, सबैभन्दा अप्ठयारो पनि लेखकसँग । यो पनि गम्भीर कुरा हो ।
यसो विचार गर्दा आज ती कति शैक्षिक महत्व भएका व्यक्तिहरु गए विदा भए। ती पुराना गए यी नयाँ आए । नयाँ हुर्किरहेछन् चेतना फर्किरहेछ । हिजोको संसारमा आज कति फरक पन्यो भोलिको चेतनामा कति फरक आउला यसै भन्न सकिन्न । समय- सन्दर्भमा आएका मानिसमा तत्कालको सन्दर्भ स्मरणीय हुन्छ । कस्को कुन ठाउँमा कस्तो र कति महत्व हुन्छ त्यो पनि यही इतिहासले प्रदर्शन गरेकै हुन्छ। समयका सन्दर्भमा आएका, देखिएका एवं प्रबल अर्थविद् डा. पन्त अब फेरि नआएपनि भोलिका सन्दर्भमा देखिने केही महत्वपूर्ण पक्ष अविस्मरणीय रहने कुरा प्रष्टनै छ । हामी हाम्रो सन्दर्भ चलाउँछौ र खेलाउँछौं तर वास्तविक रहस्य बुझ्दैनौं । हरेक विषयमा सम्बन्धित जिम्मेवार व्यक्तिहरु विकसित हुँदै महत्वपूर्ण योगदान दिइरहेका हुन्छन् । यो यथार्थ अर्थविद डा. पन्तले पनि देखाएका छन् । हाम्रा देशको इतिहासमा डा. पन्तहरु जस्ता व्यक्ति पनि प्रशस्तै भए, गए तर यथार्थ इतिहासको रेखा राम्ररी तयार भने भएको छैन । आज हामी डा. पन्त जस्ता सज्जनलाई सम्झन्छौं र केवल समवेदना प्रकट गर्दछौं । अस्तु ।
सबैका पथप्रदर्शक
अच्युतबल्लभ पन्त
कार्यकारी अध्यक्ष, शुभलक्ष्मी फाइनान्स लि.
मलाई राम्रो लाग्ने व्यक्ति मलाई मन परेकोले मलाई राम्रो लाग्छ तर सबैले मन पराउने व्यक्ति हुनु र पाउनु ज्यादै दुर्लभ हुन्छ । सबैले मन पराउने स्वभाव हुनु एउटा ठूलो गुण हो । अझ भनु, मलाई राम्रो लाग्नु एउटा कुरा सबैका नजरमा असल व्यक्तिको रुपमा आफ्नो अस्तित्व बनाउन सफल हुनु अर्को कुरा । जुन कुरा मेरा मामा हुनुभएकोले मात्रै हैन सबैका पथप्रदर्शक र हितकारी असल व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो डा. यादवप्रसाद पन्त ।
डा. यादवप्रसाद पन्तको नेपालमा आर्थिक क्षेत्रमा ठूलो योगदान रहेको छ, साथै सामाजिक, राजनीतिक, धार्मिकक्षेत्रमा पनि उहाँको उत्तिकै योगदान रहेको कुरा सबैलाई अवगत छ। अत म त्यस्ता विषयको जानकारी गराउनुको वदलामा उहाँमा रहेका नितान्त व्यक्तिगत गुण र स्वभावबारे आफूलाई जानकारी भएका केही घटनाहरु यहाँ प्रस्तुत गर्दछु।
मामाले आफ्नो बी. ए. को परीक्षा पटना विश्वविद्यालयबाट दिनु भएको हो । सो समयमा बी. ए. को वार्षिक परीक्षा दिन पटना जानुपर्थ्यो । मामाको परिवार चोखो र विटुलोमा ज्यादै नै ध्यान दिने भएकोले मामालाई मेरो बुबाको रेखदेखमा पटनामा परीक्षा दिन पठाउँदा उहाँहरुको साथमा मामाका घनिष्ट मित्र र छिमेकी त्रैलेक्यनाथ उप्रेती पनि परीक्षा दिन साथै जानुभएको थियो । म पनि साथै गएको थिएँ । हामीलाई पटनामा बिहान बेलुका भात पकाएर खुवाउनका लागि एक ब्राम्हण पनि साथै लगिएको थियो । परीक्षा दिएर सकियो अनि सकिएको दिन रमाइलो गर्ने भनेर त्रैलोक्यनाथ उप्रेतीले मामाको गिलासमा गोलभेडा डुवाएर राखिदिनुभएको थियो । ब्राम्हण परिवारमा त्यतिखेर गोलभेडा विटुलो मानिन्थ्यो । सवैजना खाना खान बसेपछि गिलासमा गोलभेडा देखेर मामालगायत सबैजनाले गोलभेडा कसले हाल्यो भनेर खैलावैला मच्चियो । त्यसपछि सबैले मलाई शंका गर्न थाले । मैले गोलभेंडा हालेको भनेर मेरो बुबा मदेखि ज्यादै रिसाउनु भयो । त्यो देखेर मामाले त्यो गोलभेंडालाई चम्चाले झिकेर भान्छाको तल फालिदिनुभयो र “ल अव सबैथोक चोखो भयो” भनेर हाँसी रमाइलो गरी सबैले खाना खाएको अहिलेसम्म पनि म झलझली सम्झिरहेको छु ।
मेरो बाल्यकाल यस बुढा मावलीमा बितेको हो र मेरो दश कक्षासम्मको शिक्षा वनारसमा उहाँहरुकै सामिप्यमा बसेर पूरा भएको हो । मामाको रेखदेखमा मैले बाल्यकालमा विद्या आर्जन गरेको हुँ । उहाँ ज्यादै नै रमाइलो गर्नु पर्ने र समय समयमा ठट्याउला कुरा पनि गर्ने र आफ्नो पारिवारिक आयस्रोतका विषयमा पनि रुचि राखी रेखदेख गर्ने स्वभावको हुनुहुन्थ्यो । उहाँ सबैले मन पराउने स्वभावका हुनुमा एक सानो घटना सान्र्दभिक देख्छु, जुन यस्तो छ ।
उहाँ त्रिचन्द्र कलेजमा भारतीय अर्थशास्त्र विषय पढाउनुहुन्थ्यो जुन मैले पनि आए. ए. मा पढेको हुँ र मेरो बाल्यकालमा भरणपोषण गरेझैँ शिक्षाआर्जनमा पनि उहाँको देन छ । मैले बी. ए. को परीक्षापछि तत्कालीन यू. एस. एडमा सात वर्ष काम गरेपछि २०२३ सालमा राष्ट्रिय वाणिज्य बैंकमा जागिर खाएको हुँ । त्यतिबेला उहाँ नेपालको प्रशासनिक क्षेत्रमा जल्दो बल्दो व्यक्ती हुनुहुन्थ्यो । चाहेमा जे श गर्न सक्ने, गराउन सक्ने क्षमता उहाँमा थियो । मैले उहाँको ओहदाको प्रत्यक्ष वा अप्रत्यक्ष फाइदा केही पनि लिइँन । लिन चाहिनँ । साथै उहाँ पनि सोबारे कट्टरनै हुनुहुन्थ्यो । अहिले यस्तो लाग्छ मैले भनेको भए पनि सायद मलाई नै सम्झाउनुहुन्थ्यो । त्यस विषयमा म पनि सकेसम्म भनसुन गर्नभन्दा आफ्नै योग्यता र क्षमतामा विश्वास गर्थे । म पनि पन्त थरको भएको हुँदा दोस्रो पक्षले मलाई हेप्न वा दुष्ट्याइँ गर्न चाँही सक्दैनथे । बैंकमा मुख्य अधिकृतको आन्तरिक लिखित परीक्षामा पास भए तापनि अर्न्तवार्तामा सफल हुन नसकेबाट बढुवा भएन । यो कुरा मामाले पछि थाहा पाउनु भएछ । त्यस सन्दर्भमा उहाँले “तिम्रो बढुवा अन्तर्वार्ता रहेछ पुण्य केशरीजी (उक्त समयमा उहाँ रा. वा. बैंकको जी एम हुनुहुन्थ्यो) लाई भान्जाको लागि हेरीदेउ भन्न मिलन भनी भन्नु भएको थियो । यसबाट उहाँ कुनै नातावाद र कृपावाद जस्ता व्यापक चलन चल्तीमा रहेको वादहरुबाट निकै टाढा हुनुहुन्थ्यो भन्ने पुष्टि हुन्छ । यसैले उहाँ कुनै एक व्यक्तिका लागि मात्र नभै सबैका साझा हितकारी स्वभावका हुनुभएकोले नै उहाँलाई मैले मात्र हैन सबैले मन पराएका हुन् भन्ने मेरो विश्वास छ ।
उहाँसँग मेरो ज्यादै नै मायालु र श्रद्धालु सम्बन्ध थियो । उहाँबाट आफ्नोबारे समय समयमा म उहाँ भन्दा १३ वर्षले कान्छो भए तापनि मलाई सविस्तार सबै कुरा भन्ने र चिठ्ठीमा पनि लेखि पठाउनुहुन्थ्यो । २०१४ सालमा इकाफे बैंककमा जागिर खाँदा वा २०३१ सालमा जापानमा राजदूत हुँदा समेत आफूले गरेका र लागेका कुराहरु मलाई पत्रमार्फत थाहा दिन रमाइलो मान्नुहुन्थ्यो ।
डा. यादवप्रसाद पन्त जस्ता स्वच्छ, निष्पक्ष र दुरदर्शी दृष्टिकोण भएका व्यक्तिहरुको नेपालमा सधैं अभाव खड्किरहनेछ । तथापि अव हुने नयाँ नेपालमा उहाँ जस्ता व्यक्तिहरु पाउन सके नयाँ नेपाल वनाउन अझै बल मिल्ने थियो भन्ने विषयमा कसैको दुईमत नहोला ।
अन्तमा, उहाँले देखाउनु भएको बाटोमा हामी सबै अगाडि बढ्नसकेमा मात्र उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने थियो । हार्दिक श्रद्धाञ्जली ।
प्रतिभाशाली व्यक्तित्व
अर्जुनबहादुर प्रधान
राजनीतिज्ञ
पूर्वमन्त्री डा. यादवप्रसाद पन्त प्रतिभाशाली व्यक्तित्व हुनुहुन्थ्यो । पुर्वराज्य संचालनकालीन अवस्थामा विभिन्न पदमा रही देश जनताको सेवामा समर्पित हुनुहुन्थ्यो ।
लुम्बिनी चिनी कारखाना, गैंडाकोट कागज कार खाना, पाल्ही बहुमुखी क्याम्पसको स्थापनामा उहाँको सर्वपक्षीय गहन आर्थिक योगदान, अन्य सैंकडौं मा. वि., नि.मा.वि., प्रा.वि., विद्युत, सडक, सिंचाइ स्वास्थ्य तथा कैयौं धार्मिक मठमन्दिर, मस्जिद निर्माणमा उहाँको सहयोग सदैव नवलपरासी जिल्लाका जनतामा चिरस्मरणीय रहनेछ ।
” हिमाल, पहाड, तराई का
हामी सवै एक नेपाली”
को नारा दिने व्यक्तित्वलाई अब हामीले गुमाएका छौं । उहाँको सम्झनामा यै नारालाई सार्थक वनाइ अगाडि बढौं । यसैमा नेपालको समुन्नत निर्भर हुनेछ ।
उहाँको दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली दिदैं चिर शान्तिको कामना गर्दछु । उहाँको नाममा स्थापित प्रतिष्ठानको उत्तरो तर प्रगति तथा स्मारिकाको सफलताको कामना ।
उदाहरणीय व्यक्तित्व
अर्जुननरसिंह के.सी.
राजनीतिज्ञ / पूर्वमन्त्री
डा. यादवप्रसाद पन्त नेपालको प्राज्ञिक, समाजिक, कूटनीतिक र राजनीतिक सेवाका क्षेत्रमा श्रद्धाको अविस्मरणीय नाम हो । यो अनेक कीर्तिमान बनाएको लब्धप्रतिष्ठित व्यक्तित्वको पहिचान हो । यस्ता व्यक्तित्व कुनै पक्ष, वर्ग वा समुदाय विशेषका होइन, सिँगो राष्ट्र एवम् समाजका निधि हुन्छन् । कृतज्ञ समाजले उनीहरुका उच्च विचार, गहकिला योगदान र सत्प्रयासहरुलाई सदैव हृदयंगम् गरिरहन्छ । कुनैपनि जीवित र सृजनशील समाजमा उनीहरुका चित्र होइन चरित्र, अनुकरणीय रुपमा अमर रहेको हन्छ । देह नश्वर हन्छ तर उच्च विचार र कीर्ति बाँचेकाहरुसँग जीवित भइरहेको हुन्छ कीर्तियस्य स : जीवित ।
कात्तिक २८ गते (२०६४ साल), तिहार भर्खर सकिएको थियो, म काठमाडौँ बाहिर थिएँ । अनायास कतैबाट मैले थाहा पाएँ, थाइल्यान्डको प्रसिद्ध वुमुङ्ग्राद अस्पतालमा उपचार हुदाँहुदै उहाँको दुःखद निधन भयो । यो खबर पत्याउन नसकेर मैले तत्काल २-४ ठाउँमा सम्पर्क गरेर बुझें, खबर सत्य पाएपछि संसार को यस नियमित आकस्मिकतालाई उहाँका सन्दर्भमा पनि पत्याउन करै लाग्यो । तर पनि मलाई उहाँको निधन भइसक्यो भन्ने कुरा अझै भ्रमजस्तो लागिरहेको छ । एउटा बहुआयामिक, प्रबुद्ध, शालीन र भद्र व्यक्तित्व, देशले अपूरणीय क्षतिका रुपमा गुमाएको कति चाँडै दुई वर्ष पुगिसकेछ ।
मलाई यकीन छ, उहाँसँग मेरो जानपहिचान जनमत सँग्रहपछि तत्कालीन व्यवस्थापिका राष्ट्रिय पञ्चायतमा भएको हो, तर जहिले हामीहरुबीच परिचय भयो त्यसपछि सधैंभरि घनिष्ठता रहिरह्यो, पारिवारिक रुपको एउटा दाजुजस्तो । उहाँसँग कुनैबेला एकसाथ काम गर्ने मौका पाएको र मैले एउटा प्रबुद्ध व्यक्तित्वको कदर गरेको आधारमा उहाँसँग मेरो हेलमेल र आत्मीयता बढेको थियो । उहाँ युवा पुस्ताको शक्ति र सामर्थ्यप्रति अगाध आस्था राख्ने र परिवर्तनमुखी राजनीतिको सहाहना तथा कदर गर्ने व्यक्तित्व भएका कारण, शिक्षाको मुख देखेको एउटा युवा राजनीतिज्ञको हैसियतले मेरो उहाँप्रति निःस्वार्थ तथा स्वाभाविक आकर्षण भयो ।
विकासोन्मुख देशमा उद्योग स्थापनाका लागि उपयुक्त स्थानबारे शोध विषयका साथ २००९ सालमै पीएच्. डी. गर्ने पहिलो नेपालीको रेकर्ड उहाँले स्थापित गर्नुभएको थियो । नेपालका ज्येष्ठ तथा प्रख्यात अर्थशास्त्रीको लघुसूचीमा समेत उहाँको नाम सवैभन्दा माथि थियो । जडसूत्रवादी अव्यावहारिक ज्ञान वा बुद्धिविलास गर्ने शास्त्रीय विद्वान होइन, व्यावहारिक जीवनमा लागु हुने वैज्ञानिक विचार भएका अर्थशास्त्री हुनुहुन्थ्यो उहाँ । नेपालको जनसंख्या स्थिति र यसका प्रवृत्ति, नेपालमा जनसंख्या वृद्धि र रोजगारीका अवसर, औद्योगिक केन्द्रको चयन, नेपालको दिगो विकासका निम्ति योजनाको आवश्यकता र महत्व, अन्तर्राष्ट्रिय मान्यताका आधारमा नेपालको आर्थिक विकास, नेपालको योजनाबद्ध विकासको एक दशक वित्तीय तथा मौद्रिक क्षेत्रका समस्याको विषयगत अध्ययन, बैङ्किङ् र विकास, साना मुलुकको विकासका चुनौती र समस्या, नेपालको दृष्टिकोणबाट दक्षिण एसियामा सहयोग तथा विकास, नेपाल-चीन आर्थिक सहयोग जस्ता बेग्लाबेग्लै पुस्तकहरुद्वारा नेपालको आर्थिक विकासका क्षेत्रमा बहुमूल्य ज्ञानको भण्डारै उहाँले नेपाली समाजलाई दिएर अविस्मरणीय गुण लगाइदिनुभएको छ । यी कृतिहरुमा भूपरिवेष्ठित मुलुक नेपाल कसरी विकसित तथा आत्मनिर्भर हुनसक्छ भन्ने दिशामा अनुसन्धानात्मक तथा गहन विश्लेषण पाइन्छ ।
नेपालमा कृषिको विकास (सहलेखक ), कृषि विकासको दीर्घकालीन योजना, नेपालको क्षेत्रीय आर्थिक असन्तुलन र क्षेत्रीय विकासको प्रक्रिया, ग्रामीण समस्या तथा ग्रामीण विकास जस्ता कृतिका पनि लेखक स्व. डा. पन्तले नेपालको सर्वाङ्गीण विकासको अमूर्त सपना मात्र देख्नुभएको थिएन, त्यसका लागि व्यावहारिक खाकाको मौलिक आविष्कार तथा लिपिबद्ध गर्नुभयो । विकासको गति माथिबाट होइन, तल (जनस्तर) बाट जनचाहनाका आधारमा हुनुपर्छ, निजीक्षेत्र नै दिगो विकासको संयोजक तथा संवाहक हुन्छ, तसर्थ निजीक्षेत्र सक्रिय हुने सम्पूर्ण ढोका खुला गरिदिनुपर्छ, तर निजीकरण पश्चिमी ढाँचाको अन्धानुकरण वा कार्वनप्रति हुनु पनि हुँदैन । किनकि हामीकहाँ निजीक्षेत्रमा आत्मनिर्भर तथा प्रतिस्पर्धी भएर खेल्नसक्ने शक्ति सानै छ, राज्यले संरक्षणात्मक नीति अपनाएर आर्थिक न्याय दिनुपर्ने विपन्नवर्ग वहुसंख्यक छ भन्ने उहाँको मार्गदर्शक विश्वास थियो । त्यो विश्वास केवल सुखद कल्पना थिएन, कार्यशैली र व्यवहारमा पनि देखापर्ने गर्दथ्यो ।
ग्रामिण विकासलाई सर्वाधिक प्राथमिकता दिने अर्थशास्त्री तथा योजनाकारका रुपमा पनि डा. पन्तलाई चिन्नु उचित हुन्छ । ग्रामिण विकास नभै नेपालको वास्तविक विकास संभव हुँदैन भन्ने दृढ मान्यताका अर्थशास्त्री तथा योजनाकार हुनुहुन्थ्यो उहाँ । २०१५ सालमा नेपाली काङ्ग्रेसको जननिर्वाचित सरकारको उहाँ प्रमुख आर्थिक सल्लाहकार हुनुहुन्थ्यो । त्यो सरकारले अल्पअवधिमै आर्थिक विकास एवं युगान्तकारी परिवर्तनको जुन मजबूत जग बसालेको थियो, त्यस जग निर्माणको एक सहयोगी अभियन्ता एवम् हाम्रो पुस्तासम्म त्यस जगका ऐतिहासिक कडी र साक्षी उहाँ हुनुहुन्थ्यो ।
उहाँले पञ्चायतकालमा विभिन्न जिम्मेवारीको काम गर्नुभयो, विभिन्न महत्वपूर्ण ओहोदाहरु सम्हाल्नुभयो । तर काङ्ग्रेसको सरकारले बसालेको आर्थिक क्रान्तिको जगका लागि दूरद्रष्टा नेता (प्रधानमन्त्री) वी.पी. कोइरालाले गहन विश्लेषणका आधारमा निर्णय लिनुभएको र आफू पनि सरिक भएको कारणले उहाँ त्यो शासनका आर्थिक कदमका विरुद्ध कहिल्यै विरोधको एक शब्द बोल्नुभएन । कृषिमा चौतर्फी वैज्ञानिक विकास, भूमिमा आश्रित अनावश्यक जनचापलाई अन्य व्यवसायमा स्थानान्तरण गर्नुपर्ने जस्ता मान्यताहरु उहाँले सत्तामा प्रभावकारी ढंगले प्रस्तुत गर्नुभयो । पञ्चायतले उहाँको विद्वत्ताको पूर्ण सदुपयोग गर्न सकेन, बरु उहाँको शालीनता तथा भद्रताको दुरुपयोग गर्ने धेरै चेष्टा गन्यो । सक्रिय जीवनमा जहाँसुकै रहेर काम गरे पनि प्रजातन्त्र र यसका आधारभूत मान्यता, संस्कार र विवेकबाट उहाँ कहिल्यै विमुख हुनुभएन । खासमा त्यस बखत उहाँको ध्यान राजनीतिका पक्ष वा विपक्ष, सन्धि वा विग्रहका खेलमा थिएन, मुलुकको आर्थिक विकासमा अर्थविद् तथा योजनाकारका रुपमा निष्ठायुक्त ध्यान केन्द्रित भएको देखिन्थ्यो ।
जलस्रोत, वाणिज्य, आपूर्ति, सामान्य प्रशासन र अर्थमन्त्री, प्रतिनिधिसभाको सदस्य (सांसद), योजना आयोगको सदस्य, अर्थमन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रसंघीय निकायहरुका महत्वपूर्ण पदको जिम्मेवारी, साथै जापानका लागि नेपालका राजदूत पे कमिशनको अध्यक्ष आदि र विश्वबैंक तथा अनगिन्ती राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक संघ संस्थाहरुमा बसेर उहाँले आफ्नो बौद्धिक क्षमताद्वारा योगदान पुयाइरहनु भयो । २०५८ सालमा उहाँ दोस्रोपटक नेपाल-जापान मैत्री तथा सांस्कृतिकसंघको सभापति हुँदा मैले उपसभापति भएर काम गर्ने अवसर पाएको थिएँ । त्यसबखत हाम्राबीच विचारका आदानप्रदान भइरहन्थे । बाँकी जीवन आरामका साथ बिताउनुपर्ने बेलामा पनि उहाँ मुलुकको ‘भलाइ र प्रगतिका लागि जागरुक तथा चिन्तनशील देखिनुहुन्थ्यो ।
डा. पन्तलाई राम्ररी जान्नु भनेको उहाँको कृति र कीर्तिलाई जान्नु हो । उहाँलाई मान्नु भनेको उक्त कृति र कीर्तिले आलोकित गर्ने बाटोको महत्व बुझ्नु हो । उहाँलाई अर्पण गर्ने सच्चा श्रद्धाञ्जली भनेको उहाँका अधुरा सपनालाई आ-आफ्नै स्थानबाट मुलुकको समृद्धि तथा विकासका लागि केही गरेर देखाउनु हो । यस्तो उच्च व्यक्तित्वप्रति मेरो हार्दिक श्रद्धाञ्जली ।
भावपूर्ण सम्झना
डा. अञ्जु डंगोल
अध्यक्ष, रेकी योग समाज
आजभन्दा १२ वर्ष अघि म जापानी भाषाका प्रशिक्षकको रुपमा क्रियाशिल थिएँ । यही नाताले नेपाल जापान मैत्री तथा साँस्कृतिकसंघद्वारा आयोजित नवरत्न परम्परागत चित्रकला प्रदर्शनी पाटन दरवारको सुन्दरीचोकमा उपस्थित जापानी मित्रहरुलाई साताव्यापी रुपमा गाइड गर्ने अवसर मैले पाएँ । डा. यादव प्र. पन्तसँग मेरो त्यहीं भेट भएको थियो ।
त्यस बेलादेखि त्यस संघमा आवद्ध भई विभिन्न कार्यक्रमहरुमा डा. पन्तको निर्देशनमा सक्रिय हुँदै गएँ । यसरी उहाँसँग मेरो गहिरो सम्बन्ध बढ्दै गयो ।
स्व. डा. पन्त अति मिलनसार र उच्च विचार भएको श्रद्धेय व्यक्ति हुनुहुन्थ्यो। उहाँको अभिभावकत्वमा कामगर्दा मैले एकदमै आत्मीयताको अनुभव गरेँ । नेपाली र जापानी थुप्रै उच्च व्यक्तिहरुसँग सम्बन्ध गाँसिदै पनि गयो । उहाँकै प्रेरणाबाट परम्परागत सांस्कृतिक चित्रकला प्रदर्शनी प्रतियोगितामा बर्षेनी भाग लिंदै गएँ । जापान र नेपालमा चित्रकलासम्बन्धी जापानी मित्रहरुसँग सुमधुर सम्बन्ध गाँस्दै जानुका साथै आफ्ना कलालाई प्रदर्शन गर्न पाइरहेको स्मृति आजसम्म पनि ताजै छ। उहाँकै प्रेरणाले आफूले जानेको कलालाई स्कुलका छात्र छात्रादेखि जापानी मित्रहरुसम्म पुयाउने उत्साह ममा आजसम्मपनि उत्तिकै जीवन्त छ ।
आफ्ना कलाकृतिहरु एक देशबाट अर्को देशमा पुऱ्याएर आफ्नो संस्कृतिलाई एकआपसमा साटासाट गर्ने क्रममा सन् १९९९ मा जापानमा नेपाली कलाकारहरुको चित्रकला प्रदर्शनीमा पहिलोपटक जापानी समाचारपत्र (अखवार) मा फोटोसहित मेरा चित्रकलाहरु प्रकाशित हुँदा मैले उहाँलाई नै सम्झन पुगेकी थिएँ । मेरो क्रियाशीलताको ऊर्जाशक्ति नै हुनुहुन्थ्यो डा. पन्त ।
मेरो पहिलो एकल “पुरातात्विक सम्पदा” नामक चित्रकला प्रदर्शनी २०५६ सालमा डा. पन्तकै अध्यक्षतामा स्व. श्रुति राज्यलक्ष्मीदेवी राणा शाहको बाहुलीबाट सम्पन्न गरी साताव्यापीरुपमा नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शन गरेको स्मृति ताजै छ । नेपाल जापान मैत्री तथा सांस्कृतिकसंघमा प्रवेश गरेदेखिनै त्याहाँ निरन्तर सक्रिय रहँदै आइरहेकी छु । सन् २००२ मा जापानी मित्रहरुसँग मिलेर “संयुक्त चित्रकला ” प्रर्दशनी गरें । यसमा पनि डा. पन्तको सहयोग र हौसला मैले पाएकी हुँ ।
मेरो कला र व्यक्तित्वलाई विकसित गर्न सहयोग गर्ने डा. पन्तले मेरो “हस्ताक्षर कला” (Signature Art) नामक पुस्तकमा दिनुभएको अभिव्यक्तिले मलाई निकै उत्प्रेरित र कलाकारितामा जागरुक बनाएको छ । म उहाँप्रति आजन्म आभारी छु । दिवंगत आत्माप्रति चिरशान्तिको कामना र भावपूर्ण श्रद्धाञ्जली । अस्तुः ।
श्रद्धासुमन
अनन्तमणि पन्त
पूर्वअधिकृत, ने.रा. बैंक
डा. यादवप्रसाद पन्तको संम्झनामा प्रकाशन हुन लागेको स्मारिकाका लागि उहाँको सामीप्यमा रहँदाका केही सुखद प्रसँगहरुको स्मरण गर्दै २/४ हरफ कोर्न पाउँदा म अति हर्षित छु ।
मृदुभाषी, दयालु र सवैलाई समान रुपमा स्नेह प्रदर्शित गर्ने उहाँको व्यक्तित्वले म अद्यापि प्रभावित छु । राजनीतिक, आर्थिक, सामाजिक प्रसँगहरु बेलामौ कामा प्रस्तुत गर्नुका साथै राष्ट्रिय, अन्तर्राष्ट्रिय गहन विषयहरुमा सरलतापूर्वक आफ्नो विचारहरु राख्दै संयमतापूर्वक अरुका विचारहरु पनि सुन्ने उत्तिकै जिज्ञासा पन्तजी राख्ने गर्नु हुन्थ्यो । यस्तै व्यावहारिक र सरलतापूर्वक उहाँवाट गरिने अन्तर क्रियाहरु अझै मेरो मानसपटलमा ताजै छन् ।
यथार्थमा भन्नु पर्दा उहाँको सम्पर्कमा रहेका धेरै जसो व्यक्तिहरुमध्ये मसँगको सम्बन्ध पनि नितान्त आत्मीय रहेको थियो । उहाँसँग रहँदा, वस्दा भेटघाटमा मेरा व्यक्तिगत समस्याहरु, मेरा कामबारे र परिवारका सम्बन्धमा समेत सोध्ने गर्नुहुन्थ्यो । म पनि उहाँलाई आफ्नै नजिकको अभिभावक ठानेर निसंकोच आफ्ना भावनाहरु राख्ने गर्दथें । यस्ता अनगिन्ती रोचक कुराहरु छन्, उहाँसँगका ।
पछिल्ला दिनहरुमा तत्कालीन अवस्थामा देशमा चलिरहे को द्वन्द्व, अस्थिरता र अनिर्णयको वन्दी देश रहेको बेलामा उहाँ समाधानका लागि ज्यादै व्यग्र देखिनुहुन्थ्यो । देशले त्यसताका भोगेको वेथितिहरुको सम्बन्धमा यदाकदा मैले चर्चा गर्दा उहाँ अप्रत्यक्षरूपले सहयोग गर्न समेत तत्पर रहेको मैले अनुभव गरेको थिएँ ।
उहाँको अभाव सदा मलाई खट्कने छ । उहाँको स्नेह, वात्सल्य प्रेम, सहयोग र निर्देशन सदा स्मरण गरिरहनेछु । उहाँको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धासुमनका केही शब्दहरु यहीँ बिसाउँदछु ।
यादवदाइ – सम्झनाका विभिन्न पक्षहरुमा
अरविन्द रिमाल
वरिष्ठ राजनीतिकर्मी तथा समाजसेवी
यादव प्रसाद पन्त- आफ्नो टोले अग्रज, काठमाडौंमा व्याडमिन्टन खेलका एक प्रवर्तक, त्रिचन्द्र कलेजका विद्यार्थी त्यसपछि वनारस हिन्दु विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेर सोही कलेजमा अध्यापन गर्ने तरुण डाक्टर – प्रोफेसर । आफ्नो जीवन क्रममा ख्यातिप्राप्त अर्थशास्त्री, लेखकका रुपमा प्रशासनिक, कूटनीतिक, राजनीतिक विज्ञ एवम् वैंकिङ्ग प्रणालीको प्रवर्द्धनकर्ता आदि सक्रिय भूमिका निर्वाह गर्नुभएका यी विविध जीवनशैलीका व्यक्तित्वलाई यो लेखक सधैँ आदर सम्मानको भावले “ यादवदाइ” भन्ने गर्थ्यो । उहाँ पनि यस पंक्तिकारलाई भाइजस्तै माया गर्नुहुन्थ्यो ।
“आज डिल्लीवजार टोलले जे सोच्दछ, नेपाल देशले भोलिका दिनमा सोहीलाई अनुशरण गर्दछ” भन्ने प्रख्यात चर्चित उद्गार लाई सार्थकता दिने, विविध मेधा, कौशल, वीरता एवम् प्रतिभाको धनी हाम्रो यशस्वी टोल डिल्लीवजारको चर्चित कालिकास्थान फाँटका प्रतिष्ठित तेस्रो पुस्ताका शालीन, सौम्य, मृदुभाषी तथा सदा मुस्कानयुक्त अग्रजको रुपमा यादवदाइको स्मरण हुन्छ, मलाई । उज्यालो, सुन्दर अनुहार तथा रवाफिलो भेषभूषामा देखिने यादवदाइ बाटोमा हिँड्दा वा कसैसित कुराकानी गर्दा कताकता आफू नै आफूसँग कुनै कारणवश लज्जालु भएको, आफ्नो भावभंगिमा र व्यवहारमा सम्भ्रान्त परिवारको सदस्य भएकोदेखिन जान्छ कि भनी संकोच मानेको जस्तो लाग्दथ्यो । उहाँको यो चारित्रिक गुण एवम् विशेषता उहाँको जीवनकालको अन्त्यसम्म नै परिलक्ष्यित भएको यो पंक्तिकार ठान्दछ ।
२००३ सालमा मेट्रिक जाँच दिएर त्यतिबेला वजनदार ठानिने जीवन -सिंढीमा उक्लेको यो १३ वर्षीय केटो यादवदाइको घरचोकमा व्याडमिन्टन खेल सुरु भएबाट आफ्नो टोले साथीभाई र स्कुले मित्रहरु सँगसँगै रोमाञ्चित भएको झलझली सम्झना आज पनि हुन्छ । टोलकै प्रतिष्ठित गुर्जु परिवारका अग्रज भोगेन्द्रराज पाण्डेको घरचोकमा पहिलोपल्ट प्रचलनमा आएको सो खेल केही समय यादवदाइकै मा सदां त्यसले बढी सार्वजनिक, र आजको भाषामा भन्नुपर्दा, बढी सहभागितापूर्ण रूप लिएको थियो । त्यसपछि त त्यो कोर्ट त्यतिबेला “नेपाल” भनिने राजधानी काठमाडौंको प्रतिष्ठित खेलकुद मिलन केन्द्र नै बन्यो भन्नुमा अत्युक्ति नहोला ।
जहानियाँ राणाशासनकालमा कुनै प्रजाको घरदैलो यसरी विविध सम्भावनाले युक्त हुनसक्ने थलो बन्न जानु शासकवर्गको लागि निश्चय नै रुचिको घटना थिएन ।
त्यसमाथि, बहुचर्चित एवम् लोकप्रिय “धुव” का अधिकांश निर्माता र पात्रहरुको संलग्नता भएको १९९७ सालको प्रख्यात प्रजापरिषद् आन्दोलनको पृष्ठभूमिमा यस्तो घटनाक्रमका प्रति तिनीहरु सशंकित हुनु अस्वभाविक थिएन । तथापि घिस्रिदै घिस्रिदै भए पनि प्रत्यक्ष परिवर्तनको गति, स्वयम् राजा त्रिभुवनका माहिला र कान्छा छोराहरु सार्वजनिकरुपले फुटबल खेलाडी भएर न्यूरोड टोल ” एन. आर. टी. ” बाट उत्रिनु र “ हाम्रो ” कोर्टमा जम्मा हुनेहरु आफै ” दरबारिया ” का शाखा सन्तान भएकोले गर्दा पनि त्यो शासकहरुको आँखाको कसिङ्गर भएन । यो सबैले “ समय बडो बलवान” भन्ने उक्तिकै पुष्टि गर्दछन् ।
व्याडमिन्टन खेलका औपचारिक म्याच र टुर्नामेन्ट यादवदाइकै कोर्टमा थालिंदा उहाँसहित ऋषिकेश शाह, त्रैलोक्यनाथ उप्रेती, नरेन्द्रबहादुर बस्नेत, हरिहरजङ्ग थापा, तोपबहादुर वस्नेत, सुरेन्द्रसिंह के.सी., कीर्तिनिधि विष्ट, सिंहप्रताप शाह, प्रकाशवहादुर के.सी., चन्द्रबहादुर पाण्डे, मदनविक्रम राणा, अर्जुननसिंह राणा, शङ्करराज पाठक, पुष्करनाथ पन्त, प्रभुनसिंह राणा, अक्रूरनसिंह राणा, पोषणराज जोशी तथा कविकेशरी बस्न्यात, गोविन्दप्रसाद लोहनी, चन्द्र उप्रेती, पोषणप्रसाद पाण्डे, नृपेन्द्रनाथ रिमाल, यो पंक्तिकार तथा अन्य खेलाडीहरुले पछि गएर शैक्षिक, आर्थिक, प्रशासनिक, खेलकुद, सैनिक, राजनीतिक, कूटनीतिक, कृषि, स्वास्थ, साहित्यिक आदि क्षेत्रहरुमा पनि देशको नाम राख्न पुगे । व्याडमिन्टन खेलको चर्चा चल्दा ठमेल टोलका झलकनसिंह राणाको घर-चौरमा र २००५ सालतिर त हनुमानढोकाभित्रको चोकमा टुर्नामेन्ट भएको उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।
यसरी व्याडमिन्टन खेल यादवदाइसँग यस पंक्तिकार को सम्झनाको पहिलो पक्ष रहेको छ ।
२००७ सालको क्रान्तिले प्रचलित सबैजसो नियम, व्यवहार’ र आचारहरुलाई प्रायः जरैदेखि हल्लाइदियो । जीवनको मूल्य मान्यता नै बदलियो । राणाशासनको डर त्रास र त्यससामु दास भावको जंजिर एक्कासी चुँडियो र राष्ट्रियता, प्रजातन्त्र, देशको स्वाधीनता एवम् प्रभुसत्ता, आर्थिक विकास र समानता…. ..छोटकरीमा भन्नुपर्दा फ्रान्सेली क्रान्तिले उठाएको स्वतन्त्रता, समानता र वन्धुत्वको नाराको गुञ्जन हाम्रो देशभरि नै हुनथाल्यो ।
२००४-००५ सालका व्याडमिन्टन खेलाडीहरु अन्य युवाहरुसरह शिक्षा तथा इलमका क्षेत्रमा आ-आफ्नो बाटो बनाउने, आ-आफ्नो जीवनरेखा आफै कोर्ने उद्यममा लागे। यसरी व्यवसायमा विविधता हुँदाहुँदै पनि उनीहरु समग्र राष्ट्रका एकीकृत नागरिकहरुका रुपमा आ-आफ्नो भूमिका निर्वाह गर्नमा लागे ।
यस्तै सामाजिक उथलपुथलका बीचमा कलकत्तामा आयुर्वेदिक शास्त्र, सरल भाषामा भन्दा आफ्नो पिताजीको बिडो थाम्न कविराजी पढ्न गएको यो लेखक त पिताजीकै शब्दमा कम्युनिजम पढेर फर्केपछि त्रिचन्द्र कलेजका छात्र गतिविधिको क्रममा यादवदाइसँग २०१०-११ सालमा उसको दोस्रो चिनारी हुन्छ ।
यादवदाइ त्रिचन्द्र कलेजमा अर्थशास्त्रका प्राध्यापक हुनु अघि नै यो कलेज प्रजातन्त्रकालीन छात्र आन्दोलनको केन्द्रविन्दु रहिसकेको थियो । त्यसैको फलस्वरुप राणा- कांग्रेस संयुक्त सरकारको स्थापनाको केही महिनापछि नै यो मुलुकको एकमात्र कलेजमा दुई महिना लामो ऐतिहासिक संघर्ष भएको थियो जसका मुख्य मागहरुमा एउटाचाहिं छात्रहरुलाई नेशनल क्याडेट कोर्सको अर्ध- फौजी तालिम दिइयोस् भन्ने थियो । नेपाली कांग्रेसका एकछत्र नेता एवम् गृहमन्त्री रहनु भएका विश्वेश्वर प्रसाद कोइरालाको वर्चश्व रहेको संयुक्त सरकार उक्त माग मान्न आनाकानी गरिरहेको थियो ।
कलेजमा राजनीतिक शास्त्रको विद्यार्थी भएकोले मैले यादवदाइबाट अध्ययन गर्न पाइनँ । तर देशको सार्वभौमसत्ता संरक्षण र विदेशी हस्तक्षेपको विरोधका विषयमा गुरु चेला दुवै नै सहकर्मी तथा सहधर्मी हुन पुग्यौं ।
२०११ साल जेठ महिनामा भारतीय संसदको आठ- सदस्यीय एउटा शिष्टमण्डल काठमाडौं आयो । नेपाली मूलकी भारतीय सांसद मायादेवी क्षेत्री त्यसको एक सदस्य हुनुहुन्थ्यो । यसरी त्यस भ्रमणप्रति भारतीय सरकारका व्यवहारबाट रुष्ट नेपाली जनमानसलाई भारतको ” शुभकामना र शुभेच्छा” पुऱ्याउने कूटनीतिक अभ्यास ठानियो । हुन पनि त्यस्तो शिष्टमण्डलको आगमनप्रति कुनै विरोध हुनुपर्ने त थिएन भनिएला, तर मोहनशम्शेर राणा “श्री ३” प्रधानमन्त्री छँदै भारतले नेपालसँग सन् १९५० मा गरेको शान्ति तथा मैत्री सन्धिबाट विक्षुब्ध नेपालीहरु आफ्नै देशमा भारतीय फौजी मिसनको तैनाथी, कोसी सम्झौता, स्वयम् राजा त्रिभुवन तथा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाभन्दा पनि शक्तिशाली रहेका भारतीय सल्लाहकार गोविन्दनारायण सिंहको नेपालको समस्त प्रशासन यन्त्रमाथि प्रभुत्व, नेपालको मन्त्रिमण्डलको बैठकमा र जिल्ला बडाहाकिमहरुको सम्मेलनमा भारतीय राजदूतको आपत्तिजनक एवं कूटनीतिक मर्यादा विपरीत उपस्थिति जस्ता अनेक प्रकारका दवावद्वारा नेपालका आन्तरिक मामिलाहरुमा हस्तक्षेपका विरुद्ध आक्रोशित भई संघर्षरत भइरहेका अवस्थामा त्यस्तो शिष्टमण्डलको विरोधमा गौचर हवाईअड्डामै विशाल प्रदर्शन भयो र त्यस्तो हुनु स्वभाविक पनि थियो । राजनीतिक रुपबाट त्यस भ्रमणको विरोध प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको वैधानिक संस्था जनअधिकार सुरक्षा समितिले आफ्नो तर्फबाट र विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांग्रेस तथा राणा समर्थित गोरखा परिषदले संयुक्त तवरले गरेका थिए भने हामीले अखिल नेपाल विद्यार्थी फेडरेसन, नेपाल छात्रसंघ, संस्कृत छात्रसंघ तथा नेपाल स्टुडेन्टस युनियनले प्रोफेसर यादवप्रसाद पन्तको अध्यक्षतामा संयुक्त संघर्षसमिति गठन गरी आफ्नो कार्यक्रम चलाइसकेका थियौं। प्रो. पन्तको यस्तो गतिविधि सरकारका लागि निश्चय नै असह्य हुनसक्ने खतरा देखेर उहाँको गतिविधिमा सरकारी हस्तक्षेप रोक्न हामीले उहाँलाई भूमिगत राखी आफ्नो कार्य चलाउँदै गयौँ ।
नेपालमा प्रजातान्त्रिक आन्दोलनका जनक तथा प्रजापरिषद्का नेता टंकप्रसाद आचार्यले पनि यसै क्रममा प्रो. पन्तलाई केही दिन आफूले लुकाएर राख्नुभएको थियो भने केही दिन उहाँलाई यस लेखकको घरमा लुकाएर राखिएको थियो । उपर्युक्त संघर्षसमितिको सचिवकै घरमा अध्यक्ष पन्त कसरी भूमिगत राखिनु भएको होला भन्ने हेक्का प्रधानमन्त्रीको गुप्तचर विभागले राख्नै सकेन । त्यसलाई तनावपूर्ण परिस्थितिका बीच यो एउटा रोचक प्रसँग भन्नुपर्ला ।
सरकारले प्रो. पन्तलाई समात्ने वारेन्ट जारी गरी उहाँलाई पदबाट खोस्ने समेत निर्णय गरेको थियो ।
तर सरकार आफ्नो योजनामा सफल हुनसकेन । यसरी देशको प्रभुसत्ताको रक्षा गर्ने जस्तो परम महत्वको राष्ट्रिय विषयमा प्राध्यापक पन्तले आफ्नो देशभक्तिपूर्ण भावद्वारा प्रेरित भएर विद्यार्थीहरुलाई त्यस्तो विलक्षण सहयोग प्रदान गर्नुभएको थियो ।
२००७ साल मंसिरमा राणाशासनको विरुद्ध जनभावनाको “वास्तविकता बुझ्न” भनेर अंग्रेज कूटनीतिज्ञ सर एलसर डेभिंगको नेतृत्वमा काठमाडौं आएको अंग्रेज अमेरिकी संयुक्त प्रतिनिधिमण्डलको विरोधमा उलिएको प्रदर्शनको नेतृत्व प्रो. शङ्करदेव पन्तले गर्नुभएको त स्मरणीय नै छ । त्यसरी नै २००८ – ९ सालमा जनजीविकाका विषय र छात्रहरुका शैक्षिक मागहरुलाई लिएर हामी विद्यार्थीहरुले संयुक्त संघर्षसमिति बनाउँदा त्रिचन्द कलेजमा अंग्रेजी साहित्यका प्रोफेसर सूर्यबहादुर शाक्यले नेतृत्व गर्नुभएको थियो । अनि त्यही क्रममा प्रो. यादवप्रसाद पन्तको राष्ट्र प्रेमका अभिव्यक्ति समेत गरी तीनवटै अभिव्यक्तिहरुमा प्रतिकात्मकरुपले एउटा समानता पाइन्थ्यो । त्यो थियो बौद्धिक समुदाय र जनसाधारणका बीच राष्ट्रिय ऐक्यबद्धता ।
यसरी यादवदाइसँग यो पंक्तिकारको सम्झनाको दोस्रो पक्ष पनि कम रोचक र रोमाञ्चक छैन ।
अब तेस्रो पक्षको चर्चा गरुँ । सामाजिक चरित्रको यो पक्ष विशेषतः टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठान र नेपाल साँस्कृतिकसंघमा यादवदाइसँग सहकार्यसित सम्बन्धित छ । टंकप्रसाद आचार्य उहाँको र यस लेखकका आदरणीय महापुरुष हुनुहुन्थ्यो । नेपालका पहिलो प्रधानमन्त्रीका रुपमा आचार्यले जापान भ्रमण गरी त्यस देशसँगको सम्बन्ध जुन रुपमा बिस्तार गर्नुभएको थियो त्यसलाई यादवदाइले २०३१-३५ सालतिर जापानमा राजदूत हुँदा सुदृढ गर्नुभएको उल्ले खनीय छ ।
आचार्यको निधनपछि उहाँको स्मृतिलाई दिगो बनाउने उद्देश्यबाट स्थापित संस्था टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानको कार्यसमिति सदस्य भई संस्थाबाट भएको शिक्षा प्रसार गतिविधिलाई टंकप्रसाद आचार्य – रेवन्त कुमारी आचार्य शिक्षा विकास कोषका संयोजक भएर उहाँले अघि बढाउनुभयो ।
नवलपरासीमा आचार्य जन्मनुभएको घरलाई सँग्रहालय बनाउने र त्यसैको नजिक शिक्षालय खोल्ने सहकार्यमा प्रतिष्ठानले यादवदाइबाट सक्रिय बौद्धिक सहयोग पाइरहेकै र आर्थिक सहयोग पनि प्राप्त गर्ने अवस्थामा उहाँको असामयिक निधनबाट प्रतिष्ठान मर्माहत नै भएको थियो ।
आफ्ना पति तथा पिताको सुयशको प्रवर्द्धनमा संलग्न रहेको यादवदाइको परिवारबाट उहाँको उक्त इच्छाको परिपूर्तिमा निश्चय नै समुचित योगदान हुनेछ भन्नेमा यो लेखक विश्वस्त छ ।
यसैगरी नेपाल साँस्कृतिकसंघमा पनि यादवदाइ र यो लेखक आजीवन सदस्यका रुपमा क्रमशः प्रमुख सल्लाहकार तथा सल्लाहकार भई निकै बर्ष सहकार्य गरेको पक्ष पनि उसको स्मृतिमा सधै सजीव रहिरहने छ ।
यादवदाइको सम्बन्धमा अर्को स्मरणीय पाटो उहाँको उपकारी व्यवहार हो । आफू पदमा रहँदा वा पछि पनि उहाँले सरकारी तथा संस्थानका सेवामा असंख्य युवक युवतीहरुलाई कुनै भेदभावविना समुन्नत जीवन व्यतीत गर्न सहयोग गर्नुभयो । यसरी सहयोग प्राप्त व्यक्तिहरुले आ-आफ्नो योग्यताअनुसार पदोन्नति गरेर राष्ट्रसेवा गरेको उदाहरण आज पनि प्रत्यक्ष देखिन्छ । यो युवा र अबको वयस्क पुस्ता यसका लागि यादवदाइप्रति जीवनमा कृतज्ञ रहनुपर्दछ ।
यसरी आफ्ना अग्रज, विविधतापूर्ण कौशलका धनी, उपकारी तथा भगवत्प्रेमी व्यक्तित्वका रुपमा यादवदाइको स्मृति सदा ताजा रहने विश्वास गर्दै यो लेखक उहाँको आत्माले परमात्मासँग सायुज्य प्राप्त गरोस् भन्ने प्रार्थना गर्दै यो स्मरण यही टुंग्याउने अनुमति चाहन्छ ।
